ब्याज घटेपछि आवासिय घरजग्गाको ऋण वढ्यो

सुदर्शन साकोटा
काठमाडौं, फागुन १३
वाणिज्य बैंकहरुले व्यक्तिगत आवास र आम्दानी गराउने व्यवसायिक कम्प्लेक्सको ऋण लगानी विस्तार गरेका छन्। प्लटिङ तथा हाउजिङ अपार्टमेन्ट तफको ऋण लगानी भने घटेको छ।
राष्ट्र बैंकले रियलस्टेट कर्जा लगानीमा कडाइ गरेसँगै तीन वर्षयता मन्दी छाएको यो क्षेत्रमा विस्तारै व्यक्तिगत आवासलगायतका कारोबार वढ्न थालेको हो। बैंकहरुका अनुसार, एक वर्षमा एक करोड रुपैयाँभन्दा कमका आवासीय कर्जा २० प्रतिशतले वढेको छ।
बैंकहरुको तरलता (लगानी योग्य पुँजी) वढेपछि ब्याज दर घटाएका कारणले पनि आवासीय कर्जाको माग वढि भएको हो। व्याज दरमा आएको कमीका कारण लामो समय मन्दी छाएको रियलस्टेट कारोबारमा क्रमिक सुधार देखिएको छ।

'व्याज दर घटेका कारण सानो आकारको आवासिय घर कर्जा वढेको छ,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'बैंकहरुले पनि यस्तो कर्जालाई वढावा दिइरहेका छन्।'  ब्याज दर घट्न थालेपछि बैंकहरुले एक करोडभन्दा कम मूल्यका घरजग्गा कर्जाको लागि विशेष ऋण योजना नै ल्याएका छन्।
८ प्रतिशतमा लिएको ऋण १६ प्रतिशतसम्म पुगेपछि बैंकको व्यवहारबाट निरास भएका ग्राहकलाई लक्षित गर्दै बैंकहरुले ब्याज दर केही समय परिवर्तन नहुने गरी ऋण योजनासमेत ल्याए।
बैंकहरुले आवासिय घरजग्गाका लागि अन्यभन्दा सस्तो ब्याजमा ऋण दिएका कारण पनि यो क्षेत्रमा लगानी विस्तार भएको हो। अहिले बैंकहरुले १० प्रतिशतमै घरजग्गामा ऋण दिन थालेका छन्।
बैंकहरुको प्लटिङ, हाउजिङ तथा अपार्टमेन्टलगायतको हिस्सा वढी भएकाले कुल रियलस्टेट कर्जा भने घटेको छ। यो कर्जा अघिल्लो पुसको तुलनामा ४ प्रतिशतले घटेर ६६ अर्ब ६३ करोडमा आएको छ। एक करोडभन्दा माथिका व्यक्तिगत आवासिय घरहरु, हाउजिङ तथा अपार्टमेन्टजस्ता कर्जा पनि घटेर ६ अर्ब ७३ करोडमा आएको छ।
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकमध्ये सनराइज्, प्राइम कमर्सियल, लक्ष्मी, नेपाल एसबिआइ र नेपाल बैंकको वाहेक सबैको एक करोडभन्दा कम मूल्यका आवासिय घरजग्गा कर्जा वढेको छ। आम्दानी जोगाड गर्ने व्यवसायिक कर्जा पनि नेपाल बैंक, नबिल, नेपाल इन्भेष्टमेन्ट, नेपाल बंगलादेश बैंक, एभरेष्ट, लुम्बिनी, लक्ष्मी, सिद्धार्थ, ग्लोबल आइएमइ, प्राइम, बैंक अफ एसिया, जनता  र सेन्चुरी कमर्सियल बैंकको मात्र घटेको छ।
कुल रियलस्टेट कर्जा भने सिभिल, कमर्ज एन्ड ट्रस्ट बैंक, एनएमबी, ग्रान्ड, सनराइज्, माछापुच्छे्र,  एनआइसी, लुम्बिनी, नेपाल बंगलादेश बैंक र नबिल बैंकको मात्र वढेको छ। बाँकी सबै बैंकले कुल रियलस्टेट कर्जा भने घटाएको छ।
घरजग्गा कारोबार र मूल्य अवास्तविक रुपमा वढेपछि राष्ट्र बैंकले तीन बर्षअघि बैंक ऋणमा कडाइ गरेपछि कारोबार एकाएक झरेको थियो। त्यही बेला बैंकहरुमा तरलता अभाव भएर ऋणको ब्याज दर महँगो भयो। ऋण कडाइ र ब्याज महँगो भएपछि घरजग्गा विक्री हुन छाडेर व्यवसायीले बैंकको ऋण भुक्तान गर्न छाडेका छन्। यसले गर्दा बैंकहरुले जोखिम व्यवस्थापन गर्नका लागि छुट्याउनु पर्ने रकम वढेको छ।
बैंकहरुले छुट्याउनु पर्ने यस्तो रकम १२ प्रतिशतले वढेर पुस मसान्तमा ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। गत असोजमा बैंकहरुले २ अर्ब ३८ करोड रुपैयाँ यसरी छुट्याएका थिए।
राष्ट्र बैंकका अनुसार, ऋण दिन वित्तिकै १ प्रतिशत नोक्सानी  व्यवस्थामा रकम छुट्याउनु पर्छ। तीन महिनासम्म ऋणको किस्ता नउठे २५ प्रतिशत, ६ महिना नउठे ५० प्रतिशत र एक वर्ष नउठे सबै ऋण बराबर नोक्सानी व्यवस्थामा रकम छुट्याउनु पर्छ।




No comments:

Post a Comment

thanks for comment