एभरेष्टको व्यवस्थापन लिन समितिलाई बाटो खुल्यो

काठमाडौं, कात्तिक १६
पाटन पुनरावेदन अदालतले एभरेष्ट इन्स्योरेन्सको व्यवस्थापन आफैले लिएर सुधार प्रकृया थाल्ने बिमा समितिको निर्णयलाई सदर गरिदिएको छ। समितिले व्यवस्थापन लिएपछि कम्पनीका पूर्व सञ्चाक समिति र प्रमुख कार्यकारी अधिकृतले कारवाही प्रकृया रोक्न अदालतमा मुद्दा दिएको थियो।
'अदालतले समितिको पक्षमा निर्णय गरिदिएर कम्पनी सुधारको बाटो खोलिदिएको छ,' समितिबाट कम्पनीको व्यवस्थापन सम्हाल्न पुगेका तीन सदस्यीय टोलीका सदस्य कुन्दन सापकोटाले शनिबार नागरिकसँग भने, 'कर्मचारीहरुले एकदमै राम्रोसँग सहयोग गरिरहेका कारण केही समयमै कम्पनीको सुधार गर्न सकिने अवस्था छ।'
सञ्चालक समितिले एकल निर्णय गरेर कारोबार बन्द गरेपछि समस्यामा परेको एभरेष्ट इन्स्योरेन्स सुचारु गर्न समितिले गत असोजमा व्यवस्थापन आफैले लिएको थियो। समितिले अन्यायपूर्ण ढंगले कारवाही अगाडि बढाएको भन्दै तत्कालिन सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठले मुद्दा हालेका थिए। 
बिमा इतिहासमा समितिले कम्पनीको व्यवस्थापन लिएर सुधार प्रकृया थालेको यो पहिलो घटना हो। नियामक निकाय समितिले चार्टर्ड एकाउन्टेण्ट सन्तोष प्रसाइको नेतृत्वमा तीन सदस्यीय टोली एभरेष्ट इन्स्योरेन्स पठाएको थियो। टोलीमा समितिका उप निर्देशक  सापटकोटा र सहायक निर्देशक ओमवहादुर अधिकारी छन्। समितिले विज्ञ सदस्य सुरजविक्रम शाहीको संयोजकत्वमा विज्ञ भोजराज शर्मालाई सल्लाहकार समूह तोकेको छ। समितिले आवश्यकता अनुसार थप सल्लाहकार नियुक्त गर्न सक्ने जनाएको छ। 

