एक बैंकको औषत ३० करोड मात्र लगानी

काठमाडौं, असोज ८ 
नयाँ आर्थिक बर्ष सुरु भएपछि एक बाणिज्य बैंकले औषतमा ३० करोड रुपैयाँ मात्र ऋण लगानी गर्न सकेका छन्। गत बर्ष यति बेला एक बाणिज्य बैंकले औषतमा एक अर्ब १८ करोड रुपैयाँ लगानी गरेका थिए।
निक्षेप भने पोहोरको भन्दा बृद्धि भएको छ। गत बर्ष एक बैंकले ३१ करोड रुपैयाँ औषतमा निक्षेप संकलन गरेकामा यसपाली ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। निक्षेप बढ्ने तर ऋण लगानी नहुने भएपछि बैंकिङ प्रणालीमा अध्याधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिएको छ।
बैंकरले निक्षेप बढेर तरलता बढ्न थालेपछि धमाधम ब्याज दर घटाए पनि ऋण विस्तार गर्न सकेका छैनन्। 'अहिले ऋणको माग नै आएको छैन,' सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नागरिकसँग भने, 'दसैंको मुखमा मनग्य ऋण विस्तार हुनु पर्नेमा झिनो भएको छैन।'
राष्ट्र बैंकका अनुसार गत सातासम्म बाणिज्य बैंकहरुसँग निक्षेप १० खर्ब २८ अर्ब पुगेको छ। ऋण लगानी सात खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। साउन लागेपछि कुल निक्षेप ११ अर्बले बढेको छ भने कर्जा ९ अर्बले बढेको छ। गत बर्ष यति बेला निक्षेप १० अर्बले बढेको थियो भने कर्जा ३८ अर्बले बढेको थियो। 
लगानी योग्य पुँजी अत्याधिक बढेपछि अधिकांस बाणिज्य बैंकहरुको कर्जाको ब्याज दर १० प्रतिशतभन्दा तल झारेका छन्। बैंकहरुले पैसा तिरेर उठाएको निक्षेप लगानी हुन नसकेपछि बैंकहरुले खर्च घटाउन ऋणको ब्याज चार बर्षअघिकै हाराहारीमा झारेका हुन्। 

बैंकहरुले उपभोक्ता कर्जा, गाडी, घर तथा व्यक्तिगत कर्जाको ऋण घटाएका हुन्। यस वाहेक छोटो अवधिको व्यापारिक तथा व्यवसायिक कर्जाको ब्याज पनि घटाएका छन्। गत आर्थिक बर्षको अन्त्यदेखि नै कर्जा विस्तार खासै हुन नसकेर लगानी योग्य पुँजी वढी हुन थालेकाले बैंकलाई ब्याज दर घटाउन दवाव परेको हो।
'तरलता बढ्ने तर ऋणको माग नआउने भएपछि ब्याज दर घट्न थालेको हो,' कमर्ज एन्ड ट्रस्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले मंगलबार नागरिकसँग भने, 'ब्याज दर चार बर्षअघि कै अवस्थामा आइपुगेको छ।' चार बर्षअघि बैंकको ब्याज दर ८/९ प्रतिशतको हाराहारीमा थियो। अहिले बैंकहरुले ९.९९ प्रतिशत तल ब्याजमा ऋण दिन थालेका छन्।
कतिपय बैंकले नियमित तालिका अनुसार ब्याज घटाएका छन् भने अधिकांसले दसैंतिहारलाई लक्षित गर्दै स्किम (विशेष योजना) मार्फत ऋण घटाउन थालेका हुन्। पुराना र ठूला बैंकले धमाधम ब्याज घटाउन थालेपछि नयाँ आएका बैंकहरुलाई प्रतिस्पर्धामा टिक्न ब्याज घटाउनु पर्ने बाध्यता भएको छ। प्रतिस्पर्धि हुनका लागि नयाँ र साना बैंकले पनि ब्याज दरमा उच्च कटौती गरेका छन्। 
तरलता अत्याधिक बढ्ने तर दसैंको मुखमा पनि ऋणको माग नआउने भएपछि बैंकहरुको पुँजी लागत बढ्न थालेको छ। वढ्दो पुँजी लागतलाई घटाउन ब्याज सस्तो बनाएर लगानी आकर्षित गर्न बैंकहरु प्रतिस्पर्धा गर्न थालेका हुन्। नेपाल राष्ट्र बैंकले बढ्दो तरलतालाई व्यवस्थापन रिभर्स रिपो र आउट राइट सेलसमेत गर्न थालेको छ। 
बैंकहरुबीच अन्तर बैंक सापटी एक प्रतिशतभन्दा निकै कममा कारोबार हुन थालेको नै चार महिना नाघिसकेको छ। रिभर्स रिपोको दर पनि एक प्रतिशतभन्दा कम छ। महँगोमा उठाएको निक्षेप सस्तोमा सरकारी ऋणपत्रमा लगानी गर्नु पर्ने भएपछि बैंकहरुले उपभोक्तालाई नै लक्षित गर्दै ब्याज दर १० प्रतिशत तल झारेका हुन्।
बैंकरका अनुसार, नेपाल राष्ट्र बैंकले कुल निक्षेपमध्ये ६० प्रतिशतभन्दा बढी संस्थागत निक्षेप लिन नपाइने ब्याज गरेका कारण पनि ब्याज दर घटेको हो। 'संस्थागत निक्षेप घटाउनलाई निक्षेपको ब्याज घटिरहेको छ,' भट्टराई भने, 'निक्षेप सँगसँगै कर्जाको ब्याज पनि घटेको हो।' अहिले बैंकहरुले एक बर्षे मुद्दति निक्षेपमा सात प्रतिशतसम्म मात्र ब्याज दिइरहेका छन्। बचत खाताको ब्याज अझ तल छ।  

No comments:

Post a Comment

thanks for comment