सम्पति सुद्धिकरणका प्रतिबद्धता पुरा गरेपनि अमेरिकी जेपी मोरगन बैंकले नेपाल कारोबार बन्द गर्‍यो

सुदर्शन सापकोटा
काठमाडौं, असोज ३
सम्पति सुद्धीकरणका प्रतिवद्धताहरु पुरा गर्दै गएपनि नेपालमा अर्को एक विदेशी बैंकले कारोबार बन्द गरेको छ। अमेरिकाको जेपी मोरगन बैंकले नेपालसँगको कारोबार बन्द गरेको हो। सुद्धीकरणको मुद्दामा अन्तर्राष्ट्रिय जगत्सँग गरेको प्रतिवद्धता नेपालले पुरा गर्दै गएपनि जेपी मोरगन बैंकले नेपाली कारोबार बन्द गरेको हो।
'केही समय भयो जेपी मोरगनले नेपालसँग कारोबार बन्द गरेको। अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका बैंकहरुले कारोबार बन्द गर्दै जँदा यसले बाहिर सन्देश राम्रो जाँदैन,' एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बिहीबार नागरिकसँग भने। 
एक बर्षअघि पनि सम्पति सुद्धिकरणलाई नै मु्द्दा बनाएर अमेरिकी सिटी बैंकले नेपालको खाता बन्द गरेको थियो। सिटीले कारोबार बन्द गरेको एक बर्ष नपुग्दै जेपी मोरगनले खाता बन्द गरेपछि नेपाली बैंकहरुसँग स्ट्यान्डर्ड चार्टर्ड बैंक मात्र विकल्पका रुपमा छ। स्ट्यान्डर्ड चार्टर्डको नेपालमा प्रत्यक्ष बैंकिङ कारोबार गर्ने शाखा पनि छ। 
जेपी मोरगनको सन्सारका एक सय देशसँग कारोबार साझेदारी छ। दुई सय बर्षदेखि सञ्चालित यो बैंकको कुल सम्पतिको मूल्य २.३ टि्रलियन अमेरिकी डलर छ। नेपालले वार्षिक ८ सय अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय कारोबार गर्छ। अब नेपालको ठूलो कारोबार स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग हुने छ। नेपालका अधिकांस बैंकले स्ट्यान्डर्ड चार्टर्डमा खाता सञ्चालन गरिसकेका छन्। स्ट्यान्डर्ड चार्टर्डसँग वृहत्त भुक्तानी नेटवर्क नभए पनि अन्तर्राष्ट्रिय भुक्तानीका लागि सन्सारभर चिनिएको बैंक हो। 

जेपी मोरगन र सिटी विश्वव्यापी मान्यता प्राप्त बैंक भएकाले यसले अन्तराष्ट्रिय भुक्तानी नेटवर्कको काम गर्दै आएको छ। नेपालले भुक्तानी, जमानी र प्रतिपतपत्रका लागि अमेरिकी बैंकसँग खाता खोलेको थियो। 
नेपालमा कारोबार गर्दै आएका सिटी र जेपी मोरगन बैंकले नेपाली बैंकले जारी गर्ने बैंक ग्यारेन्टी (जमानत) र प्रतितपत्र (एलसी) सोझै स्वीकार गर्न सक्थे। विदेशी कतिपय बैंकले भने नेपाली बैंकले जारी गरेको ग्यारेन्टी र एलसी स्वीकार गर्न अरु बैंकको साहारा लिनु पर्ने हुन्छ। …एसली र बैंक ग्यारेन्टीमा केही समस्या हुन सक्छ,' ती बैंकरले भने, …स्ट्यान्डर्ड चार्टर्ड नेपालमा प्रत्यक्ष बैंकिङ गरिरहेको हुनाले ठूलै समस्या भने हुँदैन।' उनले विदेशी बैंकले यसैगरी नेपाली बैंकसँग कारोबार नगर्ने प्रबृत्ति देखाए भने भविस्यमा बैंकिङ गर्न भने गाह्रो हुने जानकारी दिए।
यसअघि सिटी बैंकले नेपालका वाणिज्य बैंकहरु, अमेरिकास्थित नेपाली दुतावास र संयुक्त राष्ट्र संघको स्थायी नियोगले खाता बन्द गरिदिएको थियो। त्यसपछि नेपालले स्ट्यान्डर्ड चार्टर्ड बैंक र मस्रेक बैंकमा खाता सारेको थियो। 
नेपालले अन्तर्राष्ट्रिय जगत्सँग गरेको प्रतिवद्धता अनुसार कानुन तथा ऐन नियमहरु निर्माण गरिसकेको छ। सरकारले पछिल्लो समय सम्पति जफत, रोक्का तथा नियन्त्रण ऐन र सम्पति सुद्धिकरण दोस्रो संशोधन ऐनसमेत कार्यान्वयनमा ल्याइसकेको छ।
अमेरिकी सरकारले सम्पति सुद्धिकरणको क्षेत्रमा काम नगरेका मुलुकका बैंकलाई आफ्नो देशमा खाता खोल्न कडाइ गर्दै आएको छ। यही अनुरुप सिटी बैंकले खाता बन्द गरेको थियो। तर पछिल्लो समय नेपालले प्रतिवद्धता अनुसार कानुन निर्माण तथा कार्यान्वयन गर्दै आएको छ। …सञ्चालन खर्च बढी भएका कारण कारोबार बन्द गर्नु परेको भन्ने बुझिएको छ,' राष्ट्र बैंक स्रोतले भन्यो, …अमेरिकीहरु सुद्धीकरणको मुद्दामा अली वढी नै संवेदनशिल भएका कारण पनि कारोबार बन्द गरेको हुनसक्छ।' 
सम्पति सुद्धीकरणको क्षेेत्रमा काम गर्ने मुद्रा निर्मलीकरण अनुगमन सम्वन्धि अन्तर्सरकारी वित्तीय कार्यादल (एफएटिएफ) को सम्पूर्ण मापदण्डभित्र रहेर जेपी मोरगनले कारोबार गर्छ। जेपी मोरगनले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमार्फत आफूसँग खाता हुने बैंकबीच हिसाव मिलान गरिदिने गर्छ। जापानबाट कुनै वस्तु आयात गर्नु परे नेपालले जापानलाई जेपी मोरगनमार्फत भुक्तानी दिन्छ। हरेक औपचारिक कारोबार यही प्रकृया अनुसार हुने गर्छ। 

No comments:

Post a Comment

thanks for comment