प्यासिफिक, रिलायवल र शुभलक्ष्मी मर्ज हुने

काठमाडौं, असोज २३
प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायवल फाइनान्स र शुभलक्ष्मी फाइनान्स आपसमा गाभिने भएका छन्। सिद्धार्थ फाइनान्स र इम्पेरियल फाइनान्स पनि गाभिने भएका छन्। ६ महिनाभित्र गाभिने गरी यि संस्थाहरुले राष्ट्र बैंकसँग स्वीकृतिका लागि आवेदन दिएका हुन्।
'गाभिन सम्झौता गरेका पाँच वटा संस्थाहरु  सैद्धान्तिक स्वीकृतिका लागि आएका छन्,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले सोमबार नागरिकसँग भने, 'आवश्यक प्रकृया सकेर हामी स्वीकृति दिने छौं।' नेपाल राष्ट्र बैंकले मर्जर सम्वन्धि नीतिगत व्यवस्था गरेपछि अहिलेसम्म ४३ वटा बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभिएर १८ वटा संस्था बनिसकेका छन्। डेढ दर्जन संस्थाले मर्जरका लागि राष्ट्र बैंकको स्वीकृति पर्खेर बसेका छन्। 
प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायवल फाइनान्स र शुभलक्ष्मी फाइनान्स आपसमा गाभिएपछि नयाँ संस्थाको चुक्ता पुँजी ५० करोड १९ लाख रुपैयाँ पुग्ने छ। अहिले सबैभन्दा वढी चुक्ता पुँजी रिलायवल फाइनान्ससँग छ। रिलायवलसँग २४ करोड १९ लाख रुपैयाँ छ। यसपछि शुभलक्ष्मी फाइनान्ससँग २० करोड रुपैयाँ छ। बाँकी ६ करोड प्यासिफिक डेभलपमेन्ट बैंकसँग छ। 
गाभिएपछि यि संस्था राष्ट्रिय स्तरको बाणिज्य बैंक बन्ने छन्। राष्ट्रियस्तरको विकास बैंक बन्न ६४ करोड रुपैयाँ पुँजी चाहिन्छ। नपुग पुँजी यि संस्थाले वोनस सेयर वितरण गरेर पुर्‍याउने जनाएका छन्। गाभिएपछि नयाँ बैंकसँग तीन अर्ब ६० करोड निक्षेप र दुई अर्ब ७८ करोड कर्जा लगानी पुग्ने छ। 
गत आर्थिक बर्ष प्यासिफिकले एक करोड ६३ लाख, रिलायवलले चार करोड ५० लाख र शुभलक्ष्मीले एक करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए। अहिले सबैभन्दा वढी निक्षेप रिलायवल फाइनान्ससँग छ। रिलायवलसँग दुई अर्ब २९ करोड २० लाख रुपैयाँ निक्षेप छ। 
सिद्धार्थ फाइनान्स र इम्पेरियल फाइनान्स मर्ज भएपछि चुक्ता पुँजी ३३ करोड रुपैयाँ पुग्ने छ। अहिले सिद्धार्थ फाइनान्ससँग १८ करोड १० लाख र इम्पेरियलसँग १४ करोड ९७ लाख रुपैयाँ चुक्ता पुँजी छ। मर्जरपछि नयाँ संस्थाको निक्षेप दुई अर्ब रुपैयाँ नाघ्ने छ भने कर्जा पौने दुई अर्बको हाराहारीमा हुने छ। 
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभिने नीति ल्याएपछि मर्जर प्रभावकारी बन्दै गएको हो। गत आर्थिक बर्ष दुई ठूला बाणिज्य बैंक नै गाभिएका थिए। गत बर्ष १० विकास बैंक र १२ वित्त कम्पनी आपसमा गाभिएका थिए। पाँच ग्रामिण विकास बैंकहरु पनि गाभिने चरणमा छन्।
यि संस्थाहरु कुन पुँजी आधारमा गाभिने भनेर सम्पूर्ण सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डिडिए) आएपछि टुङगो लाग्ने छ। सैद्धान्तिक स्वीकृतिको आवेदन दिएसँगै यि संस्थाहरुले डिडिए गराउने जनाएका छन्। नेपाली कम्पनीले नै गर्न लागेको डिडिएपछि सेयर संरचना मिलाइने छ। सैद्धान्तिक स्वीकृति लिएपछि सेयर संरचना मिलाइने छ। त्यसपछि यि संस्थाहरु अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा जाने छन्। 

No comments:

Post a Comment

thanks for comment