बंगलादेश बैंकबाट एनबी ग्रुपको बर्चस्व हट्यो, ३८ लाख कित्ता सेयर २ सय ६० रुपैयाँका दरले विक्री

सुदर्शन सापकोटा
काठमाडौं, माघ २३
नेपाल बंगलादेश बैंकमा रहेको एनबी समुहको प्रवर्द्धक सेयर बंगलादेशी साझेदारले खरिद गरेको छ। प्रति कित्ता २ सय ६० रुपैयाँका दरले सेयर खरिद गर्न दुवै समूहबीच बंगलादेशको राजधानी ढाकामा वुधबार औपचारिक सम्झौता भएको छ।
बंगलादेशी साझेदार आइएफआइसी बैंकले समूहको ३८ लाख ३ हजार ४ सय ३४ किक्ता सेयर खरिद गरेको हो। सेयर खरिदबाट एनबी समूहलाई ९८ करोड ८८ लाख ९२ हजार ८ सय ४० रुपैयाँ प्राप्त भएको छ।
'बैंकबाट समूहको एकाधिकार हटाउन सेयर विक्रीको स्वीकृति दिएका थियौं,' राष्ट्र बैंक स्रोतले भन्यो, …अब केही सेयर वाँकी छ। ऋण चुक्ता गर्न नपुगे वाँकी सेयर पनि प्रकृया पुर्‍याइ विक्री गराएर ऋण तिर्न लगाइने छ।' सेयर विक्रीबाट आएको रकमले एनबी बैंक र नबिल बैंकको ऋण चुक्ता गर्न पुग्छ।
राष्ट्र बैंक स्रोतका अनुसार, समूहले एनबी बैंकबाट विभिन्न व्यक्ति तथा कम्पनीको नाममा लिएको करिव ६० करोड रुपैयाँ ऋण तिर्न वाँकी छ। श्रीलंका मर्चेन्टसँग जोडिएको ३८ करोडसहित ६० करोड तिर्न वाँकी हो। नबिल बैंकको २० करोड रुपैयाँ ऋण पनि तिर्न वाँकी छ। समूहले एनसिसी बैंकलगायत अन्य वित्तीय संस्थाहरुबाट पनि ऋण चलाएको छ।
विक्रीअघि एनबी समूहको बैंकमा विभिन्न कम्पनीको नाममा ६० लाख कित्ता सेयर थियो । अब समूहसँग अझै २२ लाख किक्ता सेयर वाँकी छ।
सेयर खरिद–विक्री सम्झौतामा एनबी समूहका प्रबन्ध निर्देशक लक्ष्मीवहादुर श्रेष्ठ र आइएफआइसी बैंकका प्रबन्ध निर्देशक एम शाह आलम सरवाले हस्ताक्षर गरेका छन्।
सञ्चालक समितिबाट हटेको एक वर्षसम्म सेयर विक्री गर्न नपाइने कानुनी व्यवस्थाका कारण वाँकी सेयर एनबी समूहसँगै छ। समूहका सदस्य केही महिना अघिसम्म एनबी बैंककै सञ्चालक थिए। ऋण भुक्तानी नगरेको भन्दै नबिल बैंकको सिफारिसमा समूहका सबै सदस्य कर्जा सुचना केन्द्रको कालोसुचीमा परेपछि तीन महिनाघि सञ्चालकबाट हटेका थिए।
आइएफआइसीले एनबी बैंकको अर्को साझेदार बैंक एसिया ढाकाको सेयरसमेत खरिद गरेको छ। बैंक एसियाको २६ लाख ६७ हजार ५ सय कित्ता सेयर खरिद गरेको हो। सेयर विक्रीसँगै बैंक एसिया एनबी बैंकबाट पूर्ण रुपमा वाहिरिको छ।
एनबी समूह र बैंक एसियाको गरी आइएफआइसीले ३२.४० प्रतिशत सेयर खरिद गरेको छ। ९.१८ प्रतिशत सेयर वोकेर बसेको आइएफआइसीसँग अब ४१.१८ प्रतिशत सेयर पुगेको छ। बैंक एसियासँग १३.७७ प्रतिशत सेयर थियो।
सम्झौतासँगै आइएफआइसीले राष्ट्र बैंकसँग मंगलबार अन्तिम स्वीकृति माग गरेको छ। १८ वर्षअघि खुलेको बैंकले सेयर खरिद सम्झौता बारेमा कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई मंगलबार जानकारी गराएको छ। 