समितिले एभरेष्ट सञ्चालक समितिको गैरजिम्मेवारपूर्ण तथा गैरजवाफदेहीपूर्ण कार्य गरेको तथा सर्वसाधारण ग्राहक (बीमित) को हित गर्न नसकेको भन्दै व्यवस्थापन जिम्मा लिएको थियो। अध्यक्ष तथा सञ्चालक समितिबाट भएको हानी नोक्सानीको विगो नियमानुसार भराई कम्पनीलाई पूनः सुचारु गर्न नियमनकारी संस्थाको हैसियतबाट बीमा समितिले हस्तक्षेप गर्नुपर्ने वाध्यात्मक परिस्थिति उत्पन्न भएको समितिको दावी छ। 
एभरेष्टले आफुले गर्नु पर्ने कार्य नगरी बीमा व्यवसाय संचालन गर्दा अपनाउनु पर्ने प्रकृया सम्बन्धमा समितिले दिएको निर्देशन उल्लघंन गरेको तथा समितिलाई दिनु पर्ने सूचना नदिएको, उधारोमा बीमा गरेको अरोप समितिले लगाएको छ। 
समितिबाट गएको व्यवस्थापन र सल्लाहाकार समूहलाई बढीमा छ महिना भित्र साधारण सभामार्फत सञ्चालक समिति गठन गरी व्यवस्थापन हस्तान्तरण गर्न निर्देशन समितिले दिइसकेको छ। कम्पनीलाई पुग्न गएको हानी नोक्सानीको छानविन गरी विगो असुल उपर गर्न र दोषी उपर आवश्यक कारवाही चलाउने जिम्मेवारी पनि तोकिएको छ। 
समितिले नयाँ गएको व्यवस्थापन समूह रहेसम्मका लागि रोक लगाइएको अग्नी बिमा कारोबार फुकुवा समेत गरिदिएको छ। एभरेष्टको कुल कारोबारमा अग्नी बिमाको हिस्सा २० प्रतिशत हुन्छ। समितिले ११ महिनादेखि अग्नी बिमामा रोक लगाएको छ। कम्पनीमा तीन हजार हाराहारीमा बिमा दावी छन्। टोलीले यसलाई पहिले राफसाफ गर्ने छ। 
समितिले दिइएको निर्देशन पालना नगरेर बिमा व्यवसायमा रोक लगाउनु पर्ने अवस्थ्ाको श्रृजना गराउने कम्पनीका पूर्व अध्यक्ष राजेन्द्रकुमार खेतान लगायत अन्य सञ्चालक सदस्यहरुलाई पनि कारवाही गरेको थियो। समितिले अध्यक्ष खेतानसहित सदस्यहरुलाई पाँच बर्षसम्म कुनै पनि बीमा कम्पनीका सञ्चालक समिति लगायत बीमकको अन्य कुनै पनि हैसियतमा रहन रोक लगाएको थियो। समितिले अध्यक्ष तथा सञ्चालक र उनीहरुको परिवारको नाममा रहेको सेयर कम्पनीमा पुग्न गएको हानी नोक्सानीको विगो असुल उपर नभएसम्मको लागि रोक्कासमेत राखेको थियो। समितिको यही निर्णय विरुद्ध सञ्चालक समिति अदालत गएको थियो। 
समितिले ६ महिनाभित्र कम्पनी सुधार गर्ने गरी व्यवस्थापन लिएको हो। समितिले व्यवस्थापन लिनु पूर्ब कम्पनीको सञ्चालक समिति खारेज गर्दै प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठलाई समेत निलम्बन गरेको थियो। एभरेष्टका कर्मचारीहरुले कम्पनी सुचारु गर्न आन्दोलन थालेपछि प्रमुख कार्यकारी श्रेष्ठ एक महिनादेखि बिदामा बसेका थिए।
समितिले बिमा कारोबार सुचारु गर्दै दावी भुक्तानी राफसाफ सुरु गर्ने छ। साथै गत आर्थिक बर्षदेखि हुन नसकेको बार्षिक साधारणसभा पनि गर्ने छ। एभरेष्टले गत चैतदेखि कुनै पनि कारोबार गरेको छैन। निवर्तमान सञ्चालक समितिले कम्पनी नवीकरण नभएको भन्दै नयाँ कारोबार बन्द गरेको थियो। कम्पनीबाट कारोबार हुन छाडेपछि त्यसलाई खुलाउन कर्मचारीले आन्दोलन गर्दा दावी हुक्तानी राफसाफको काम पनि हुन सकेको थिएन।
सञ्चालक समिति र व्यवस्थापन नियोजित रुपमा जसरी पनि कम्पनी बन्द गर्न लागिपरेको भन्दै एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरुले खुलाउनका लागि पहल गर्दै आएका थिए। उनीहरुले निलम्बनमा परेका प्रमुख कार्यकारी र सञ्चालक समिति नै नियोजित रुपमा बन्द गर्न लागेको भन्दै आफूमध्येबाटै एक जनालाई प्रमुख कार्यकारी नियुक्त गर्न सिफारिस समेत गरेका थिए।
अग्नी बिमा कारोबारमा बिमा समितिले रोक लागाएपछि एभरेष्टको सञ्चालकले …किचलो' निकाल्दै कारोबार बन्द गराएका थिए। समितिले भदौ १३ गते एभरेष्टले हिमालयन स्न्याक्सको दावीमा सर्वेयरको अन्तिम प्रतिवेदन नआउँदै चार करोड रुपैयाँ बिमा रकम भुक्तानी गरेको भन्दै अग्नी बिमा कारोबारमा रोक लगाएको थियो। 

No comments:

Post a Comment

thanks for comment