बैंकलाई विदेशमा कार्यालय खोल्न खुकुलो


काठमाडौं, माघ १७
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशमा सम्पर्क कार्यालय खोल्न छुट दिएको छ। एक वर्षदेखि पुँजी कोष ११ प्रतिशतभन्दा माथि कायम गरिरहेका बैंकहरुले राष्ट्र बैंकको स्वीकृति लिएर शाखा खोल्न  पाउने छन्।
पछिल्लो समय रेमिट्यान्सको कारोबार गर्ने बैंकहरुले विदेशमा सम्पर्क कार्यालय खोल्न माग गर्दै आएका थिए। खासगरी  ग्लोबल आइएमइ, हिमालयन, नबिललगायतका बैंकहरुले शाखा तथा सम्पर्क कार्यालय खोल्नलाई नीतिगत सुविधा दिन माग गर्दै आएका थिए।
बैंकहरुले दैनिक प्रयोजनका लागि १० प्रतिशत पुँजी कोष अनुपात कायम गरे पुग्छ। नगद लाभांस वितरणमा ११ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। अहिले विदेशमा सम्पर्क कार्यालय खोल्नलाई पनि अतिरिक्त पुँजी कोषको व्यवस्था गरेको हो।
कार्यालय विस्तारका लागि २ अर्ब चुक्ता पुँजी अनिवार्य गरिएको छ। २ अर्ब पुँजी नपुर्‍याइ जगेडा कोष मजबुत राख्ने बैंकहरुले सम्पर्क कार्यालय खोल्न पाउने छैन। कार्यालय खोल्न तीन वर्षदेखि निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम हुनु पर्ने सर्त राखिएको छ।
शाखा खोल्ने  बैंकका संचालकलाई राष्ट्र बैंकले कुनै कारवाही गरिएको भए त्यस्तो कारवाही भएको ६ महिना पूरा भइसकेको हुनु पर्ने सर्त राखिएको छ। कार्यालय खोल्न सम्बन्धित देशको नियामक निकायको नीतिगत व्यवस्था र त्यसको पालना गर्न सक्ने सम्बन्धमा बैंकको तर्फबाट गरिएको स्वघोषणा अनिवार्य गरिएको छ।
कार्यालय खोल्न बैंकले संभाव्यता अध्ययन प्रतिवेदन र विगत ३ वर्षको वार्षिक वित्तीय विवरण प्रस्तुत गर्नु पर्ने हुन्छ। राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको ६ महिनाभित्र कार्यालय खोलिसक्नु पर्ने हुन्छ।

No comments:

Post a Comment

thanks for comment