प्राथमिक सेयर भर्ने लगानीकर्ता बढे

सुदर्शन सापकोटा
काठमाडौं, असोज १०
दोस्रो बजारमा सेयर मूल्य खासै नबढेपनि प्राथमिक सेयरमा भने सर्वसाधारणको आकर्षण बढेर गएको छ। तीन वर्षअघि सेयर बजार सुस्ताउँदा लगानीकर्ताको आकर्षण घटेको सेयरमा पछिल्लो केही महिनायता भने प्राथमिक सेयरमा आकर्षण बढेर गएकोे हो। 
एक बर्षयता बैंक तथा वित्तीय संस्थाहरुको प्राथमिक सेयरमा कम्तिमा सात गुणादेखि ५८ गुणासम्म आवेदन पर्न थालेको छ। एक बर्ष अघिसम्म पुँजी बजार घटेका कारण कम्पनीहरुले निस्कासन गर्ने प्राथमिक सेयरमा सर्वसाधारणको आकर्षण न्युन थियो। केही वित्तीय संस्थाको  सेयरमा मागिएजति आवेदनसमेत परेको थिएन।
२०६५ भदौ १५ गते ११ सय ७५ अंक छोएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक त्यसपछि घटेर तीन सय तल आएको थियो। त्यसबीचमा आएका राम्रै कम्पनीहरुको प्राथमिक सेयरमा पनि सर्वसाधारणको खासै खाकर्षण देखिएको थिएन। एक वर्षयता लगानीकर्ताको आत्वविश्वास फेरी प्राथमिक सेयरमा फर्किएको हो। दोस्रो बजार पनि उकालो लाग्न थालेकाले त्यसको असर प्राथमिक सेयरमा परेको हो।

'कम्पनीहरुले आर्षक प्रतिफल दिन थालेको र निक्षेपको ब्याज दर पनि घटेका कारण प्राथमिक सेयरमा आकर्षण देखिएको हो,' एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरेले बिहीबार नागरिकसँग भने, 'जलविद्युत, लघुवित्त विकास बैंकहरुको सेयरमा बढी आकर्षण देखिएको छ।' उनले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत जलविद्युत र लघुवित्त विकास कम्पनीहरुले राम्रो गरेका कारण नयाँ आउने सेयरमा लगानीकर्ताको सहभागिता बढेको जानकारी दिए।
'एक बर्ष अघिसम्म पनि नेप्सेमा खास ठूलो कारोबार थिएन, त्यही भएर लगानीकर्ता आकर्षित थिएनन्,' घिमिरेले भने, 'अहिले कारोबार रकम पनि बढेर गएको छ। सय रुपैयाँको सेयरको पहिलो कारोबार १६० रुपैयाँ माथि हुने गरेकाले पनि लगानीकर्ता आकर्षित हुन थालेका छन्।'
एक बर्षको अवधिमा प्राथमिक सेयर निश्कासन गरेका बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी, इन्स्योरेन्स कम्पनी र जलविद्युत कम्पनीहरुको प्राथमिक निस्कासनमा तोकिएको रकमभन्दा धेरै गुणा आवेदन पर्न थालेको छ। 
भर्खरै सेयर निस्कासन गरेको कालिका माइक्रो क्रेडिट विकास बैंकको सेयरमा ५७.७५ प्रतिशत बढी आवेदन परेको छ। बैंकले दुई करोडको सेयर निस्कासन गरेको छ। सानिमा माइ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सेयरमा २९ गुणा वढी आवेदन परेको छ। कम्पनीले २१ करोड १० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर निस्कासन गरेको छ।
'अहिले तरलता बढेका कारण संस्थागत लगानीकर्ताको सहभागिता प्राथमिक सेयरमा बढी देखिएको छ,' सेयर ब्रोकर कम्पनी दक्षिणकालि इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक दिनेश सापकोटाले बिहीबार नागरिकसँग भने, 'यसले गर्दा साना लगानीकर्ताहरुमा आकर्षण थपिएको हो।'
सिभिल बैंक लिमिटेडकोको ८० करोडको सेयरमा साढे ५ अर्बभन्दा वढीको आवेदन परेको थियो। यो आवेदन करिव ७ गुणा बढी हो। सिभिल पछि कमर्ज एन्ड ट्रस्ट बैंकले ६० करोडको सेयर निस्कासन गरेको थियो। कमर्जको सेयरमा १२ गुणाभन्दा वढी आवेदन परेको थियो। कमर्जको सेयरमा ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो। 
यि दुबै बैंकको सेयरलाई पछि पार्दै मेगा बैंकको सेयरमा लगानीकर्ताले अझ वढी आकर्षण देखाए। मेगा बैंकले ६९ करोड ९० लाखको सेयर निस्कास गरेकोमा लगानीकर्ताले १४ अर्ब २० करोड रुपैयाँको आवेदन दिएका थिए। यो २२ गुणा वढी आवेदन हो।
साना किसान विकास बैंकको ६ करोड रुपैयाँ बराबरको सेयरमा ३६ गुणा वढी आवेदन परेको थियो। लगानीकर्ताले बैंकको सेयरमा ५ करोड ५२ लाख रुपैयाँको आवेदन हालेका थिए। रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडिसी) को सेयरका लागि लगानीकर्ताले १२ गुणा वढी आवेदन हालेका थिए। 

कम्पनी प्राथमिक सेयरमा परेको आवेदन
सिभिल बैंक ७
कमर्ज एन्ड ट्रष्ट बैंक १२
मेगा २२
साना किसान ३६
आरएमडिसी १२
सानिमा माई २९
कालिका माइक्रो क्रेडिट ५८

No comments:

Post a Comment

thanks for comment