प्राइममा भियतनामी बैंक संयुक्त लगानीमा आउँदै

सुदर्शन सापकोटा
काठमाडौं, असोज १६
प्राइम कमर्सियल बैंकले संयुक्त लगानी (जोइन्ट भेन्चर) मा भियतनामको बाणिज्य बैंकलाई भित्राउने भएको छ। प्राइमले पुँजी र लगानी कोषसहित बैंकपे भियतनाम नामको बैंकलाई भित्राउन लागेको हो। 
नेपाल भित्राउने बारे अन्तिम छलफल गर्न प्राइमका अधिकारीहरु दसैंलगत्तै भियतनाम जाँदैछन्। तिहारपछि संयुक्त लगानीमा नेपाल आउने बारेमा सैद्धान्तिक सम्झौता हुने छ। दसैं लगत्तै हुने अन्तिम छलफलपछि दुवै पक्षले राष्ट्र बैंकसँग औपचारिक जानकारी गराउने छन्।
'भियतनामी बैंक प्राइममा भित्राउनका लागि अन्तिम चरणको छलफल हुन बाँकी छ,' प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बुधबार नागरिकसँग भने, 'संयुक्त लगानीमा आउँदा बैंकले पुँजीका साथै लगानी कोष पनि लिएर आउने छ।' उनले पुँजी मात्र बृद्धि गर्नु बैंकको उद्देश्य नभएकाले लगानी कोष र व्यवसाय विस्तारको सर्त राखिएको जानकारी दिए। 
'केही सानातिना कुराहरु मिल्न बाँकी छ,' उनले भने, 'पुँजी, लगानी कोष र प्राविधिक सहयोगका बारेमा कुरा मिलिसकेको छ।'  उनले भियतनामी बैंकले प्राइम कमर्सियलको ५१ प्रतिशत सेयर लिने जानकारी दिए। 
बैंक स्रोतका अनुसार, लगानी कोषको रकम सम्झौता लगत्तै नेपाल आउने छ। पहिलो चरणमा पाँच अर्ब रुपैयाँ आउने पक्का छ। आवश्यकता अनुसार यो रकममा पनि बृद्धि हुने स्रोतले जानकारी दियो। 

चुक्ता पुँजी दुई अर्ब ३४ करोड रुपैयाँ रहेको प्राइम कमर्सियल बैंक र बैंकपे भियतनामबीच काठमाडौं र भियतनाममा गरी आधा दर्जन पटक छलफल भइसकेको छ। बैंकपे भियतनाम प्राविधिक समूहसहित नेपालमा लगानी गर्न सहमत भइसकेको छ। प्राइमले १० प्रतिशत वोनस सेयर र पाँच प्रतिशत नगद लाभांस वितरण गर्ने टुङ्गो गरिसकेकाले चुक्ता पुँजी दुई अर्ब ६५ करोड रुपैयाँ पुग्दैछ। भियतनामी बैंक आएपछि पुँजी करिव पाँच अर्ब रुपैयाँ पुग्ने बैंक स्रोतले जानकारी दियो।
अहिलेका कतिपय प्रवर्द्धकहरुले नयाँ बैंक आएपछि सेयर स्वामित्व झिक्नु पर्ने हुँदा उनीहरुलाई केही रकम दिनु पर्नेमा बिषयमा भने छलफल चलिरहेको छ। 'बैंक स्थापना गर्न लगानी गर्ने सेयरधनीहरुलाई राम्रो प्रतिफल नदिइ विदा गर्न मिल्दैन,' बैंक स्रोतले भन्यो, 'प्रवर्द्धकहरुलाई आकर्षक प्रतिफल दिनका लागि भियतनामी बैंकका अधिकारीहरुसँग छलफल चलिरहेको छ।'
प्राइमले पुँजी मात्र लगानी गरेर भित्राउन नसकिने जनाएपछि बैंकपेले व्यवसाय विस्तारका साथै लगानी कोष पनि ल्याउने सहमति जनाइसकेको छ। बैंकपेले १/२ प्रतिशत ब्याजमा पहिलो चरणमा पाँच अर्ब रुपैयाँ लगानी कोष नेपाल ल्याउने छ। 'अहिले एक बर्षे निक्षेपमा दीर्घकालिन लगानी गर्नु पर्ने नेपाली बैंकको वाध्यता छ,' बैंक स्रोतले भन्यो, 'बैंकपेले लगानी कोष ल्यायो भने दीर्घकालिन लगानी गरेर व्यवसाय विस्तार गर्न समस्या हुँदैन।'
भदौ मसान्तसम्म ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको प्राइमले दीर्घकालिन प्रकृतिका जलविद्युत्, पूर्वाधार, ब्यावसायिक कृषि र पर्यटन क्षेत्रमा बैंकपेबाट आउने लगानी कोषको रकम प्रयोग गर्ने छ। 'सस्तो ब्याजमा लगानी कोषको रकम प्रयोग गर्न पाइने हुँदा लगानीकर्ताले पनि राम्रो प्रतिफल पाउँछन्,' बैंक स्रोतले भन्यो, 'उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न पनि सहयोग पुग्छ।'
प्राइमले आफ्नै स्रोतबाट अहिलेसम्म २२ अर्ब रुपैयाँ लगानी गरेको छ। बैंकसँग अझै पनि ८ अर्ब रुपैयाँ तत्काल लगानी गर्ने रकम छ। बैंकपेको प्राविधिक टोलीले नेपालको लगानीका बारेमा अध्ययन गरेपछि बैंकले अहिलेको स्रोत प्रयोग गर्न अझ सजिलो हुने छ। 'लगानी विस्तारका लागि बैंकपे संयुक्त लगानीका रुपमा आए नेपालको बैंकिङ तथा लगानी क्षेत्रलाई निकै फाइदा पुग्ने छ,' मानन्धरले भने, 'लगानी कोष र प्राविधि टोली नै नेपाल आउने भएकाले हामी ५१ प्रतिशत सेयर दिन तयार भएका हौं।'
मानन्धरले बैंकपे बाहेक पनि नेदरल्यान्ड, अस्टे्रलिया र चीनका बैंकहरुसँग संयुक्त लगानीका बारेमा छलफल भएको जानकारी दिए। 'अन्य बैंकसँग छलफल चलेपनि अधिकांस विषय बैंकपेसँग मिलेको छ,' उनले भने, 'दसैंपछि सबै बिषय टुङ्गो लागेपछि तिहार लगत्तै सम्झौता हुने छ।' 

No comments:

Post a Comment

thanks for comment