दसैँले गति दिन्छ अर्थतन्त्रलाई

काठमाडौं, असोज २९
दसैंको किनमेलले व्यावसायिक कारोबारसँगै देशको आर्थिक गतिविधि पनि ह्वात्तै बढेर जान्छ। 'मुद्रा विस्तारले आर्थिक गतिविधि बढाउँछ,' अर्थशास्त्री चिरञ्जीवी नेपाल भन्छन्, 'दसैंको गतिविधि उपभोक्तामुखी हुने भएकाले खाद्यन्न र उपभोगका सामग्री बजारको आकार बढ्छ।'



 तलब, दसै भत्ता, लाभांश र रेमिटेन्स, बैंक बचत र अन्य आर्थिक स्रोतले गर्दा दसैंमा आर्थिक गतिविधि बढेर मुर्झाएको अर्थतन्त्रलाई कम्तिमा तीन महिनासम्म गति दिने गरेको छ।

राष्ट्र बैंकले दसैंका लागि भनेर २५ अर्ब रुपैयाँ बराबरको नोट बजारमा पठाएको छ। अघिल्लो वर्ष बजारमा भित्रिएको अतिरिक्त ६ अर्ब रुपैयाँले दसैं मनाएका उपभोक्ताले सहज रुपमा नोट पाउन भनेर पैसा छाप्ने जिम्मा लिएको राष्ट्र बैंकले यसपालि आवश्यकभन्दा तीन गुणा बढी नगद बजारमा पठायो।
राष्ट्र बैंकले दसैंका लागि पठाएको २५ मध्ये ११ अर्बका नयाँ नोट थिए। गत वर्षको दसैंमा ६ अर्ब रुपैयाँ बजारमा गएको थियो। योभन्दा अघिको दसैंमा ५ अर्ब रुपैयाँ मात्र बजारमा गएको थियो।
दसैंको असर
दसैंमा उपभोग्य सामग्रीको खपत अरु बेलाभन्दा सत् प्रतिशतले बढ्ने भएकाले आर्थिक गतिविधिलाई मात्र बढाउँदैन उत्पादनमूलक उद्योगको विकास र विस्तार हुन्छ। दसैंका लागि बजारमा आएको पैसामध्ये ८० प्रतिशत उपभोगमा खर्च हुने गरेको छ।
'मुद्राको विस्तारले मूल्यवृद्धि बढाउँछ,' नेपालले भने, 'दसैंमा स्वतः मुद्रा विस्तार हुने भएकाले उपभोग्य सामग्रीको मागमा चाप परेर आयातलाई प्रोस्साहित गर्छ।' गत आर्थिक वर्षको मूल्यवृद्धि साढे १० प्रतिशत थियो।
राष्ट्र बैंकले बजारको मागभन्दा बढी पैसा बजारमा वितरण गर्न लागेको, विश्व आर्थिक मन्दीमा आएको सुधारले कामदारको माग तथा तलब बढेको तथा देशभित्रै पनि ज्याला दरमा वृद्धि भएका कारण सर्वसाधारणसँग खर्च गर्ने स्रोत धेरै छ।
'सबै तरिकाबाट बजारमा अधिक पैसा भित्रिने भएकाले उपभोक्तासँग खर्च गर्नका लागि पर्याप्त पैसा हुन्छ,' उद्योगपति राजेन्द्र खेतानले भने, 'यसले वर्षभरिको खर्चभन्दा दसैं तिहारमा हुने खर्च १५ प्रतिशतले बढेर आर्थिक गतिविधिमा टेवा पुर्‍याउँछ।' उनले दसैं खर्चमुखी चाड भएकाले उपभोग्य सामग्रीको मूल्यवृद्धिमा सघाउ पुग्ने जानकारी दिए।
गत दसैंमा मूल्यवृद्धि ९.३ प्रतिशत थियो। यो दसैंमा मौद्रिक विस्तार गत बवर्षको भन्दा बढी हुने निश्चित भएकाले मूल्यवृद्धि दोहोरो अंकको हुने अर्थशास्त्रीहरुको अनुमान छ। 'दसैंमा मौद्रिक विस्तार बढी हुने भएकाले मूल्यवृद्धि १२ प्रतिशतको हाराहारीमा पुग्छ,' नेपालले भने।
उपभोग्य सामग्री बिक्री गर्ने कम्पनीहरुले पनि यो बेला बढी व्यापार गर्न आकर्षक बिक्री योजना, छुटजस्ता कार्याक्रम ल्याएर नगद विस्तारलाई सहयोग पुर्‍याउँछन्। गत दसैंका बेला मौद्रिक विस्तार ४.६ प्रतिशतले भएको थियो। यो वर्ष थप विस्तार हुने अनुमान गरिएको छ।
