एभरेष्टको ३४ सय दावी भुक्तानी राफसाफ गर्न बाँकी

काठमाडौं, कात्तिक २३
एभरेष्ट इन्स्योरेन्सको व्यवस्थापन जिम्मा लिएपछि बिमा समितिका प्रतिनिधिहरुले दावी भुक्तानी राफसाफको काम सुरु गरेका छन्। कम्पनीका तीन हजार चार सय दावी भुक्तानी राफसाफ गर्न बाँकी छ।
गत चैतदेखि कम्पनीले नयाँ कारोबार बन्द गरेको थियो भने पुराना दावी भुक्तानीका काम पनि रोकेर राखेको थियो। कम्पनी बन्दजस्तै गरेर व्यवस्थापन र सञ्चालक समितिले मनोमानी गरेपछि बिमा समितिले व्यवस्थापन जिम्मा लिएर काम सुरु गरेको हो।
'पहिलो चरणमा हामीले दावी भुक्तानी राफसाफ गरिरहेका छौं,' समितिबाट कम्पनीको व्यवस्थापन सम्हाल्न पुगेको टोलीका एक सदस्यले नागरिकसँग भने, 'कर्मचारीहरुले सहयोग गरिरहेकाले काम चाँडै सकेर कम्पनी पुरानै अवस्थामा फर्कने वातावरण बनाइरहेका छौं।'

समितिले व्यवस्थापन जिम्मा लिने निर्णय गरेपछि अदालत पुगेका कम्पनीका तत्कालिन सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई पाटन पुनरावेदन अदालतले हराइदिएपछि काम सुचारु भएको हो। 
सञ्चालक समितिले एकल निर्णय गरेर कारोबार बन्द गरेपछि समस्यामा परेको एभरेष्ट इन्स्योरेन्स सुचारु गर्न समितिले गत असोजमा व्यवस्थापन आफैले लिएको थियो। समितिले अन्यायपूर्ण ढंगले कारवाही अगाडि बढाएको भन्दै तत्कालिन सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठले मुद्दा हालेका थिए। 
लामो समयदेखि रोक लगाइएको अग्नी बीमा कारोबार पनि फुकुवा भएका कारण टोलीले नयाँ व्यवसायको पनि थालनी गर्ने ती सदस्यले जानकारी दिए। …पहिलो जिम्मेबारी पुरानो दायित्वहरुलाई राफसाफ गर्नु हो,' उनले भने, …सेवाग्राहीले कम्पनीबाट नयाँ सेवा सुरु गर्न चाहेमा त्यो पनि टोलीले गर्ने छ।' उनले नयाँ बिमालेख विक्रीका बारेमा सर्वसाधारण र पुराना ग्राहकले चासो राख्न थालेको जानकारी दिए।
बिमा इतिहासमा समितिले कम्पनीको व्यवस्थापन लिएर सुधार प्रकृया थालेको यो पहिलो घटना हो। समितिले एभरेष्ट सञ्चालक समितिको गैरजिम्मेवारपूर्ण तथा गैरजवाफदेहीपूर्ण कार्य गरेको तथा सर्वसाधारण ग्राहक (बीमित) को हित गर्न नसकेको भन्दै व्यवस्थापन जिम्मा लिएको थियो। 
अध्यक्ष तथा सञ्चालक समितिबाट भएको हानी नोक्सानीको विगो नियमानुसार भराई कम्पनीलाई पूनः सुचारु गर्न नियमनकारी संस्थाको हैसियतबाट बीमा समितिले हस्तक्षेप गर्नुपर्ने वाध्यात्मक परिस्थिति उत्पन्न भएको समितिको दावी छ। 
'कम्पनीका तत्कालिन अध्यक्ष र सञ्चालकबाट भएको हानीका बारेमा मिहिन रुपमा हेर्ने काम भइरहेको छ,' कम्पनीका एक बरिष्ठ कर्मचारीले भने, 'अनुसन्धानपछि समितिबाट आएको टोलीले कारवाही प्रकृया अगाडि वढाउने छ।' उनले कम्पनी राम्रोसँग चल्नु पर्छ भन्ने कर्मचारीहरुको माग भएकाले समितिलाई सक्दो सहयोग गरिएको बताए।
समितिबाट गएको व्यवस्थापन समूहले ६ महिनाभित्र एभरेष्ट इन्स्योरेन्स सुधार गरेर नयाँ सञ्चालक समितिलाई जिम्मा लगाउने म्यान्डेट पाएको छ। …गत आर्थिक बर्षदेखि हुन नसकेको बार्षिक साधारणसभा गर्छौ,' ती सदस्यले भने, …त्यसपछि नयाँ सञ्चालक समितिले कम्पनी अगाडि बढाउने छ।' 
एभरेष्टले गत चैतदेखि कुनै पनि कारोबार गरेको छैन। निवर्तमान सञ्चालक समितिले कम्पनी नवीकरण नभएको भन्दै नयाँ कारोबार बन्द गरेको थियो। कम्पनीबाट कारोबार हुन छाडेपछि त्यसलाई खुलाउन कर्मचारीले आन्दोलन गर्दा दावी हुक्तानी राफसाफको काम पनि हुन सकेको थिएन।
सञ्चालक समिति र व्यवस्थापन नियोजित रुपमा जसरी पनि कम्पनी बन्द गर्न लागिपरेको भन्दै एभरेष्ट इन्स्योरेन्सका कर्मचारीहरुले खुलाउनका लागि पहल गर्दै आएका थिए। उनीहरुले निलम्बनमा परेका प्रमुख कार्यकारी र सञ्चालक समिति नै नियोजित रुपमा बन्द गर्न लागेको भन्दै आफूमध्येबाटै एक जनालाई प्रमुख कार्यकारी नियुक्त गर्न सिफारिस समेत गरेका थिए।

No comments:

Post a Comment

thanks for comment