दसैंले असोजमा ब्याज उठ्न प्रभावित

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक १०
असोज मसान्तताका दसैंको लामो विदा परेका कारण बैंक तथा वित्तीय संस्थाहरुको कतिपय ऋणको ब्याज र किस्ता उठाउन सकेनन्। एक बर्षको अवधिमा ऋण विस्तार बढेका कारण नाफा भने पोहोरको भन्दा बृद्धि भएको छ।
असोज २५ गतेदेखि दसैं विदा परेकाले बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक केही प्रभावित बनेको हो। ब्याज र किस्ता नउठेका कारण बैंक तथा वित्तीय संस्थाहरुको नोक्शानी व्यवस्था वापतको रकम पनि केही बृद्धि भएको छ।
'दसैंले असोज मसान्तको हरहिसाव (वासलात) प्रभावित भएको छ, ब्याज र किस्ता उठेको छैन,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेलले आइतबार नागरिकसँग भने, 'पुस मसान्तमा हरहिसावमा सुधार आउने छ।' उनले ब्याज दर क्रमशः घट्दै गएकाले ब्याज आम्दानीको बृद्धि दर पनि घटेको जानकारी दिए।

बैंकहरुले गत आर्थिक बर्षको असोज मसान्तमा नाफा ४१ प्रतिशतले बढाएका थिए। एक बर्षको अवधिमा कर्जा बढेका कारण आम्दानीमा बृद्धि भएकाले अलिअली ब्याज नउठेपनि यसपाली नाफा अझ बृद्धि भएको छ।
'दसैंले प्रभावित गरेपनि बैंकहरुले पोहोरको भन्दा बढी नै नाफा गर्ने छन्,' सिटिन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत तथा संघका अध्यक्ष राजनसिंह भन्डारीले भने, 'खवर्ौंको कारोबारमा अलिअलि ब्याज नउठेपनि यसले खासै समस्या हुँदैन।' उनले पोहोरको भन्दा ऋण बढेकाले नाफा प्रभावित नहुने जानकारी दिए।
बैंकरका अनुसार, पोहोर असोजदेखि अहिलेको असोजसम्म गणना गर्दा कर्जामा उल्लेख्य बृद्धि भएपनि चालु आर्थिक बर्ष (साउनदेखि असोज मसान्तसम्म) मा भने खासै बृद्धि भएको छैन। …ब्याज अलिअली उठ्दा पनि पोहोरको भन्दा बढी नै नाफा हुन्छ तर कर्जा विस्तार नभएका कारण आगामी दिनमा भने बृद्धि घट्छ,' एक बैंकरले भने, 'निर्वाचनका कारण ठूलो ऋणहरु नजाने भएकाले पुस मसान्तमा यसको असर प्रत्यक्ष देखिन्छ।'
घरजग्गा ऋणका कारण नाफा प्रभावित हुन्छ भन्ने चर्चा चलिरहँदा बैंकहरुले गत आर्थिक बर्ष ४५ प्रतिशतले नाफा बृद्धि गरेको थिए। गत बर्ष ऋण लगानी ब्यापक रुपमा विस्तार भएका कारण पहिलो त्रैमासमै नाफा ४१ प्रतिशतले बढेको थियो। दोस्रोमा ५० र तेस्रोमा ४५ प्रतिशतले नाफा बढेको थियो। 
…यसपाली निर्वाचनका कारण लगानी गर्न ठिक्क परेकाहरु पनि पछि फर्केका छन्,' ती बैंकरले भने, 'निर्वाचनको परिणाम सोचे अनुरुप (अनुकुल) आएमा लगानी बढ्छ। अनिश्चितता भए यो बर्ष नै प्रभावित हुने खतरा पनि छ।' उनले सरकारी खर्च नबढेका कारण पनि निजी क्षेत्रका लगानीकर्ताले पुँजी लगाउन हच्केर बसेको जानकारी दिए।
चालु आर्थिक बर्ष लागेपछि बैंकहरुले मुस्किले १९ अर्ब रुपैयाँ कर्जा विस्तार गर्न सकेका छन्। घट्दो ब्याज दरमा पनि ऋणको माग नभइरहेका बेला बैंकहरुसँग तरलता (लगानी योग्य पुँजी) भने बढ्दै गएको छ। पैसा तिरेर लिएको निक्षेपले लागत बढाउने भएकाले आगामी दिनमा आम्दानी घट्ने बैंकरको विश्लेषण हो।
'पोहोर परारजस्तो यो बर्षलाई लिन हुन्न, निर्वाचनलगायतका राजनीतिक घटनाक्रम बढेका कारण लगानीकर्ता ढुक्क नभएसम्म ऋण माग्न आउँदैनन्,' ती बैंकरले भने, 'ऋण नगएपछि बैंकले भएकै ऋणलाई चलाउने बाहेक अन्य कारोबार गर्न सक्दैनन्। यसले गर्दा आम्दानी प्रभावित हुन्छ।' 
बैंकहरुले गत आर्थिक बर्ष धमाधम धितो सम्पति लिलाम गरेर पैसा उठाएका थिए। कर्जा–निक्षेप अनुपात साँघुरो भएका कारण बर्षको अन्तिममा बैंकले पुरानो ऋण उठाएर नाफा बढाएका थिए। 'यसपाली खर्च बढेको र लगानी घटेका कारण पोहोरको जस्तो बृद्धि गर्न सकिने अवस्था छैन,' ती बैंकरले भने, 'असोज राम्रो भएपनि पुसको हरहिसाव प्रभावित हुने छ।'

No comments:

Post a Comment

thanks for comment