साढे आठ अर्बको 'आउट राइट सेल'

काठमाडौं, असोज १
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्याधिक लगानी योग्य पुँजी (तरलता) भएपछि त्यसलाई तान्न आफ्नो स्वामित्वमा रहेको टे्रजरी विल (आउटराट सेल) विक्री गर्ने भएको छ। राष्ट्र बैंकले साढे आठ अर्ब रुपैयाँको आफ्नो स्वामित्वको टे्रजरी विल बिहीबार बिक्री गर्ने भएको हो।
सरकारले आन्तरिक रुपमा ऋण उठाउन टे्रजरी विलहरु राष्ट्र बैंकमार्फत जारी गर्छ। सरकारले जारी गरेका टे्रजरी विलमध्ये केही राष्ट्र बैंकले आफैसँग राख्छ। यस्तो टे्रजरी विल ब्याज दर तथा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले मौद्रिक औजारका रुपमा प्रयोग गर्छ। 
एक महिना अवधिको यो ऋणपत्र सोझै विक्री बोलकवोल गर्न सकिन्छ। बैंक तथा वित्तीय संस्थाहरुले गरेको वोलकवोलका आधारमा यसको ब्याज दर तय हुन्छ। 'तरलता र ब्याज दर व्यवस्थापनका लागि आउटराइट सेल गर्न लागिएको हो,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले मंगलबार नागरिकसँग भने,'यसबाट वित्तीय स्थायित्वमा सहयोग पुग्छ।' 

बैंकिङ प्रणालीमा तरलता अत्याधिक बढेपछि नेपाल राष्ट्र बैंकले दुई बर्षपछि आउट राइट सेल मौद्रिक औजार प्रयोग गरेको हो। पछिल्लो दुई साता राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको थियो। रिभर्स रिपो सात दिनको मात्र हुने भएकाले यसको अवधि बढाउन बैंकरहरुले माग गरेपछि राष्ट्र बैंकले लामो अवधिको आउट राइट सेल गरेको हो।
नेपाल राष्ट्र बैंकले दुई पटक गरेर १५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो। पहिलो पटक जारी गरिएको पाँच अर्बको रिभर्स रिपोमा २८ बैंक तथा वित्तीय संस्थाले ३० अर्बको आवेदन गरेका थिए। त्यसपछि जारी गरिएको १० अर्बको रिभर्स रिपोमा पनि ३४ अर्ब रुपैयाँको आवेदन परेको थियो।
पहिले नै जारी भइसकेको टे्रजरी विल (सरकारी ऋणपत्र) लाई राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई रिभर्स रिपो नाम दिएर विक्री गर्छ। बजारमा पर्याप्त तरलता भएका बेला रिभर्स रिपो जारि गरिन्छ। यसअघि दुई बर्ष पहिले रिभर्स रिपो जारी गरिएको थियो।
बाणिज्य बैंकहरुसँग निक्षेप बढेको अनुपातमा ऋण लगानी हुन नसकेपछि बजारमा तरलता बृद्धि भएको छ। अनिवार्य तरलता अनुपात (सिआरआर) घटाएपछि त्यो रकम पनि बजारमा आएको छ। डलरको बृद्धिसँगै दसैं तिहार नजिकिएकाले रेमिटेन्स् पठाउने क्रम बढेर तरलतामा बृद्धि भएको छ। 
बाणिज्य बैंकहरुसँग अहिले १० खर्ब २४ अर्ब रुपैयाँ निक्षेप छ। बैंकहरुले सात खर्ब ६० अर्ब रुपैयाँ ऋण लगानी गरिसकेका छन्। तरलता बढी भएपछि बैंकहरुले निक्षेपको ब्याज घटाइरहेका छन्। यही बेला कर्जाको माग नभएका कारण राष्ट्र बैंकले तरलता आफूतिर तान्न मौद्रिक औजारहरु धमाधम जारी गर्न थालेको हो। 
बैशाख तेस्रो साताबाट सरकारी खर्च बढ्न थालेपछि बैंकिङ प्रणालीमा तरलता बृद्धि हुन थालेको थियो। पछिल्लो समय लगानीका लागि ऋणको माग नभएका कारण बैंकहरुसँग पैसा तिरेर ल्याएको निक्षेप बढ्न थालेको छ। महँगोमा लिएको निक्षेप लगानी गर्न नसकेपछि बैंकहरुले यसको ब्याज घटाउन थालेका हुन्। 
निक्षेपको ब्याज घट्न थालेपछि सर्वसाधारणले आफ्नो बचत बैंकिङ प्रणालीबाट झिक्छन्। यस्तो रकम उपभोग तथा अनुत्पादकमूलक क्षेत्रमा खर्च हुने सम्भावना रहन्छ। उपभोगमा खर्च बढ्न थालेपछि यसले मूल्य बृद्धि बढाउँछ। 

No comments:

Post a Comment

thanks for comment