एटिएम १५ सय पुग्यो, कार्ड बोक्ने सवा ३१ लाख

काठमाडौं, असोज २१
आधुनिक बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुले देशभर एक हजार चार सय ७१ वटा एटिएम काउन्टर स्थापना गरेका छन्। खाता खोल्ने ग्राहक बढेपछि बैंक तथा वित्तीय संस्थाहरुले एटिएमको सञ्जाल विस्तार गरेका हुन्।
सञ्चालमा रहेका ३१ वटा बाणिज्य बैंकले मात्र एक हजार दुई सय वटा एटिएम सञ्चालनमा ल्याएका छन्। विकास बैंकहरुले एक सय ८१ वटा र फाइनान्स कम्पनीहरुले ९० वटा एटिएम सञ्चालन गरेका छन्। बाणिज्य बैंकहरुले केन्द्रीय कार्यालय र शाखा सञ्जालकै हाराहारीमा एटिएम जडान गरेका हुन्। बैंकहरुको देशभर एक हजार चार सय ८९ वटा शाखा सञ्चालनमा छन्। 
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल दुई हजार पाँच सय १३ वटा छ। काठमाडौं र मोफसलमा केन्द्रीय कार्यालय रहेका ९० वटा विकास बैंकको शाखा सञ्जाल सात सय २१ वटा छ। ७० वटाको हाराहारीमा रहेका फाइनान्स कम्पनीको शाखा संख्या तीन सय तीन वटा छ।  

खाता खोल्ने ग्राहक बढेसँगै एटिएम कार्ड बोक्नेको संख्या पनि बृद्धि भएको छ। डेबिट र क्रेडिट कार्डका ग्राहक बैंक तथा वित्तीय संस्थामा ३१ लाख २३ हजार पाँच सय सात जना पुगेका छन्। बाणिज्य बैंकहरुले २७ लाख ५२ हजार नौं सय ६० वटा डेबिट कार्ड जारी गरिसकेका छन्। विकास बैंकहरुले पनि दुई लाख ६५ हजार पाँच सय ५७ वटा र फाइनान्स कम्पनीहरुले एक लाख चार हजार नौं सय ९० वटा डेबिट कार्ड जारी गरेका छन्।
क्रेडिट कार्ड भने बाणिज्य बैंकहरुले मात्र जारी गरेको राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले ३४ हजार आठ सय दुई वटा क्रेडिट कार्ड जारी गरेका छन्। डेबिट कार्डमा आफ्नो खातामा भएको रकम प्रयोग गर्न पाइन्छ भने क्रेडिट कार्ड लिने ग्राहकले अहिले बैंकबाट उदारोमा पैसा चलाएर पछि भुक्तानी गर्ने सुविधा पाउँछन्। क्रेडिट कार्डका लागि निश्चित शुल्क र ब्याज पनि भुक्तानी गर्नु पर्ने हुन्छ।
बैंकहरुले शाखा सञ्जाल विस्तार गरेसँगै निक्षेप खाता खोल्ने ग्राहकको संख्या पनि बढेको छ। अहिलसम्म एक करोड ११ लाख ३७ हजार वटा निक्षेप खाता खुलेको छ। यो खाता मुद्दति, बचत, चालु हो। खाता खोल्नेमा सर्वसाधारणदेखि संस्थाहरु पनि छन्। एउटै ब्यक्ति तथा संस्थाले धेरै वटा खाता सञ्चालन गर्न पाउने भएकाले खाता संख्या वास्तविक भन्दा केही वढी छ। 
बाणिज्य बैंकहरुमा ८३ लाख चार हजार चार सय ६ वटा निक्षेप खाता खोलिएका छन्। विकास बैंकहरुमा २० लाख ६५ हजार आठ सय ९४ र फाइनान्स कम्पनीहरुमा सात लाख ६६ हजार सात सय २४ वटा निक्षेप खाता खोलिएका छन्। बैंकहरुको शाखा सञ्चाल वढी भएको, जतिसुकै निक्षेप पनि स्वीकार्न सक्ने क्षमता भएको र अन्यभन्दा वढी सुरक्षित तथा भरपदौ मानिकाले खाता संख्या बढी भएको हो। 
निक्षेप खातासँगै ऋण खाता पनि बाणिज्य बैंकमा बढी छ। विकास बैंक र फाइनान्स कम्पनीहरुको भन्दा कम ब्याज हुने र ऋण दिने क्षमता बढी हुने भएकाले बाणिज्य बैंकका ऋणी वढी भएका हुन्। बैंक तथा वित्तीय संस्थामा आठ लाख ५१ हजार दुई सय १३ वटा ऋण खाता छ।
बाणिज्य बैंकहरुमा मात्र पाँच लाख ९९ हजार एक सय ९८ वटा ऋण खाता छ। विकास बैंकहरुमा एक लाख ९० हजार सात सय २१ वटा छ भने फाइनान्स कम्पनीहरुमा ६१ हजार दुई सय ९४ वटा मात्र ऋण खाता छ। 

No comments:

Post a Comment

thanks for comment