बैंक आधार दर ६–१२ प्रतिशतसम्म, कम चार्टर्डको, बढी कृषि बैंकको

सुदर्शन सापकोटा
काठमाडौं, माघ २८
ऋण लिँदै हुनु हुन्छ भने आधार ब्याज दर कम भएको बैंकमा जानु होला। सम्पूर्ण खर्च कटाइ त्यसमा नाफासमेत जोडेर आधार दर निकालिने भएकाले योभन्दा वढी तिर्दिन भनेर मोलमोलाइ गरे सस्तैमा ऋण पाइनेछ।
'ग्राहकले प्रतिस्पर्धि ब्याजमा ऋण पाउन् भन्ने उद्देश्यले आधार दर कार्यान्वयनमा ल्याएकोे हो,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले आइतबार नागरिकसँग भने, 'ऋणको जोखिम मूल्यांकन गरेर बैंकहरुले आधार दरभन्दा माथिमा लगानी गर्छन्। ग्राहकले मोलमोलाइ गरेमा सस्तोमै ऋण पाउँछन्।'
सञ्चालनमा रहेका ३२ मध्ये २६ वटा बैंकले आधार दर निर्धारण गरिसकेका छन्। नौं वटा वाणिज्य बैंकको आधार दर ९ प्रतिशतभन्दा कम छ। सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ६.८ प्रतिशत छ।
सबैभन्दा वढी आधार दर कृषि विकास बैंकको छ। बैंकले १२.३९ प्रतिशत आधार दर तोकेको छ। नयाँ आएको सेन्चुरी कमर्सियल बैंकको आधार दर ११.०७ प्रतिशत छ। कृषि र सेन्चुरीसहित १० वाणिज्य बैंकको आधार दर १० प्रतिशतभन्दा माथि छ। ९ प्रतिशतको बीचमा ८ वटा वाणिज्य बैंकको आधार दर छ।
स्ट्यान्डर्ड चार्टर्डपछि एभरेष्ट, नबिल, हिमालयन, बैंक अफ काठमाण्डू, मेगा, नेपाल एसबिआइ र सिटिजन्स् बैंकको आधार दर ९ प्रतिशतभन्दा  तल छ। कम आधार दर भएको बैंकमा ऋण लिँदा मोलमोलाइ गरे सस्तोमा ऋण पाइन्छ। आधार दर कम भएपनि कतिपय बैंकले ऋणको ब्याज उच्च राखेका छन्।
महँगोमा निक्षेप उठाइरहेका बैंकहरुको पुँजी लागत वढी भएकाले उनीहरुको आधार दर उच्च छ। पुराना र ठूला बैंकले सस्तोमा नै निक्षेप उठाइरहेकाले आधार दर  कम छ। कतिपय नयाँ बैंकहरुले पनि निक्षेपको ब्याज घटाएका कारण लागत कम भएर आधार  दर तल आएको छ।
पुराना बैंकहरुले आफ्नो साख (क्रेडिविलिटी) को फाइदा उठाउँदै सस्तोमा निक्षेप उठाउँछन्। तर, नयाँ बैकहरुको साख बजारमा स्थापित नभइसकेकाले महँगोमा निक्षेप उठाउनु पर्छ। यसले गर्दा पुरानाको भन्दा नयाँ बैंकको आधार दर वढी भएको हो।
पुरानो बैंक नबिलको आधार दर ७.२६ प्रतिशत छ। हिमालयन बैंकको ८.२३ प्रतिशत, बैंक अफ काठमाण्डूको ८.२९ प्रतिशत आधार ब्याज दर छ। 
सिटिजन्स्को ८.९२ प्रतिशत, ग्रान्ड बैंक नेपालको १०.४९ प्रतिशत र कमर्ज एन्ड ट्रस्टको १०.१४ प्रतिशत आधार दर रहेको छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर नौं प्रतिशतको हाराहारीमा छ।
'बैंकहरुले आधार दरमा नै ऋण उपलब्ध गराउनु पर्छ भन्ने छैन। उनीहरुले जोखिम मूल्यांकन गरेर आधार दरभन्दा केही माथि लगानी गर्न पाउँछन्,' बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले भने, 'आधार दरमा ऋण दिने भन्ने होइन। योभन्दा माथि व्याज तोकिन्छ।'
लक्ष्मी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र कुमारी बैंकले आधार दर औपचारिक रुपमा सार्वजनिक गरिसकेका छैनन्। उनीहरुले राष्ट्र बैंकलाई भने आफ्ना दर पठाइ सकेका छन्।
व्याज निर्धारण पारदर्शी भएर ग्राहकले सस्तोमा ऋण पाउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले आधार दर कार्यान्वयनमा ल्याएको हो। आधार दरलाई बैंकहरुले 'रिफरेन्स' का रुपमा लिएर लगानी गर्छन्। 
बैंकहरुले आधार दर गणना राष्ट्र बैंकले उपलब्ध गराएको शुत्र (फर्मुला) का अधारमा निस्कासन गर्नु पर्छ। व्याजदर उतारचढाव भएको विशेष परिस्थितिमा आधार दरको गणना नियमित रुपमा हुँदा मुद्रा बजारको वस्तुस्थिति अनुसार व्याजदर निर्धारण गर्न सहज हुने भन्दै राष्ट्र बैंकले कार्यान्वयमा ल्याएको हो।
'न्युनतम दरका कारण ग्राहकले बैंकबाट सहज र प्रतिस्पर्धि व्याजमा ऋण पाउने छन्,' बैंकर्स संघका पूर्वअध्यक्ष तथा हिमालनय बैंकका प्रमुख कार्यकारी अधिकृत र अशोक राणाले भने।
राष्ट्र बैंकले आधार व्याज दर कोष लागत, अनिवार्य मौज्दात, वैधानिक तरलता लागत, सञ्चालन लागत  सम्पति प्रतिफल जाडेर निकाल्न निर्देशन दिएको  छ। बैंकहरुले आफ्ना सम्पूर्ण खर्चहरु कटाएर त्यसमा शुन्य दशमलव ७५ प्रतिशत नाफा जोडेर न्युनतम व्याज निकाल्नु पर्छ। 
नेपालका बैंकहरुका लागि आधार व्याज दर नौलो अवधारणा हो। भारतले पनि केही वर्षअघि मात्र आधार दर लागू गरेको हो। अघिल्लो महिनाको वित्तीय विवरण  र तथ्यांकका आधारमा बैंकहरुले आधार दर गणना गर्छन्।

No comments:

Post a Comment

thanks for comment