चार बर्षपछि ऋणको ब्याज १० प्रतिशत तल

सुदर्शन सापकोटा
काठमाडौं, असोज १
लगानी योग्य पुँजी अत्याधिक बढेपछि अधिकांस बाणिज्य बैंकहरुको कर्जाको ब्याज दर १० प्रतिशतभन्दा तल झारेका छन्। बैंकहरुले पैसा तिरेर उठाएको निक्षेप लगानी हुन नसकेपछि बैंकहरुले खर्च घटाउन ऋणको ब्याज चार बर्षअघिकै हाराहारीमा झारेका हुन्। 
बैंकहरुले उपभोक्ता कर्जा, गाडी, घर तथा व्यक्तिगत कर्जाको ऋण घटाएका हुन्। यस वाहेक छोटो अवधिको व्यापारिक तथा व्यवसायिक कर्जाको ब्याज पनि घटाएका छन्। गत आर्थिक बर्षको अन्त्यदेखि नै कर्जा विस्तार खासै हुन नसकेर लगानी योग्य पुँजी वढी हुन थालेकाले बैंकलाई ब्याज दर घटाउन दवाव परेको हो।
'तरलता बढ्ने तर ऋणको माग नआउने भएपछि ब्याज दर घट्न थालेको हो,' कमर्ज एन्ड ट्रस्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले मंगलबार नागरिकसँग भने, 'ब्याज दर चार बर्षअघि कै अवस्थामा आइपुगेको छ।' चार बर्षअघि बैंकको ब्याज दर ८/९ प्रतिशतको हाराहारीमा थियो। अहिले बैंकहरुले ७.७५ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजमा ऋण दिन थालेका छन्।
कतिपय बैंकले नियमित तालिका अनुसार ब्याज घटाएका छन् भने अधिकांसले दसैंतिहारलाई लक्षित गर्दै स्किम (विशेष योजना) मार्फत ऋण घटाउन थालेका हुन्। पुराना र ठूला बैंकले धमाधम ब्याज घटाउन थालेपछि नयाँ आएका बैंकहरुलाई प्रतिस्पर्धामा टिक्न ब्याज घटाउनु पर्ने बाध्यता भएको छ। प्रतिस्पर्धि हुनका लागि नयाँ र साना बैंकले पनि ब्याज दरमा उच्च कटौती गरेका छन्। 

सबैभन्दा कम ब्याज दर स्टेन्डर्ड चार्टर्ड बैंकको छ। बैंकले ७.७५ प्रतिशतमै ऋण दिने स्किम ल्याएको छ। अन्य बैंकले भने ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशत ब्याजसम्म ऋण दिन थालेका छन्। कमर्ज एन्ड ट्रस्ट, सानिमा, माछापुच्छे्र, बैंक अफ काठमाण्डू (बिओके),  एनआइसी एसिया, हिमालयन बैंकलगयतले ब्याज घटाइसकेको छन्। कतिपय विकास बैंकहरुले पनि कर्जाको ब्याजमा उच्च कटौती गरेका छन्।
तरलता अत्याधिक बढ्ने तर दसैंको मुखमा पनि ऋणको माग नआउने भएपछि बैंकहरुको पुँजी लागत बढ्न थालेको छ। वढ्दो पुँजी लागतलाई घटाउन ब्याज सस्तो बनाएर लगानी आकर्षित गर्न बैंकहरु प्रतिस्पर्धा गर्न थालेका हुन्। नेपाल राष्ट्र बैंकले बढ्दो तरलतालाई व्यवस्थापन गर्न दुई पटक रिभर्स रिपो गरेर १५ अर्ब रुपैयाँ बजारबाट खिंचिसकेको छ। बिहीबार फेरी साढे आठ अर्ब रुपैयाँको आउटराइट सेल पनि गर्दैछ।
बैंकहरुबीच अन्तर बैंक सापटी एक प्रतिशतभन्दा निकै कममा कारोबार हुन थालेको नै चार महिना नाघिसकेको छ। रिभर्स रिपोको दर पनि एक प्रतिशतभन्दा कम छ। महँगोमा उठाएको निक्षेप सस्तोमा सरकारी ऋणपत्रमा लगानी गर्नु पर्ने भएपछि बैंकहरुले उपभोक्तालाई नै लक्षित गर्दै ब्याज दर १० प्रतिशत तल झारेका हुन्।
राष्ट्र बैंकको तथ्यांक अनुसार, साउन लागेपछि बैंकहरुको ऋण लगानी जम्मा ६ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो बर्ष यति बेला बैंक ऋण ४० अर्ब रुपैयाँ थियो। गत बर्ष ब्याज १२/१३ प्रतिशतको हाराहारीमा थियो। एक साताअघि सम्म ऋणको ब्याज १२/१३ प्रतिशतबाट घटेर १० प्रतिशतभन्दा झरिसकेको थियो। ब्याज दर झर्दा पनि ऋणको माग नभएपछि बैंकले चार बर्ष अगाडिकै हाराहारीमा ब्याज झारेका हुन्।
'ब्याज दर अझ झर्छ की भन्ने आशमा पनि ऋण लगानी नगएको हुन सक्छ,' सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, 'बैंकहरुलाई ब्याज घटाउन यसैले दवाव दिएको हो।' राष्ट्र बैंकका अनुसार बैंकहरुसँग ३० अर्ब रुपैयाँ अधिक तरलता छ। 
'अहिले समस्या तरलताको मात्र होइन, उच्च बजार भाउको पनि हो। बजार भाउ बढेपछि सर्वसाधारणले उपभोगमा कटौती गर्दा ऋणको माग बढ्न सकेको छैन,' भट्टराईले भने, 'पछिल्लो प्रबृत्ति हेर्दा नेपालमा अल्पकालिन ऋण गइरहेको छ, अहिले उपभोग कटौतीका कारण यो ऋण पनि गएको छैन, त्यही भएर बैंकहरुले ऋणको ब्याज घटाउन थालेका हुन्।'
बैंकरका अनुसार, नेपाल राष्ट्र बैंकले कुल निक्षेपमध्ये ६० प्रतिशतभन्दा बढी संस्थागत निक्षेप लिन नपाइने ब्याज गरेका कारण पनि ब्याज दर घटेको हो। 'संस्थागत निक्षेप घटाउनलाई निक्षेपको ब्याज घटिरहेको छ,' भट्टराई भने, 'निक्षेप सँगसँगै कर्जाको ब्याज पनि घटेको हो।' अहिले बैंकहरुले एक बर्षे मुद्दति निक्षेपमा सात प्रतिशतसम्म मात्र ब्याज दिइरहेका छन्। बचत खाताको ब्याज अझ तल छ। 

No comments:

Post a Comment

thanks for comment