आधार ब्याज दर, ६ देखि १२ प्रतिशतसम्म

सुदर्शन सापकोटा, काठमाडौं, माघ ९ - बैंकिङ क्षेत्रको न्यूनतम ब्याज दर साढे ९ प्रतिशत निर्धारण भएको छ। राष्ट्र बैंकले आधार दर (बेस रेट) कार्यान्वयनमा ल्याएपछि वाणिज्य बैंकहरुको औसत न्यूनतम ब्याज दर साढे नौ प्रतिशत कायम भएको हो। आधार दर तोकिएपछि सर्वसाधारण ग्राहकले बैंकबाट प्रतिस्पर्धी दरमा ऋण पाउने छन्। बैंकहरुले न्यूनतम ब्याज तोक्ने भएकाले ग्राहकले योभन्दा बढी तिर्दिन भनेर मोलमोलाइ गर्न पाउनेछन्। बैंकरका अनुसार बैंकहरुको आकार र उसको क्षमताअनुसार आधार दर ७ देखि ११ प्रतिशतको हाराहारीमा रहन्छ। महँगोमा निक्षेप उठाइरहेका बैंकहरुको लागत बढी भएर उनीहरुको आधार दर माथि हुन्छ। पुराना र ठूला बैंकले सस्तोमा नै निक्षेप उठाइरहेकाले आधार दर कम छ।
स्ट्यान्डर्ड चार्टर्ड, नबिल, नेपाल इन्भेस्टमेन्टको आधार दर साढे सात प्रतिशतको हाराहारीमा छ। हिमालयन, बैंक अफ काठमाण्डू (बिओके) एभरेष्ट, एनआइसी, नेपाल एसबिआई बैंकको आधार दर ८ प्रतिशतभन्दा माथि छ। यसपछि आएका बैंक अधिकांस बैंकहरुको ११ प्रतिशतभन्दा तल आधार दर छ।
किस्ट बैंकले भने ११ प्रतिशत कटाएको छ। नयाँ आएको मेगा बैंक नेपालले निक्षेपको ब्याजमा व्यापक कटौती गरेका कारण आधार दर ८.९ प्रतिशत छ। बैंकहरुले पुँजी लागतमा सबै खर्च कटाएर निश्चित प्रतिशत नाफा जोडेपछि ऋणको न्युनतम ब्याज तोकेका हुन्।
पुराना बैंकहरुले आफ्नो साख (क्रेडिबिलिटी) को फाइदा उठाउँदै सस्तोमा निक्षेप उठाउँछन्। तर, नयाँ बैकहरुको साख बजारमा स्थापित नभइसकेकाले महँगोमा निक्षेप उठाउनुपर्छ। यसले गर्दा पुरानाको भन्दा नयाँ बैंकको आधार दर बढी भएको हो।
पुरानो बैंक नबिलको आधार दर ७.२६ प्रतिशत छ। स्ट्यान्डर्ड चार्टर्डको योभन्दा अझ कम छ। हिमालयन बैंकको ८.३ प्रतिशत, बैंक अफ काठमाण्डूको ८.२९ प्रतिशत आधार ब्याज दर छ।
सिटिजन्स्को ९.५ प्रतिशत, ग्रान्ड बैंक नेपालको १०.४९ प्रतिशत र कमर्ज एन्ड ट्रस्टको १०.१४ प्रतिशत आधार दर छ। सरकारी बैंकहरु कृषि विकास, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर नौ प्रतिशतको हाराहारीमा छ।
'न्युनतम दरका कारण ग्राहकले बैंकबाट सहज र प्रतिस्पर्धी ब्याजमा ऋण पाउनेछन्,' बैंकर्स संघका पूर्वअध्यक्ष तथा हिमालनय बैंकका प्रमुख कार्यकारी अधिकृत र अशोक राणाले भने।
ब्याज निर्धारण पारदर्शी भएर ग्राहकले सस्तोमा ऋण पाउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले आधार दर कार्यान्वयनमा ल्याएको हो। बैंकहरु आफ्नो सम्पूर्ण लागत घटाएर त्यसमा नाफा जोडेपछि ग्राहकले तिर्नुपर्ने न्यूनतम ब्याज तोक्छन्।
बैंकहरुले आधार दर गणना राष्ट्र बैंकले उपलब्ध गराएको सूत्र (फर्मुला) का अधारमा निस्कासन गर्नुपर्छ। ब्याजदर उतारचढाव भएको विशेष परिस्थितिमा आधार दरको गणना नियमित रुपमा हुँदा मुद्रा बजारको वस्तुस्थितिअनुसार व्याजदर निर्धारण गर्न सहज हुने भन्दै राष्ट्र बैंकले कार्यान्वयमा ल्याएको हो।
'बैंकहरुले आधार दरमा नै ऋण उपलब्ध गराउनुपर्छ भन्ने छैन। उनीहरुले जोखिम मूल्यांकन गरेर आधार दरभन्दा केही माथि लगानी गर्न पाउँछन्,' बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले भने, 'आधार दरमा ऋण दिने भन्ने होइन। योभन्दा माथि ब्याज तोकिन्छ।'
राष्ट्र बैंकले आधार ब्याज दर कोष लागत, अनिवार्य मौज्दात, वैधानिक तरलता लागत, सञ्चालन लागत सम्पत्ति प्रतिफल जाडेर निकाल्न निर्देशन दिएको छ। बैंकहरुले आफ्ना सम्पूर्ण खर्चहरु कटाएर त्यसमा शून्य दशमलव ७५ प्रतिशत नाफा जोडेर न्यूनतम व्याज निकाल्नुपर्छ।
'आधार दरले ग्राहकहरुलाई ब्याजको मूल्यांकन गरेर बैंकमा ऋण लिन सहयोग गर्ने छ,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'बैंकहरुलाई पुँजी लागत घटाउन प्रतिस्पर्धा हुनेछ।'
नेपालका बैंकहरुका लागि आधार ब्याज दर नौलो अवधारणा हो। भारतले पनि केही वर्षअघि मात्र आधार दर लागु गरेको हो। अघिल्लो महिनाको वित्तीय विवरण र तथ्यांकका आधारमा बैंकहरुले आधार दर गणना गर्छन्।

No comments:

Post a Comment

thanks for comment