एनबी बैंकमा आइएफआइसीका तर्फबाट मोहम्मद लुत्फर रहमानले प्रतिनिधित्व गरेका छन्। उनी अहिले बैंकको सञ्चालक समिति अध्यक्ष पनि हुन्। बैंक एसियाका तर्फबाट इरफानुद्दिन एहेमद सञ्चालक छन्। वाँकी चार जना नेपाली सञ्चालक छन्।
कालोसुचीमा परेका श्रेष्ठलाई बैंकिङ कसुर गरेको अभियोगमा प्रहरीले अनुसन्धानका लागि खोजिगरिरहेको छ। प्रहरीले उनलाई फरार सुचीमा राखेको छ। 
समूहले आफ्नो सेयर धितो राखेर विभिन्न व्यक्ति तथा संस्थाको नाममा श्रीलंका मर्चेन्टबाट ऋण चलाएको थियो। एनबी बैंकसँग मर्जर स्वीकृति पाएपछि अनियमित तवरबाट सेयर धितोमा ऋण उपलब्ध गराइएको थियो। ऋण दूरुपयोग गरेको भन्दै श्रीलंका मर्चेन्टका तत्कालिन कार्यकारी अध्यक्ष रुवी जोशी, सञ्चालकहरु श्रीराम लामिछाने र गौरीशंकर चौधरी प्रहरी हिरासतमा छन्। 
बैंकमा एनबी समुहका लक्ष्मीवहादुर श्रेष्ठको प्रत्यक्ष ३.५ प्रतिशत र जितवहादुर श्रेष्ठको ३.३ प्रतिशत सेयर छ। जितवहादुरका छोरा जेन श्रेष्ठको ०.६९ प्रतिशत सेयर छ। उनीहरु तीनै जना कालोसुचीमा छन्। सञ्चालक समितिमा प्रतिनिधित्व गरेको सेयर त्यहाँबाट हटेको एक वर्ष नपुगेकाले विक्री नगरिएको हो।
एनबी समूहले ऋण दूरुपयोग गरेर संस्था धरायसी भएपछि करिव १० वर्षअघि राष्ट्र बैंकले बंगलादेश बैंकको व्यवस्थापन जिम्मा लिएको थियो। समूहले केही ऋण भुक्तानी गरेपछि २०६६ माघ १  गते राष्ट्र बैंकले व्यवस्थापन हस्तान्तरण गरेको थियो। त्यतिखेर लिएको ऋण अझै भुक्तानी भएको छैन।
वित्तीय क्षेत्रमा बद्नाम एनबी समूहको झल्को दिने नाम भएकाले यसलाई परिवर्तन गर्ने तयारीमा सञ्चालक समिति छ। बैंकको साधारणसभाले नाम परिवर्तन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजना गरिसकेको छ।
एनबी समुहसँग आवद्ध भएका कुनै पनि कम्पनीको अवस्था राम्रो छैन। उनीहरुले हात हालेको सबै क्षेत्रमा आर्थिक वेथितिहरु भेटिने गरेको छ। एनबी समुहकै वद्मासिका कारण केही वर्षअघि बंगलादेश बैंक समस्यामा परेको थियो।
चलिरहेको हरिसिद्धि इटा टायल उद्योग एनबी समुहको हातमा गएपछि बन्द भएको थियो। एनबी समुहको सेयर रहेको नेसनल हाइड्रो पावर कम्पनीको अवस्थामा पनि नाजुक छ। एनबी इन्स्योरेन्समा आर्थिक अनियमितता भेटिएपछि बिमा समितिले केही महिनाअघि कारवाहीसमेत गरेको थियो।
'एनबी समुहले हात हाल्ने वित्तिकै कम्पनी विग्रियो भनेर वुझे हुन्छ,' यो समुहसँग नजिक भएर काम गरेका एक जानकारले भने, 'उसको हातमा रहेको कुनै पनि कम्पनीको अवस्था राम्रो छैन। आर्थिक अनियमितता धेरै हुने गरेको छ।'
समूहले गरेको आर्थिक अनियमितताका घटनाहरु सार्वजनिक हुन थालेपछि उसले केही महिनाअघि प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक अवस्था मजवुत भएको जनाएको थियो। आर्थिक अवस्था मजबुत भएको जनाउ आइरहेकै बेला बैंक तथा वित्तीय संस्थाहरुले ऋण भुक्तानी गर्न सार्वजनिक आह्वान गरिरहेका थिए।

No comments:

Post a Comment

thanks for comment