दसैंले तरलता अभाव वढायो


- रिपो दर १०.३७ र अन्तरबैंक दर ११ प्रतिशतको हाराहारीमा
- अभाव लम्बिए कर्जा लगानी प्रभावित


सुदर्शन सापकोटा
काठमाडौं कात्तिक १०
दसैताका ठूलो रकम बराबरको निक्षेप बाहिरिएपछि बैंकिङ क्षेत्रमा तरलता लगानी योग्य पुँजी अभाव देखिएको छ । बैंकिङ क्षेत्रबाट करिव १८ अर्ब रुपैयाँ निक्षेप सर्वसाधारणले झिकेकाले तरलता अभाव देखिएको हो ।
'दसैंले गर्दा तरलता अभाव भएको छ,' इन्टरनेसनल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले नागरिकसँग भने, 'निक्षेप फर्किन समय लाग्ने भएकाले अभाव अझ केही साता कायम रहन्छ ।'

तरलता अभाव हुन थालेपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट महंगो ब्याजमा कर्जा लिन थालेका छन् । सरकारी ऋणपत्रको धितो रिपो मार्फत राष्ट्र बैंकबाट दसैअघि तीन अर्ब र गत मंगलबार दुई अर्ब रुपैयाँ लगिसकेका छन् । नयाँ आर्थिक बर्ष सुरुभएपछि तरलता अभाव नखेपेका उनीहरुले यो आर्थिक बर्षमा दुई पटक रिपोमार्फत १०.३७ प्रतिशतको ब्याजमा ऋण लगेका हुन् ।
वढीमा ४५ दिनसम्मका लागि लिन सकिने यो कर्जा बैंक तथा वित्तीय संस्थाले दसैंअघि असोज २७ मा ९.७४ प्रतिशत ब्याज तिरेर लगेका थिए । 'महंगो ब्याज तिरेर दुई पटकमा पाँच अर्व रुपैयाँ बैंकिङ क्षेत्रले लगिसकेको छ,'  राष्ट्र बैंकका एक अधिकारीले भने, 'यसले तरलता अभाव वढ्दै गएको देखाउँछ ।'


असार दोस्रो सातादेखि निक्षेप वढेर सहज अनुभव गरेका बैंक तथा वित्तीय संस्थाले गत असार मसान्तमा रिपोमा ७.१२ प्रतिशत मात्र ब्याज तिरेका थिए ।
बैंकहरुले आपसमा लिने सापटी अन्तर बैंक को ब्याज दर पनि बढेको छ । दसै सुरु हुनु दुई साताअघि देखि वढ्न थालेको अन्तर बैंक दर वुधवार ११ प्रतिशतको हाराहारीमा पुगेको छ । अहिलेको अन्तर बैंक दर आठ महिनायताकै उच्च हो । एक महिनाअघि यस्तो ब्याज दर ३ प्रतिशतको हाराहारीमा थियो ।

तीनबाट ५, ७, ९ प्रतिशत हुँदै ११ को हाराहारीमा पुगेको अन्तर बैंक दर ठूलो अन्तरले असोज १७ गतेबाट बढ्न थालेको हो । बैंकहरु बन्द भएको दिन असोज २६ मा बैंक दर १०.०१ प्रतिशत थियो । दसैपछि खुलेको पहिलो दिन बैंक दर १०.५६ पुगेको थियो । 'बैंक दर पुरानो स्वरुपमा आउन अझै केही साता लाग्छ,' डिसिबिएल बैंकका टे्रजरी विभाग प्रमुख सुशिल मानन्धरले भने, 'दसैमा गएको निक्षेप फर्किन थालेपछि बैंक दरमा सुधार आउँछ ।' उनका अनुसार, दसैमा गएको निक्षेप आएपनि अन्तर बैंक ६ प्रतिशतभन्दा तल जाँदैन । 'बजेट नआइ बैंक दरमा खासै सुधार आउने छैनु,' उनले भने । बैंक दर एक महिनाको अवधिमा ३ प्रतिशतदेखि वढ्न थालेको हो ।
गत बर्ष दसैमा वाहिरिएको निक्षेप नफर्किदा बैंकिङ क्षेत्रमा चरम तरलता अभाव भएको थियो । तरलता अभाव हुँदा केन्द्रीय बैंकका बैंक तथा वित्तीय संस्थाले साढे २२ अर्ब रुपैयाँ रिपोमार्फत लगेका थिए । उनीहरुले स्थायी तरलता सुविधसमेत प्रयोग गरेका थिए ।
'बजेट आउने अझै टुङ्गो नलागेकाले गत बर्षजस्तो यो बर्षपनि तरलता अभाव गहिरिने सम्भावना वढेको छ,' एक बैंकका प्रमुख कार्यकारीले भने, 'गत बर्ष दसैदेखि नै तरलता अभाव सुरु भएको थियो ।' उनका अनुसार, दसैमा गएको पैसा फर्किन तीन महिनासम्म लाग्न सक्नेछ । तरलता अभाव कायम रहे बैंकले कर्जा लगानी गर्न सक्दैनन् ।
गत बर्ष तरलता अभाव हुँदा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सकेका थिएनन् । लगानी गर्न नसक्ने अवस्था आएपछि उनीहरुले कर्जालाई निरुत्साहित गर्न त्यसको ब्याज दर ६ प्रतिशत बिन्दुसम्मले वढाएका थिए । साथै निक्षेप आकर्षित गर्न ब्याज दर वढाउने होडबाजी नै चलेको थियो ।

No comments:

Post a Comment

thanks for comment