घट्दो ब्याजको असर, चालु र कल खाताको रकम घट्न थाल्यो

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक १३
बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर तिब्र रुपमा घटाउन थालेको र निकासा भएको सरकारी रकम खर्च भएका कारण चालु र कल (ब्याज आउने तर माग्ने वित्तिकै फिर्ता गर्नु पर्ने) खाताको रकम घट्न थालेको छ। चालु खाताको रकम १६.३ प्रतिशतले घटेको छ भने कल एकाउन्टको रकम पनि ०.२१ प्रतिशतले घटेको छ।
…बैंकका कर्मचारीहरुले असारको हरहिसाव (वासलात) मा आफ्नो परफरमेन्स राम्रो देखाउन निक्षेप बढाएका हुन्छन्, त्यो रकम असारपछि वाहिरिन्छ,' सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बुधबार नागरिकसँग भने, …सरकारले पनि ठेगेदारहरुलाई भुक्तानी गरेको रकम चालु वा कल खातामा राखिदिएको हुन्छ। त्यो पैसा असार सकिने वित्तिकै वाहिरिने भएकाले पनि घटेको हो।' उनले ब्याज दरका कारण चालु र कलको रकम मुद्दति र बचत खातामा पनि सर्ने गरेको जानकारी दिए।
सञ्चालनमा रहेका ३१ बाणिज्य बैंक, ८७ वटा विकास बैंक र ५९ वटा फाइनान्स कम्पनीहरुको चालु र कल एकाउन्टको रकम घट्न थालेको हो। राष्ट्र बैंकका अनुसार, बैंकिङ क्षेत्रकै कुल निक्षेप पनि ०.२६ प्रतिशतले घटेर १२ अर्ब ४६ अर्बमा झरेको छ। यसमध्ये एक खर्ब ११ अर्ब चालु खातामा रहेको निक्षेप घटेर ९३ अर्बमा झरेको छ। कल एकाउन्टको रकम पनि दुई खर्ब २५ अर्बबाट केही घटेको छ।
मुद्दति निक्षेप र बचत खाताको रकम भने केही बढेको छ। बचत खाताको रकम १.४ प्रतिशतले बढेर चार खर्ब ७७ खर्ब र मुद्दति निक्षेपको रकम २.०४ प्रतिशतले बढेर चार खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। मुद्दति निक्षेपमा बैंकहरुले ५ प्रतिशतमा ब्याज दिइरहेका छन् भने बचतको ब्याज पनि साढे चार प्रतिशतसम्म छ। कल एकाउन्टको ब्याज दर एक प्रतिशतको हाराहारीमा छ।
बाणिज्य बैंकहरुको चालु खाताको रकम १६.२३ प्रतिशत र कल एकाउन्टको ०.४२ प्रतिशतले रकम घटेको छ। तर बचत खाताको रकम भने १.६३ प्रतिशत र मुद्दति निक्षेपको रकम १.९३ प्रतिशतले बढेको छ। मुद्दति र बचतको ब्याज कलको भन्दा माथि रहेकाले रकम अलिकति भएपनि बृद्धि भएको हो।
…ख' वर्गका विकास बैंकहरुको कुल निक्षेप १.१ प्रतिशतले बढेपनि चालु खाताको रकम १७.४ प्रतिशतले घटेको छ। बाणिज्य बैंकभन्दा विकास बैंकले कल एकाउन्टमा बढी ब्याज दिने भएकाले रकम १.४ प्रतिशतले बृद्धि भएको छ। यसैगरी …ग' वर्गका फाइनान्स कम्पनीको कुल निक्षेप ०.९ प्रतिशतले बढेको छ। चालु खाताको रकम भने ७१.४ प्रतिशतले घटेको छ भने कल एकाउन्टको रकम ४ प्रतिशतले घटेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपको ४२.६ प्रतिशत रकम मुद्दति खातामा रहेको छ। सबैभन्दा बढी हिस्सा भने बाणिज्य बैंकहरुको छ। बाणिज्य बैंकहरुको कुल निक्षेपको ३४.७ प्रतिशत मुद्दति खातामा निक्षेप छ। विकास बैंकहरुको ४.६ प्रतिशत र फाइनान्स कम्पनीहरुको ३.३ प्रतिशत छ।
बचत खातामा कुल निक्षेपको ३८ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेका छन्। सबैभन्दा बढी बचत खातामा रकम विकास बैंकहरुसँग छ। विकास बैंकहरुले कुल निक्षेपको ५१.६ प्रतिशत रकम बचतमा संकलन गरेका छन्। फाइनान्स कम्पनीहरुले ४२.८ प्रतिशत र बाणिज्य बैंकहरुले ३५.९ प्रतिशत मात्र बचत खातामा रकम संकलन गरेका छन्। चालु खातामा बैंक तथा वित्तीय संस्थाहरुले ७.५ प्रतिशत रकम संकलन गरेका छन्। चालु खाताको रकम बाणिज्य बैंकहरुसँग ९ प्रतिशत र विकास बैंकसँग १.५ प्रतिशत छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप रकममा औषत ५.१३ प्रतिशत ब्याज दिने गरेको जनाएको छ। यि संस्थाको कर्जाको औषत ब्याज दर १२.१४ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुको खराव कर्जा औषत ३.९ प्रतिशत रहेको छ। बाणिज्य बैंकहरुको औषत खराव कर्जा २.७ प्रतिशत छ भने विकास बैंकहरुको ४.६ प्रतिशत रहेको छ। फाइनान्स कम्पनीहरुको भने निकै माथि छ। फाइनान्स कम्पनीको खराव कर्जा १६.१ प्रतिशत रहेको छ।

No comments:

Post a Comment

thanks for comment