सस्तो ब्याज भएको बैंकमा ऋण सर्न थाल्यो

सुदर्शन सापकोटा
काठमाडौं, असोज ६
ब्याज दर घट्न थालेपछि महँगो ब्याज तिरिरहेका ग्राहकले सस्तो ब्याज भएको बैंकमा ऋण सार्न (स्वाप) थालेका छन्। पछिल्लो दुई सातायता ग्राहकले एउटा संस्थाको ऋण अर्को संस्थामा सार्ने क्रम बढेको हो। ग्राहकले सस्तो ब्याज भएको बैंकमा ऋण सार्न थालेपछि महँगो ब्याज लिइरहेका बैंकहरुलाई घटाउन दवाव परेको छ।
'सस्तो ब्याज भएको संस्थामा अहिले ग्राहकले ऋण सार्न थालेका छन्,' सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नागरिकसँग भने, 'पहिले अलिअलि ऋण सरेपनि अहिले भने ब्याजका कारण ऋण स्वाप हुन थालेको हो।'
पछिल्लो साता बैंकहरुले दुई अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन्। तर केही बैंकमा भने एक साताअघिको तुलनामा ऋण अझ घटेको छ। घटेको ऋण सस्तो ब्याज भएको बैंकमा सरेको हो। बैंकरका अनुसार, एक सातामा करिव दुई अर्ब रुपैयाँ ऋण एक बैंकबाट अर्कोमा सरेको छ। तरलता बढी भएका बैंकहरुले निक्षेप र कर्जाको ब्याज घटाएपछि महँगोबाट सस्तो बैंकमा ऋण सरेको हो। 
'ऋणको वास्तविक विस्तार भइरहेको छैन, त्यही कारणले भएकै ऋण यता र उता भएको हो,' कमर्ज एन्ड ट्रस्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'साढे सात सय अर्बभन्दा माथि ऋण पुगिसकेको छ। त्यसमध्ये केही अर्ब यताउता हुनु स्वभाविक हो।' उनले नयाँ ऋणको माग नभएको भन्दै कर्जा–निक्षेप अनुपात नै ७५ प्रतिशतभन्दा तल झरिसकेको जानकारी दिए। 

लगानी योग्य पुँजी अत्याधिक बढेपछि अधिकांस बाणिज्य बैंकहरुको कर्जाको ब्याज दर १० प्रतिशतभन्दा तल झारिसकेका छन्। बैंकहरुले पैसा तिरेर उठाएको निक्षेप लगानी हुन नसकेपछि बैंकहरुले खर्च घटाउन ऋणको ब्याज चार बर्षअघिकै हाराहारीमा झारेका हुन्। घट्दो ब्याज दरबाट फाइदा उठाउन ग्राहकले सस्तो ब्याज भएको बैंकमा ऋण सार्न थालेका हुन्।
ऋण सार्न ग्राहकले केही थप खर्च उठाउनु परे पनि ब्याजका कारण दीर्घकालिन लाभ बढी हुन्छ। ग्राहकले नयाँ बैंकमा ऋण सार्दा प्रशासनिक खर्चका साथै केही सेवा शुल्क अतिरित्त तिर्नु पर्छ। ग्राहकले ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म सेवा शुल्क अतिरित्त तिर्नु पर्छ। ऋणको ब्याज १/२ प्रतिशतले नै घट्ने भएकाले यसबाट ग्राहकलाई फाइदा हुन्छ।
बैंकहरुले उपभोक्ता कर्जा, गाडी, घर तथा व्यक्तिगत कर्जाको ऋण घटाएका छन्। यस वाहेक छोटो अवधिको व्यापारिक तथा व्यवसायिक कर्जाको ब्याज पनि घटाएका छन्। गत आर्थिक बर्षको अन्त्यदेखि नै कर्जा विस्तार खासै हुन नसकेर लगानी योग्य पुँजी वढी हुन थालेकाले बैंकलाई ब्याज दर घटाउन दवाव परेको थियो। 
बैंकरका अनुसार, उपभोक्ता कर्जाको तुलनामा ब्यापारिक तथा व्यवसायिक कर्जाहरु ब्याजका कारण एक बैंकबाट अर्को बैंकमा सर्ने गरेको छ। कर्जा सर्न थालेपछि बढी ब्याज असुली रहेका बैंकहरुले …अप्ठेरो परेका बेला ऋण लैजाने सजिलो हुँदा स्वार्थी बन्ने' भन्दै ग्राहकलाई मनौबैज्ञानिक रुपमा तर्साइ पनि रहेका छन्। 'ऋण सार्न गएको ना–नाथरी कुरा गरेर तर्साउन खोज्छन्,' जुस उद्योगका लागि १२ करोड ऋण चलाएका एक ग्राहकले भने, 'ऋण सार्दिन ब्याज घटाइ देउ न त भन्दा चै मान्दैनन्।'
तरलता अत्याधिक बढ्ने तर दसैंको मुखमा पनि ऋणको माग नआउने भएपछि बैंकहरुको पुँजी लागत बढ्न थालेको छ। वढ्दो पुँजी लागतलाई घटाउन ब्याज सस्तो बनाएर लगानी आकर्षित गर्न बैंकहरु प्रतिस्पर्धा गर्न थालेका हुन्। तर केही बैंकको पुरानो निक्षेपका कारण लागत अझै उच्च छ। यस्ता बैंकहरुले ब्याज घटाउन सकेका छैनन्। पुराना र ठूला बैंकले धमाधम ब्याज घटाउन थालेपछि ग्राहकले बढी ब्याज लिने साना र नयाँ बैंकबाट ऋण सार्न थालेका हुन्।

No comments:

Post a Comment

thanks for comment