फेरी तरलता अभावको संकेत

सुदर्शन सापकोटा
काठमाडौं, माघ २४
ऋण विस्तारको अनुपातमा निक्षेप संकलन नभएपछि वित्तीय प्रणालीमा फेरी तरलता अभावको संकेत देखिएको छ। रेमिट्यान्सको वृद्धि दर घटेको र शोधनान्तर बचतमा उच्च गिरावट आएकोक छ। यसले गर्दा बचत संकलनमा कमी भएर तरलता अभावको संकेत देखिएको छ।
अभावको संकेत देखिएपछि वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले सरकारी ऋणपत्रको धितो (रिपो) मा नगद उपलब्ध गराउन राष्ट्र बैंकसँग आग्रह गर्ने भएको छ। संघका सबै सदस्य बैंकबीच रिपो नियमितका लागि राष्ट्र बैंकसँग औपचारिक आग्रह गर्न छलफल भइसकेको छ। 
'तरलता अभावको संकेत देखिन थालेकाले बेलैदेखि रिपो जारी गर्न आग्रह गर्दैछौं,' संघका एक सदस्य बैंकरले भने, 'सरकारी कोषमा बचत जम्मा भएकाले अभाव देखिन थालेको हो।' सरकारी खर्च हुन थालेपछि भने तरलता फेरी बजारमा आउने ती बैंकरले जानकारी दिए।
पुस मसान्तसम्मको तथ्यांक हेर्दा सरकारी कोषमा गत वर्ष १३ अर्ब ८ करोड बचत भएकोमा यसपाली यो ४३ अर्ब ६१ करोड पुगेको छ। शोधनान्तर बचत १ अर्ब ६० करोडमा आएको छ। अघिल्लो पुसमा यो ६६ अर्ब ७१ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिट्यान्स) को वृद्धि दरसमेत घटेको छ। ३७.९ प्रतिशतको रेमिट्यान्स् वृद्धि दर घटेर २२.७ प्रतिशतमा झरेको छ। मंसिरसम्म कुल १६३ अर्ब ४९ करोड रेमिट्यान्स् भित्रिएको छ।
वित्तीय क्षेत्रमा संकलन भएको निक्षेपको वृद्धि दर समेत घटेको छ। वित्तीय क्षेत्रको अघिल्लो पुससम्म ९७ अर्ब ३० करोडले निक्षेप वढेको थियो। यसपाली जम्मा ७० अर्ब ८३ करोडले वढेको छ। यही अवधिमा बैंकहरुको कर्जा लगानी भने व्यापक विस्तार भएको छ।
वाणिज्य बैंकहरुको कर्जा ७२ अर्बले वृद्धि भएको छ। अघिल्लो वर्ष जम्मा    ३२ अर्ब २६ करोड वृद्धि भएको थियो।
'एकातिर निक्षेप वृद्धि हुने स्रोतहरु खुम्चिएको छ भने अर्कोतिर व्यापक रुपमा कर्जा विस्तार भएको छ,' ती बैंकरले भने, 'यसले गर्दा तरलता विस्तारै अभाव हुन थालेको छ। वेलैदेखि यसलाई शंवोधन गर्न आवश्यक छ।'
पछिल्लो समय बैंकहरुले आपसमा दिने सापटी (अन्तर बैंक) दरसँगै कारोबार रकममा पनि वृद्धि हुन थालेको छ। लामो समय ०.५० प्रतिशतमा कारोबार हुँदै आएको अन्तर बैंक सापटी तीन सातायता २.२५ प्रतिशतमा कारोबार हुन थालेको हो। पुस मसान्तको वरिपरी अन्तर बैंक कारोबार ४ प्रतिशतसम्म भएको थियो। कारोबार रकम ५० करोडबाट वढेर दैनिक ४ अर्ब पुगेको छ।
'केही सातायता कारोबार र सापटी दर दुवै वढेको छ,' ग्रान्ड बैंक नेपालका टे्रजरी विभाग प्रमुख सुशिल मानन्धरले भने, 'यसले विस्तारै तरलताको कमी हुन थालेको जनाउ दिन्छ।' उनले दैनिक २/३ वटा बैंकले सापटी कारोबार गर्नेमा अहिले वढेर १२/१३ बैंकको दैनिक कारोबार हुन थालेको जानकारी दिए।
राष्ट्र बैंकमा रहने वाणिज्य बैंकहरुको कुल बचत रकमसमेत घटेको  छ। निक्षेप रकम वढेको अनुपातमा राष्ट्र बैंकमा रहने बचतमा पनि वृद्धि हुनु पर्छ। तर, यो रकम ५१ अर्ब ६६ करोडमा झरेको छ। अघिल्लो पुसमा यस्तो बचत  ६४ अर्ब ४ करोड रुपैयाँ थियो।


वित्तीय अवस्था (रु.अर्बमा)
विवरण                                            चालु बर्षको पुस मसान्त                       अघिल्लो वर्षको पुस मसान्त
सरकारी बचत                                           ४३.६१                                                         १३.०८
वित्तीय प्रणालीमा बढेको निक्षेप                  ७०.८३                                                         ९७.३०
राष्ट्र बैंकमा वाणिज्य बैंकको बचत              ५१.६६                                                             ६४.०४
बाणिज्य बैंकको कर्जा वृद्धि                           ७२                                                              ३२.२६
रेमिट्यान्स                                     १६३.४९ (मंसिरसम्मको)                                            १६२.३७
शोधनान्तर बचत                             १.६ (मंसिरसम्मको)                                                     ६६.७१

No comments:

Post a Comment

thanks for comment