फेरी ब्याज बढाउँदै बैंक

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक १४- 
दसैं -तिहारका लागि सर्वसाधारणले पैसा झिकेपछि केही तरलता अभाव झेलेका बैंकहरुले आगामी सातादेखि निक्षेपको ब्याज बढाउने भएका छन्। तरलता अभाव भएर अन्तर बैंक ब्याज दरमा ११ प्रतिशतसम्म तिर्नुपर्ने भएपछि बैंकहरु निक्षेप आकर्षित गर्न ब्याज बढाउन लागेका हुन्। 

स्टान्डर्ड चार्टड बैंकले शुक्रबार मात्र सूचना प्रकाशित गरी निक्षेपको ब्याज बढाएको छ।
'आगामी साता हामी निक्षेपको ब्याज दर बढाउँदैछौं,' प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले शनिबार नागरिकसँग भने, 'सुरुमा कल डिपोजिटको ब्याज बढाउँछौं।' एक प्रतिशत विन्दुसम्म ब्याज दर बढाउने तयारी गरेको उनले जानकारी दिए।
निक्षेपको ब्याज दर बढ्दा बचतकर्तालाई फाइदा हुन्छ। निक्षेपको ब्याज बढेको एक डेढ महिनापछि बैंक तथा वित्तीय संस्थाले कर्जाको समेत ब्याज बढाउँदै आएकाले कर्जा लिनेलाई भने यसले फाइदा गर्नेछैन।
जेठ दोस्रो सातादेखि साउन दोस्रो सातासम्म करिव ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेपछि सहज अनुभव गरेका बैंकहरुले निक्षेपको ब्याज घटाएका थिए। खासगरी प्राइम, लक्ष्मी, सिटिजन्स्, हिमालय, नबिल, राष्ट्रिय वाणिज्यलगायत दर्जन बैंकले निक्षेपको ब्याज घटाएका थिए। त्यसबेला ब्याज घटाएकामध्ये केहीले अहिले बढाउन लागेका हुन्।

बैंकरहरुका अनुसार, दसैमा निक्षेप बाहिरिएपछि तरलता अभाव देखिन थालेकाले बैंकहरु ब्याज दर बढाउन बाध्य भएका हुन्। 'दसैले अन्तर बैंक ११ प्रतिशत पुर्‍याइसक्यो, बजेट कहिले आउने भन्ने अझै अनिस्चितता भएकाले अन्तर बैंक अझै उकालो लाग्छ,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'पोहोरजस्तो समस्या आउन नदिन सुरुदेखि नै निक्षेप आकर्षित गर्न लागेका छौं।'

तरलता अभाव लम्बिए बैंकहरुले कर्जा लगानी गर्न सक्दैनन्। गत बर्ष तरलता अभाव हुँदा आर्थिक वर्षको पछिल्लो छ महिना बैंकहरुलाई लगानी गर्न समस्या थियो। 'लगानीमा समस्या आउनु हुँदैन,' अर्का एक बैंकरले भने, 'सरकारी बजेट आउने टुङ्गो नभएकाले महंगैमा भएपनि निक्षेप लिएर लगानी गर्न ब्याज वढाउँदैछौं।' उनको बैंकले साउनमा तरलता सहज भएपछि निक्षेपको ब्याज दर घटाएको थियो।
नागरिकले कुराकानी गरेको बैंकरमध्ये अधिकांसले कल डिपोजिटको ब्याज दर १० प्रतिशत पुर्‍याउँदै छन्। अहिले यसको दर औषद ८ प्रतिशत छ। उनीहरुले सर्वसाधारणलाई एक बर्षे मुद्दतिमा ११ प्रतिशत ब्याज पुर्‍याउन लागेका छन्। अहिले यो दर १० प्रतिशत छ। साथै संस्थागत निक्षेपकर्तालाई १२ प्रतिशत नै दिन लागेका छन्। तरलता सहज हुँदा यो दर साढे १० प्रतिशतमा झरेको थियो।
बैंकहरुले तरलताको चरम अभाव हुँदा १२ प्रतिशत ब्याज सर्वसाधारण र १४ प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई दिएका थिए। गत बर्ष ब्याज बढाउँदा पनि बैंकिङ क्षेत्रले आशातित निक्षेप संकलन गर्न सकेको थिएन।
गत बर्ष यति बेलाको तुलनामा अहिले बैंकको निक्षेप ०.८० प्रतिशतले मात्र वढेको छ। गत शुक्रबारसम्म वाणिज्य बैंकहरुले ६ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। गत बर्ष यति बेला बैंकसँग ६ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप थियो। गत बर्ष पनि दसैपछि देखि नै बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको थियो।
'लगानीको संभावना देखिएन भने पनि अहिलेको निक्षेपलाई अन्तर बैंकमा प्रयोग गर्न सकिन्छ,' एक बैंकरले भने, 'गत बर्षजस्तो फिटफिटीको अवस्थामा पुग्नु पर्दैन।' गत वर्ष बजेट ढिला गरी पास भएकाले बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको थियो।

No comments:

Post a Comment

thanks for comment