संस्थागतको ६० प्रतिशत मात्र निक्षेप राख्न पाइने, ठूलाको घटाएर सर्वसाधारणको निक्षेपको ब्याज बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं, असोज १५
राष्ट्र बैंकले संस्थागत तथा ठूला निक्षेपकर्ताको रकम कुल निक्षेपको ६० प्रतिशतभन्दा वढी राख्न नपाउने व्यवस्था गरेपछि बाणिज्य बैंकहरुले धमाधम ब्याज घटाउन थालेका छन्। बैंकहरुले संस्थागत निक्षेपकर्तालाई कम ब्याज दिएर सर्बसाधारणलाई बढी ब्याज दिन थालेका हुन्।
राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले कुल निक्षेपको  ६० प्रतिशतसम्म मात्र संस्थागत तथा ठूला निक्षेपकर्ताको पैसा राख्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरपनि वेग्लै निर्देशन भने दिइसकेको छैन। नीतिमा उल्लेख भइसकेकाले बैंकहरुले निर्देशन नपर्खिकनै ब्याज घटाएर ठूला निक्षेपकर्तालाई विकर्षित गर्न खोजेका हुन्।
'ठूला निक्षेपकर्ताको रकम ६० प्रतिशतभन्दा तल झार्नु पर्ने भएपछि उनीहरुलाई दिने ब्याज घटाइएको हो,' कमर्ज एन्ड ट्रष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नागरिकसँग भने, 'त्यही भएर सर्वसाधारणको निक्षेप आकर्षित गर्न उनीहरुको ब्याज दरमा बृद्धि गरिएको छ।'
उनले सानो–सानो निक्षेप संकलन गर्दा बैंकलाई वित्तीय जोखिम नहुने भन्दै ठूला निक्षेपकर्ताले एकैचोटी रकम झिकिदिँदा बैंकलाई असहज हुन सक्ने बताए। …सर्वसाधारणको निक्षेप बढी भएको बैंकमा तरलताबाट हुने जोखिम कम हुन्छ,' उनले भने, 'सर्वसाधारणलाई बढी ब्याज दिँदा उनीहरु बैंकिङ प्रणालीमा आकर्षित पनि हुन्छन्।'

ठूला निक्षेपकर्ताको ब्याज घटेको फाइदा साना निक्षेपकर्तालाई भएको छ। बैंकहरुले ठूला निक्षेपकर्ताको तुलनामा सानालाई भने ०.२५ देखि एक प्रतिशत विन्दुसम्म बढी ब्याज दिन थालेका छन्। विगतमा तरलता अभाव (लगानी योग्य पुँजी) अभाव हुँदा बैंकहरुले सानालाई भन्दा ठूलालाई बढी ब्याज दिएर निक्षेप आफ्नो बैंकमा राख्थे। 
तरलता बढेपछि ब्याज घटाउन थालेका बैंकले पछिल्लो एक महिनायता संस्थागत र सर्वसाधारणलाई गरी दुई थरी ब्याज प्रकाशित गर्न थालेका छन्। सबैभन्दा पहिले दुईथरी ब्याज कमर्ज एन्ड ट्रस्ट बैंक नेपालले सार्वजनिक गरेको हो। बैंकले ठूला निक्षेपकर्तालाई एक बर्षे मुद्दतिमा ६.५ प्रतिशत ब्याज दिएको छ भने सर्वसाधारणलाई  ८.७५ प्रतिशत ब्याज दिएको छ।
दुईथरी ब्याज पुराना तथा ठूला र नयाँ आएका बैंकहरुले पनि सार्वजनिक गर्न थालेका छन्। संस्थागत निक्षेपकर्ताहरुको ठूलो निक्षेप एउटै संस्थामा रहँदा जोखिम उच्च हुने भन्दै राष्ट्र बैंकले नीतिगत रुपमै पैसा राख्न पाउने सीमा तोकेको हो। पछिल्लो समयमा समस्यामा गएका अधिकांस वित्तीय संस्थाहरुमा संस्थागत निक्षेपकर्ताको निक्षेपको हिस्सा अधिक थियो। 
संस्थागत निक्षेपकर्ताले आफ्नो पैसा झिक्ने वित्तिकै तरलता अभाव भएर बैंक तथा वित्तीय संस्थाले भुक्तानी गर्न नसक्ने अवस्था पनि आउन सक्छ। समस्याग्रस्त भएका संस्थाहरुमध्ये अधिकांसको रोग यही थियो। 
नबिल बैंकले सर्वसाधारणलाई साढे पाँच प्रतिशत ब्याज दिएको। संस्थापक निक्षेपकर्तालाई भने पाँच प्रतिशत मात्र ब्याज तोकेको छ। हिमालयन बैंकले सर्वसाधारणलाई ६ प्रतिशत ब्याज दिएको भने संस्थागत निक्षेपकर्तालाई पाँच प्रतिशत मात्र दिएको छ। 
सनराइज बैंकले पनि संस्थागत निक्षेपकर्तालाई साढे पाँच प्रतिशत ब्याज दिएर सर्वसाधारणलाई ६ प्रतिशत ब्याज तोकेको छ। जनता बैंक नेपालले सर्वसाधारणलाई ८.५ प्रतिशत र संस्थागत निक्षेपकर्तालाई सात प्रतिशत ब्याज दिएको छ। सिभिल बैंकले सर्वसाधारणलाई ८.७५ प्रतिशत र संस्थागतलाई सात प्रतिशत ब्याज दिएको छ। 
माछापुच्छे्र बैंकले पनि सर्वसाधारणलाई साढे सात प्रतिशत र संस्थागतलाई सात प्रतिशत ब्याज दिएको छ। लुम्बिनी बैंकले सर्वसाधारणलाई सात र संस्थागतलाई साढे ६ प्रतिशत, एनआइसी एसियाले  सर्वसाधराणलाई सात र संस्थागतलाई साढे ६ प्रतिशत ब्याज दिएको छ। 

No comments:

Post a Comment

thanks for comment