दसैंको मुखमा पनि ऋण लगानी भएन

सुदर्शन सापकोटा
काठमाडौं, भदौ २७
नयाँ आर्थिक बर्ष सुरु भएपछि बाणिज्य बैंकहरुको कर्जा लगानी खासै बढ्न सकेको छैन। औद्योगिक वातावरण नभएको र साना तथा मझौला कर्जाको पनि माग नआएकाले बैंकहरुको लगानी बढ्न नसकेको हो। साउनयता बाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन्। 
'पोहोर परार दसैंको मुखमा उल्लेख्य ऋण विस्तार हुन्थ्यो यो बर्ष ऋण गएको छैन,' सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बिहीबार नागरिकसँग भने, 'दसैंमा आवश्यक सामान मगाउनका लागि प्रतितपत्र (एलसी) पनि त्यति खुलेको छैन।'
गत बर्ष यति बेला बैंकहरुको ऋण ४० अर्ब रुपैयाँ बढेको थियो। यो बर्ष भने जम्मा ११ अर्ब रुपैयाँ बढेको छ। लगानी हुन नसक्दा बैंकहरुसँग अहिले अत्याधिक तरलता  (लगानी योग्य पुँजी) थुप्रिएको छ। राष्ट्र बैंकले अधिक तरलतालाई खिंच्नका लागि दुई पटक रिभर्स रिपो नै जारि गरिसकेको छ।
'अहिले पुराना ऋणहरु नै एउटा बैंकबाट अर्को बैंकमा अलिअलि थपिएर सरिरहेको छ,' दाहालले भने, 'नयाँ ऋणका लागि कुनै माग भएको छैन, दसैंको मुखमा एलसी पहिलेजस्तो खुलेको पनि छैन।' बैंकरका अनुसार, विगतको प्रवृत्ति अनुसार यति बेला ऋणको माग बढ्ने बेला हो।

तरलता बढिरहेका बेला कर्जाको ब्याज घट्छ भन्ने अपेक्षाले पनि माग नभएको बैंकरहरुको बुझाइ छ। यही बेला अमेरिकी डलरको मूल्य बढेर बस्तु तथा सेवाको मूल्य बढेकाले पनि आयात एलसी त्यति नखुलेको हो। 'डलरले बस्तु तथा सेवाको मूल्य बढाएकाले व्यवसायीले थप बस्तु नमगाएजस्तो छ,' दाहालले भने, 'बैंकमा तरलता बढ्दै गएमा निक्षेप तथा कर्जाको ब्याज दर अझ घटाउँछ।'
राष्ट्र बैंकले दुई बर्षपछि यस बर्ष रिभर्स रिपो अधिक तरलता भएकै कारण जारी गरेको हो। अघिल्लो सात पाँच अर्बको रिभर्स रिपोका लागि ३० अर्बको आवेदन परेको थियो। यो साता १० अर्बको रिभर्स रिपो जारी गरिएकोमा ४२ अर्ब रुपैयाँको आवेदन परेकेा छ। रिभर्स रिपोको ब्याज एक प्रतिशतभन्दा निकै तल छ।
एक सातायताको तथ्यांक अनुसार ऋण दुई अर्ब बढ्दा निक्षेप पाँच अर्बले बृद्धि भएको छ। साउनयता निक्षेप २३ अर्बले बढिसकेको छ। निक्षेप बढ्ने तर कर्जा बृद्धि नहुने भएकाले बैंकहरुको निक्षेपको खर्च बढ्न थालेको छ। निक्षेपको खर्च घटाउनलाई बैंकहरुले यसको ब्याज दर घटाउन थालिसकेका छन्। मुद्दति निक्षेपमा मूस्किलले सात प्रतिशत ब्याज छ। बचतमा पाँच प्रतिशतको हाराहारीमा ब्याज दर कायम भएको छ।
बैंकरका अनुसार यति बेला दसैंतिहारलाई लक्षित गरेर लत्ताकपडा, खाद्यान्न, विद्युतीय उपकरण, गाडी, घर तथा अन्य सामग्रीका लागि कर्जाको माग हुने गरेको थियो। 'नयाँ लगानीका लागि त माग छँदै छैन,' एक बैंकरले भने, 'चाडवाडका बेला हुने बस्तु तथा सेवाका लागि लिइने ऋणको माग पनि घटेको छ।' 
बैंकमा अत्याधिक तरलता थुप्रिएपछि अन्तर बैंक सापटी दर पनि एक प्रतिशत तल झरेको छ। बैंकहरुले चार महिनायता एक प्रतिशतभन्दा निकै कममा सापटी कारोबार गरिरहेका छन्। डलरको मूल्य बृद्धिसँगै वैदेशिक रोजगारीमा गएकाले पठाउने रेमिटेन्स्को प्रवाह बढेकाले पनि तरलता अत्याधिक बृद्धि भएको हो। 'ऋण लगानी नवढेकाले यो क्वाटर (साउनदेखि असोज) को बैंकको ब्याज आम्दानी घट्ने निश्चित नै छ,' दाहालले भने।  

No comments:

Post a Comment

thanks for comment