मूल्य बृद्धि ४ प्रतिशत बिन्दुले घट्यो

काठमाडौं, असोज १
नेपाल राष्ट्र बैंकले बजारको महँगी निकै घटेको संकेत गरेको छ। अघिल्लो बर्ष साउनमा ११.९ प्रतिशत रहेको मूल्य बृद्धि चालु आर्थिक बर्षको साउन महिनामा ७.९ प्रतिशतमा झरेको हो।  गत बर्षभरीको औषत मूल्य बृद्धि ९.९ प्रतिशत रहेको थियो। 
खाद्यान्न, पेय पदार्थ तथा गैरखाद्य पदार्थको समेत मूल्य बृद्धि घटेका कारण समग्र महँगी घटेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो बर्ष खाद्य तथा पेय पदार्थको मूल्य बृद्धि १२.२ प्रतिशत रहेकोमा यसपाली जम्मा ८.९ प्रतिशत छ। गैरखाद्यतर्फको मूल्य बृद्धि पनि ११.६ प्रतिशतबाट सात प्रतिशतमा सीमित भएको छ।
यसपाली माछामासुको मूल्य भने अत्याधिक बढेको छ। गत बर्ष ११.५ प्रतिशतले बढेको माछामासुको मूल्य यसपाली १७.४ प्रतिशतले बृद्धि भएको छ। तर रेस्टुरेन्ट तथा होटलको खर्च भने घटेको छ। राष्ट्र बैंकका अनुसार, अघिल्लो बर्ष १२.६ प्रतिशतले बढेको रेस्टुरेन्टको खर्च यसपाली जम्मा १२.२ प्रतिशतले बढेको छ। यसपाली फर्निसिङ, घरायसी उपकरणलगायतको बस्ुतको मूल्य भने अत्याधिक बृद्धि भएको छ। लत्ता कपडा, जुत्ता चप्पल, शिक्षा क्षेत्रमा हुने खर्चको बृद्धि दर घटेको छ। स्वास्थ्य तथा यातायात क्षेत्रको खर्च पनि घटेको राष्ट्र बैंकको तर्क छ।
राष्ट्र बैंकले मूल्य बृद्धि के कारणले घट्यो भन्ने विश्लेषण भने गरेको छैन। मंगलबार सार्वजनिक देशको वर्तमान आर्थिक अवस्था प्रतिवेदन अनुसार, काठमाडौं, तराई, पहाड सबै तिरको मूल्य बृद्धि घटेको हो। तराईमा ११.८ प्रतिशत रहेको मूल्य बृद्धि ८.३ प्रतिशतमा सीमित भएको छ। काठमाडौंको १२.३ प्रतिशतले बढेको मूल्य बृद्धि यसपाली ८ प्रतिशत र पहाडको ११.५ प्रतिशतले बढेको मूल्य ७.१ प्रतिशतमा सीमित भएको छ।

बैदेशिक व्यापार
चालु वर्षको साउनमा निर्यातको तुलनामा आयात साढे सात गुणाले बढेको छ। साउनमा निर्यात सात अर्ब ५९ करोड रुपैयाँको भएको छ। अघिल्लो बर्ष निर्यात सात अर्ब २० करोड रुपैयाँको भएको थियो। यता आयात भने ४९ अर्ब १५ करोड रुपैयाँको भएको छ। अघिल्लो बर्ष आयात ४६ अर्ब ९८ करोड रुपैयाँको भएको थियो। 
कुल बस्तु निर्यातमध्ये भारततिरको १५.१ प्रतिशतले बढेको छ। अघिल्लो बर्ष बृद्धि दर जम्मा ५.७ प्रतिशत थियो। भारतमा जिङ शिट, जुस, आयुर्वेदिक औषधि, पोलिस्टरको धागो बढीजसो निर्यात भएको छ । अन्य मुलुकतिरको निर्यात ७.७ प्रतिशतले घटेको छ। अन्य मुलुकमा दाल, नेपाली कागज तथा यसबाट बनेका सामान भएको छ। यि सामान पनि पहिलेजस्तो अनुपातमा नभएको राष्ट्र बैंकले जनाएको छ।
कुल आयातमध्ये भारततिरको १०.७ प्रतिशतले बढेको छ। अन्य मुलुकको आयात ४.९ प्रतिशतले घटेको छ। भारतबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थका साथै मेसिनरी तथा पार्टस, ड्राइसेल ब्याट्री, औषधिको आयात बढेको छ। अन्य मुलुकबाट पाइप तथा पाइप फिटिङ, विद्युतीय सामग्री, सुन, खाने तेललगायतको आयात बढेको छ।
निर्यातको तुलनामा आयात बढी भएका कारण कुल बस्तु व्यापार घाटा ४.५ प्रतिशतले बढेर ४१ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। कुल घाटामध्ये भारतको ९.९ प्रतिशतले बढेको छ भने अन्य मुलुकतिरको ४.४ प्रतिशतले घटेको छ।
शोधनान्तर अवस्था
देशबाट बाहिरिने भन्दा भित्रिने रकम (शोधनान्त) १६ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो बर्ष साउनमा जम्मा ५ अर्ब ५६ करोड रुपैयाँ बचतमा थियो। चालु खाता १० अर्ब ७ करोडले बचतमा रहेको छ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाउने रेमिटेन्स २३.८ प्रतिशतले बढेको छ। अघिल्लो बर्षको तुलनामा रेमिटेन्स बृद्धि दर घटेपनि रकमका हिसावले साउनमा पोहोरभन्दा वढी रेमिटेन्स भित्रिएको हो। साउनमा ४१ अर्ब ८७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। 
साउनमा विदेशी विनिमय सञ्चिति ५ सय ५५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। असारमा यो ५ सय ३३ अर्ब २० करोड रुपैयाँ थियो। कुल सञ्चितिमध्ये राष्ट्र बैंकसँगको २.६ प्रतिशतले बढेर ४ सय ६४ अर्ब ९६ करोड पुगेको छ। 
सरकारी खर्च
पहिलो महिना सरकारी खर्च ५५.७ प्रतिशतले घटेर ६ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो बर्ष सरकारी खर्च १०९.२ प्रतिशतले बढेको थियो। साउनमा सरकारले वैदेशिक नगद ऋण ६० करोड ८७ लाख रुपैयाँ पाएको छ। अनुदान दुई अर्ब ९२ करोड पाएको छ। अघिल्लो बर्ष पहिलो महिना १४ करोड ४१ लाख ऋण र ५७ करोड ५३ लाख अनुदान पाएको थियो। 

No comments:

Post a Comment

thanks for comment