बैंकको निक्षेप ४१ अर्बले वढ्दा कर्जामा ६५ अर्बले वृद्धि

सुदर्शन सापकोटा
काठमाडौं, माघ ११
वाणिज्य बैंकहरुले ६ महिनामा ४१ अर्ब  निक्षेप र ६५ अर्ब ऋण लगानी गरेका छन्। निक्षेपको तुलनामा कर्जाको विस्तार वढी भएकाले बैंकहरुको कर्जा–निक्षेप अनुपातसमेत साघुँरो भएको छ।
बैंकहरुले पुस मसान्तसम्म ९ सय २ अर्ब निक्षेप संकलन गरेका छन्। साउनमा यो ८ सय ६२ अर्ब रुपैयाँ थियो। पुस मसान्तसम्म ऋण लगानी ६ सय ८३ अर्ब रुपैयाँ गरेका छन्। साउनमा जम्मा ६ सय १८ अर्ब मात्र लगानी भएको थियो।
बैंकरका अनुसार, रेमिट्यान्सको वृद्धिले निक्षेपमा सुधार आएको हो। यस वाहेक सरकारी खर्चमा पनि विस्तार भएको छ। पछिल्लो समय सहकारी ठगीका घटनाहरु सार्वजनिक हुन थालेपछि त्यतातिरको निक्षेप पनि बैंकहरुमा सर्न थालेको छ। यद्यपी अहिलेको निक्षेप वृद्धि गत वर्षको भन्दा केही कमै हो।
वर्षको सुरुवातमा निक्षेपमा खासै वृद्धि थिएन। दोस्रो त्रैमास (असोज) सुरु भएसँगै बैंकको निक्षेपमा सुधार भएको हो। कर्जा लगानी भने सुरुबाटै वढ्दो क्रममा थियो। राजनीतिक अन्यौंलले लगानी वातावरण नभएको चर्चा चलेपनि ऋण विस्तार भने मनग्य भएको छ।
बैंकहरुले निक्षेपको तुलनामा कर्जाको वृद्धि धेरै भएसँगै कर्जा–निक्षेप अनुपात साघुँरो भएपछि बैंकहरुलाई अबका दिनमा थप लगानीमा समस्या पर्ने छ। कतिपय बैंकहरुको अनुपात ७७/८८ प्रतिशत पुगिसकेको छ। बैंकहरुले यसलाई ८० प्रतिशतभन्दा तल राख्नु पर्छ।
लगानी विस्तारले कर्जा–निक्षेप अनुपात साघुँरो हुन थालेपछि बैंकहरुले यसलाई 'कन्सिडर' गर्न राष्ट्र बैंकसँग अनौपचारिक 'लविङ' गर्न थालेका छन्।
बैंकरका अनुसार, पछिल्लो समय जोखिम कम भएका साना–साना क्षेत्रमा लगानी वढेकाले कर्जाको विस्तार ठूलो देखिएको हो। बैंकहरुले अघिल्लो वर्ष नै प्रतिवद्धता जनाएका परियोजनाहरुमा पनि केही किस्ता फछर्ट गरेका छन्। यसवाहेक नयाँमा गाडी, घरजस्ता क्षेत्रमा मात्र लगानी बढेको छ। छोटो अवधिमै पैसा उठ्ने आयात व्यापारमा बैंक लगानी विस्तार हुन थालेको छ।
राष्ट्र बैंकका अनुसार, यो अवधिमा सुन, घरगाडी किन्नका लागि खुद्रा कर्जा लगानी वृद्धि भएको छ । आवसिय निर्माणका लागि बैंकहरुले ३ अर्ब ८४ करोड लगानी गरेका बेला जलविद्युत, सडक र पुलका लागि जम्मा ५६ करोड रुपैयाँ मात्र लगानी गरेका छन्। ६ महिनामा सवारी साधन खरिद गर्न  १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी भएको छ।
राष्ट्र बैंकले चालु वर्षभित्र कुल कर्जाको २० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने व्यवस्था गरेका कारण कृषि र पर्यटन क्षेत्रमा भने केही कर्जा ससानो आकारमा गएको छ। बैंकहरुले लघुवित्त, साना तथा मझौला उद्योगका नाममा यस्तो कर्जा वढाएका हुन्। होमस्टे, कोठा वृद्धि र राजधानी वाहिरका केही रिसोर्टहरुमा पनि ससानो ऋण लगानी भएको छ।
सरकारी बजेट खर्च नभएको र रेमिटेन्स आउन पनि कम भएका कारण बर्षको सुरुमा निक्षेप वढ्न सकेको थिएन। निक्षेप वढ्न नसकेपछि बैंकहरुको अन्तर बैंक कारोबारसमेत वढेको थियो।
निक्षेप वढेसँगै तरलता सहज भएपछि ब्याज घटाइरहेका छन्। अढाइ वर्षअघि तरलता अभाव सुरु हुँदा बैंकहरुको निक्षेप वृद्धि दर ३.७४ प्रतिशतबाट घटेर ०.८७ प्रतिशतमा झरेको थियो।

No comments:

Post a Comment

thanks for comment