विद्युतीयमार्फत बिराटनगरबाट पनि चेक राफसाफ

काठमाडौं, असोज २०
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले सोमबारबाट बिराटनगरमा पनि विद्युतीय प्रणालीमार्फत चेकको राफसाफ गर्ने भएको छ। …मानव शंसाधन' प्रयोगमार्फत राफसाफ हुँदै आएको चेकहरु विद्युतीय माध्यममार्फत मात्र हुन लागेका हुन्। 
पूर्वाञ्चलमा कार्यरत सबै ४६ वटा बैंक तथा वित्तीय संस्थाहरु एनसिएचएलको सदस्य भइसकेका छन्। कम्पनीले आगामी बैशाखसम्म अन्य पाँच ठाउँमा पनि क्लियरिङ सेवा सुरु गर्ने तयारी गरेको छ।
'पूर्वाञ्चलका ४६ वटा बैंक तथा वित्तीय संस्थाहरुको चेक क्लियरिङ अब एनसिएचएलबाट हुने छ,' एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेषमानसिंह प्रधानले आइतबार नागरिकसँग भने, 'त्यसपछि अन्य पाँच स्थानमा चेक क्लियरिङ सेवा सुरु गर्ने छौं।'
एनसिएचएलले मंसिरमा नेपालगञ्जमा, माघमा भैरहवामा, फागुनमा पोखरामा, चैतमा धनगढीमा र वैशाखमा जनकपुरबाट सेवा सुरु गर्ने छ। गत चैतमा बीरगञ्जबाट सेवा सुरु गरेको थियो। राजधानीबाट विद्युतीय प्रणालीमार्फत गत पुसबाट चेक राफसाफ सुरु भएको हो। मोफसलमा बीरगञ्जपछि विराटनगरमा विद्युतीय प्रणालीबाट राफसाफ हुन लागेको हो।

एनसिएचलको सदस्यता राष्ट्र बैंकसहित एक सय १२ वटा संस्थाहरुले लिइसकेका छन्। अहिलेसम्म ३१ वटा बाणिज्य बैंक, ३९ वटा विकास बैंक र ४१ वटा फाइनान्स कम्पनी एनसिएचलका सदस्य छन्। प्रधानका अनुसार, सञ्चलामा आएदेखि अहिलेसम्म दैनिक औषत १२ हजार नेपाली मुद्राका चेक राफसाफ हुँदै आएको छ। सदस्ययता बढेसँगै चालु आर्थिक बर्षको औषत (साउनदेखि अहिलेसम्म) साढे १६ हजार पुगेको छ। विदेशी मुद्राको चेक पनि दैनिक एक हजार वटा राफसाफ हुने गरेको उनले जानकारी दिए।
एनसिएचएलको सदस्य भएका संस्थाहरुले मात्र विद्युतीय प्रणालीबाट चेक राफसाफको सुविधा प्रयोग गर्न पाउँछन्। विराटनगरमा अहिले राष्ट्र बैंकले …मानव शंसाधन' प्रयोग गरी चेक राफसाफ गरिरहेको छ। विद्युतीय प्रणालीबाट एक बैंकको चेक अर्को बैंकमा साटेर एकै दिनमा भुक्तानी हुने लिन सकिन्छ। व्यक्ति खटिएर एउटा चेक राफसाफ गर्न राष्ट्र बैंकले तीन दिन लगाउने गरेको छ। सुदूर क्षेत्रका शाखाबाट आएको चेक राफसाफ हुन एक महिनासम्म पनि लाग्ने गरेको छ। 
अहिले विद्युतीय प्रणालीबाट राष्ट्र बैंकको समेत लगानी रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले चेकको राफसाफ गरिरहेको छ। एनसिएचएलबाट चेक राफसाफ गर्न यसको सदस्यता लिनु पर्छ।
सफ्टवेयर महँगो भएको भन्दै विकास बैंक र फाइनान्स कम्पनीहरुले चेक क्लियरेन्सका लागि एनसिएचएलको सदस्यता लिन गाह्रो मानिरहेका थिए। राष्ट्र बैंकले अनिवार्य गर्दै लगेपछि विस्तारै सदस्यता लिने संस्थाको संख्या बढ्दै गएको छ। कतिपय वाणिज्य बैंकहरुले समेत सुरुमा यसको विरोध गरेका थिए। एनसिएचलको सफ्टवेयर खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो।
'सबै बैंक तथा वित्तीय संस्थाको चेक राफसाफका लागि हामीले क्षमतासमेत वढाइ सकेका छौं,' प्रधानले नागरिकसँग भने, 'सबै सदस्य भएपछि चेक राफसाफबाट बैंक तथा वित्तीय संस्थाका ग्राहकले लाभ पुग्ने छ।'
चेक क्लियरेन्सका लागि बैंक तथा वित्तीय संस्थाहरुले सफ्टवेयर जडान गर्नु पर्ने हुन्छ। वाणिज्य बैंकहरुका लागि सफ्टवेयर शुल्क १४ लाख ५७ हजार रुपैयाँ राखिएको छ। राष्ट्रियस्तरको विकास बैंकले ८ लाख १८ हजार, १० जिल्ले विकास बैंकले २ लाख ५४ हजार तथा एक र तीन जिल्लेले १ लाख ३३ हजार शुल्क तिर्नु पर्ने हुन्छ। फाइनान्स कम्पनीहरुले भने सात लाख रुपैयाँ वुझाउनु पर्छ।
एनसिएचएलको सदस्य बन्न वाणिज्य बैंकले २ लाख ५० हजार, राष्ट्रियस्तरको विकास बैंकले २ लाख र अन्य विकास बैंक तथा फाइनान्स कम्पनीले ७५ हजार वुझाउनु पर्छ। यो वार्षिक रुपमा नवीकरण गर्नु पर्ने हुन्छ। 
राष्ट्र बैंकले सुरुमा सबै बैंक तथा वित्तीय संस्थालाई एनसिएचएलको सदस्य बन्न अनिवार्य गर्ने तयारी गरेको थियो। एनसिचएलको बारेमा अख्तियारमा मुद्दा परेसँगै राष्ट्र बैंक पछाडि हटेको थियो। अख्तियारले अनियमितता नभएको भन्दै …क्लिन चिट' दिएपछि कारोबार सुरु भएको हो। 
एनसिएचएलबाट स्वदेशी तथा विदेशी मुद्राको चेक राफसाफ हुन्छ। एनसिएचएलमा चेक राफसाफ गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनै पनि सेवा शुल्क लिन पाउने छैनन्। चेक राफसाफ सेवा सातै दिन र चौविसै घन्टा उपलब्ध हुन्छ। 

No comments:

Post a Comment

thanks for comment