ग्लोबल आइएमइसँग कमर्ज एन्ड ट्रस्ट बैंक मर्ज हुँदै

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक २४
ग्लोबल आइएमइ बैंक र कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल आपसमा गाभिने भएका छन्। ६ महिनाभित्र गाभिने गरी 'क' वर्गका दुई बाणिज्य बैंकबीच आइतबार औपचारिक सम्झौता भएको हो। 
गाभिने सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कर्मज एण्ड ट्रस्ट बैंकका अध्यक्ष शोभाकर न्यौपानेले हस्ताक्षर गरेका छन्। मर्जरपछि बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमइ बैंक नै हुने छ। नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत ग्लोबलका रत्नराज बज्राचार्यले नै निरन्तरता पाउने छन्। 
बाणिज्य बैंकहरु आपसमा गाभिन लागेको यो दास्रो पटक हो। यसअघि एनआइसी बैंक र बैंक अफ एसिया नेपाल गाभिएर एनआइसी एसिया बैंक बनेका थिए। ग्लोबल बैंकमा यसअघि पनि दुई पटक गरेर चार वटा संस्थाहरु गाभिइसकेका छन्। पहिलो पटक आइएमइ फाइनान्सियल इन्स्टिच्युसन र लर्डबुद्ध फाइनान्स गाभिएको थियो भने दोस्रो पटक सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक गाभिएको थियो।
नयाँ बैंकको सञ्चालक समितिमा प्रबर्द्धक सेयरधनीबाट कमर्ज एन्ट ट्रस्टका एक जनाले प्रतिनिधित्व गर्ने छन्। अहिले ग्लोबलमा प्रवर्द्धक सेयरधनीका पाँच वटा समूह छ। कमर्जका प्रवर्द्धकहरु छैटौं समूहको सेयरधनीका रुपमा ग्लोबल छिर्ने छ। 
ग्लोबलसँग कमर्ज बैंक सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) प्रतिवेदनका आधारमा मर्ज हुने छ। डिडिएले निर्धारण गरेको सेयर स्वाप अनुपात अनुसार सञ्चालक समितिमा थप सदस्य जाने नजाने टुङ्गो पनि लाग्ने छ। 'मर्जरको बारेमा सम्झौता मात्र अहिले भएको हो, बाँकी कुराहरु डिडिए अनुसार अगाडि वढाउँछौं,' कमर्जका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने। 
दुबै बैंकले मर्जर प्रकृया अगाडि वढाउन दुबै बैंकका दुई दुई सञ्चालक राखेर संयुक्त मर्जर समिति पनि बनाएको छ। समितिमा ग्लोबलका सुदर्शनकृष्ण श्रेष्ठको संयोजकत्वमा सुमन पोखरेल र कमर्जबाट पवन भिमसिरिया र सुनिलबल्लभ पन्त छन्। आमन्त्रीत सदस्यमा दुबै बैंकका प्रमुख कार्यकारी अधिकृत पनि रहेका छन्।

स्रोतका अनुसार, ग्लोबलसँग कमर्ज प्रति कित्ता ६५ रुपैयाँका दरले मर्जर हुने भित्री समझदारी भएको छ। डिडिएले एकदमै फरक खालको प्रतिवेदन दिएमा मात्र निर्धारित ६५ रुपैयाँका बारेमा छलफल हुने छ। 
अहिले ग्लोबल आइएमइको चुक्ता पुँजी दुई अर्ब ४४ करोड रुपैयाँ छ। कमर्जको दुई अर्ब रुपैयाँ छ। अहिलेकै अवस्थामा मर्ज भए नयाँ बैंकको चुक्ता पुँजी चार अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ। मर्जरपछि नयाँ बैंकको जगेडा कोषमा कम्तिमा एक अर्ब १० करोड रुपैयाँ जम्मा हुने छ।
'हामीसँग दुई चरणमा चार वटा संस्था मर्ज भइसकेकाले मर्जरको राम्रो अनुभव भइसकेको छ,' ढकालले भने, 'त्यही भएर नयाँ बैंकलाई गाभ्दा व्यवस्थापन गर्न कुनै कठिनाइ हुँदैन।' उनले कर्मचारी मिलान उनीहरुले खाइपाइ आएको सेवा सुविधामा नघट्ने गरी पुरानै तरिकाले मिलाइने जानकारी दिए। ग्लोबलमा अहिले आठ सय कर्मचारी छन् भने कमर्जमा दुई सय छन्। 
अहिले ग्लोबलसँग ७२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर छन्। कमर्जका १५ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टर छन्। यसमध्ये केही शाखाहरु भने दोहोरिने भएकाले त्यसलाई अर्को स्थानमा स्थानान्तरण गरिने बैंकले जनाएको छ। मर्जरपछि नयाँ बैंकको निक्षेप ४८ अर्ब पुग्ने छ भने कर्जा ३९ अर्ब नाघ्ने छ। ग्लोबलका तीन लाख ९० हजार ग्राहक छन् भने कमर्जका ४१ हजार छन्। दुबै बैंकको शाखारहित बैंकिङ सेवा १७ वटा स्थानमा छन्। 
बैंकले आगामी चैतसम्म मर्ज गर्ने योजना बनाएका छन्। दुबै बैंकले सेयर कारोबार रोक्का राख्न आइतबारै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आवेदन दिइसकेका छन्। सोमबार कार्यालय खुल्ने वित्तिकै दुबै संस्था मर्जरका बारेमा सैद्धान्तिक स्वीकृति माग गर्दै राष्ट्र बैंक जाँदैछन्। राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि दुबै बैंकको डिडिएका काम सुरु हुने छ।

No comments:

Post a Comment

thanks for comment