कमजोर बजार अनुगमनले दसैंका बेला अखाद्य वस्तुको विक्री, अवैध कारोबार हुने गर्छ। 'अरुबेला विक्री नभएको सामाग्री (स्टक क्लियरेन्स) बिक्री गर्ने समय पनि दसैं हो,' नेपालले भने, 'अखाद्य सामग्री पनि यही बेला बिक्री हुन्छ। बजार अनुगमन संयन्त्र कमजोर भएकाले यस्ता कुराले दसैंमा बढावा पाउँछन्।'
नेपालको उत्पादनले मात्र दसैंको मागलाई सम्बोधन गर्न नसक्ने भएकाले अवैध आयात बढ्छ। दसैंमा मूल्य र माग वढेको अवसर पारेर नाफाखोरीहरुले भारतबाट सामान ल्याएर नेपालमा बिक्री गर्छन्। सीमावर्ती क्षेत्रमा नेपाली उपभोक्ता आफै त्यताबाट आयात गरेर दसैंको आवश्यकता पूरा गर्छन्। 'कानुनी मार्गबाट पनि दसैंमा अरुबेलाभन्दा बढी आयात हुन्छ,' उनले भने, 'अवैध बाटोबाट पनि आयात बढ्छ तर त्यसको हिसाब किताब हुँदैन।'
रेमिटेन्स
अरु बेला दुई महिनामा भित्रिने रेमिटेन्स दसैंताका एकै महिनामा दुई महिना बराबरको भित्रिन्छ। यसले रेमिट्यान्सको वृद्धिदर बढ्छ। रेमिटेन्सका रुपमा भित्रिएको रकममध्ये अधिकांश उपभोगमा खर्च हुने गरेको छ। अहिलेसम्म ३० प्रतिशत जनसंख्यामा रेमिटेन्सको पहुँच पुगिसेको छ। विश्व आर्थिक मन्दीमा आएको सुधारले नेपाली कामदारको माग र तलब दुवै बढेको छ। यसले थप रेमिटेन्स भित्रिने छ।
गत वर्षको दसैंमा रेमिटेन्सको वृद्धि दर ११.१ प्रतिशत थियो।
वैधबाटोबाट त रेमिटेन्स भित्रिन्छ नै अवैध मार्ग हुन्डिबाट पनि रेमिटेन्स दसैंको बेला वढी भित्रिन्छ। 'दसैंताका हुन्डी व्यवसाय मौलाउँछ भने पनि हुन्छ,' अर्थशास्त्री नेपालले भने, 'हुन्डीबाट भित्रिने पैसाको हिसाबकिताब नहुने भएकाले दसैंको वास्तविक अर्थशास्त्र कति हुन्छ भन्न गाह्रो छ।' दसैंमा हुन्डीबाट भित्रिएको रकममध्ये धेरैजसो उपभोगमै खर्च हुने उनले दाबी गरे।
बैंक
दसैंतिहारका बेला निक्षेप घटेर कर्जा बढ्छ। निक्षेप १५ देखि २० अर्ब रुपैयाँसम्म बैंकबाट घट्ने भएकाले तरलता अभाव हुन सक्ने बैंकर्स संघका अध्यक्ष शशीन जोशीले जानकारी दिए। 'दसैंमा नोटको अभाव हुँदैन,' उनले भने, 'दसैंमा गएको निक्षेप भिर्ता आउन एक डेढ महिना लाग्ने भएकाले तरलता अभाव हुन्छ।'
सरकारको पुँजीगत खर्च नगन्य भएका बेला बैंकबाट करिव २० अर्ब जति निक्षेप बाहिरिँदा तरलता अभाव भएर बैंकहरुले आपसमा लिने सापटी (अन्तरबैंक) दर बढ्ने उनले बताए।
उनले कर्जा विस्तारमा भने दसैंले केही सहयोग पुग्ने बताए। 'उपभोक्ता, अधिविकर्ष, वर्किङ क्यापिटललगायत कर्जामा विस्तार हुन्छ,' उनले भने। दसैंको समयमा थप ५ देखि ७ अर्ब रुपैयाँ कर्जा लगानी हुने उनले जानकारी दिए।
सेयर
दसैंमा सेयर बिक्रीको दबाब बढेर बजार थप ओरालो लाग्न सक्ने नेपालले जानकरी दिए। 'दसैं जसरी पनि मान्नु पर्ने सामाजिक बाध्यताले सेयर बजारमा बिक्रीको दबाब बढेर बजार ओरालो लाग्छ सक्छ,' उनले भने।
दसैंमा आफूसँग भएको सेयर बिक्री गरेर चाड मान्नुपर्ने सामाजिक मनोविज्ञानले गर्दा सेयर किन्नेभन्दा बेच्ने बढी हुन्छन्। आपूर्तिअनुसार माग नहुँदा बजार खस्किन्छ।

No comments:

Post a Comment

thanks for comment