अग्नी एयरको लिलाम रोक्न आदेश

काठमाडौं, माघ १० - सर्वोच्च अदालतले मुद्दाको छिनोफानो नभएसम्म अग्नि एयरको लिलामी रोक्न बैंकहरुलाई अन्तरिम आदेश दिएको छ। बैंकहरुले अग्नी एयरले ऋण नतिरेपछि लिलाम बिक्री प्रक्रिया अगाडि बढाएको थियो। अदालतको निर्देशनसँगै अग्नी एयरको लिलामी रोकिएको छ।
अग्नि एयरका सञ्चालकहरुले बैंकले सस्तोमा लिलाम गर्न लागेको भन्दै यसलाई रोक्न सर्वोच्चसँग अन्तरिम आदेश मागेका थिए। निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी अग्नि एयरले ऋण चुक्ता गर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूले लिलामीमा चढाएका थिए। अग्निले बैंक तथा वित्तीय संस्थालाई ६५ करोड रुपैयाँ तिर्न बाँकी छ।
ग्रान्ड बैंक नेपाल लिमिटेडको अगुवाइमा सनराइज बैंक लिमिटेड र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट अग्निले सहवित्तीयकरण कर्जा अन्तर्गत ऋण लिएको थियो। सम्झौताअनुसार तोकिएको समयमै सावाँ, ब्याज, पेनाल ब्याज, अन्य दस्तुरलगायत भुक्तानी नगरेपछि तीनवटै संस्थाले अग्निको सम्पत्ति लिलाम प्रक्रिया अगाडि बढाएका थिए।
अग्नि एयर विमान ग्राउन्डेड भएपनि प्राधिकरणलाई मासिक भाँडा, बिमा शुल्क, कर्मचारी तलब तथा सुविधा भुक्तानी गरिरहनु परेकाले उसको खर्च बढिरहेको छ। मुद्दाको अवधि लम्बिएसँग उसको ब्याज रकम पनि बढ्ने छ। ग्राउन्डेड भएको जहाजको मूल्य ह्रास कट्टीका कारणले घट्दै जाने भएकाले बैंक र ग्राहक दुबैलाई नोक्सान हुने छ।
बैंकले अग्निका सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छन, त्यसै अवस्थामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ को अधिकार प्रयोग गरी गोप्य शिलबन्दी बोलपत्रअनुसार बिक्री गर्न लिलामी सूचना निकालेका थिए। बैंकहरूका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई उड्डयन सुरक्षा विभागमा अग्नि एयरका नाममा दर्ता रहेका पाँचवटा जहाज, सम्पूर्ण पार्टपुर्जा तथा भक्तपुरका विभिन्न ठाउँमा रहेका जग्गा, घरलगायत धितो लिलामीमा राखेका हुन्।
बैंकहरूले २९ सिट क्षमतायुक्त तीनवटा जेटस्ट्रिम-४१ र १९ सिटे दुईटा डोर्नियर-२२८ मोडेलका जहाज लिलामीमा राखेका हुन्। लिलामीमा ९एन-एआइपी, एआइओ र एआइक्यु कलसाइन भएका जेटस्ट्रिम र ९एन-एजेएच र एआई कलसाइनका डोर्नियर जहाज छन्। यी सबै जहाज हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छन्।
अग्नि एयर प्रालि २०६० पुस १७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। यसका सञ्चालक र व्यक्तिगत जमानीकर्ता सुशील बस्नेत हुन्। अग्निले गत वर्ष २८ करोड रुपैयाँ नाफा कमाएको थियो। उसले ती तीन वित्तीय संस्थासँग सात वर्षअघि सह-वित्तीयकरणमा ऋण लिएको थियो।
अग्निमा ग्रान्ड र सनराइज बैंकले ३५-३५ प्रतिशत तथा इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सले ३० प्रतिशत ऋण लगानी गरेका थिए। अग्निका सञ्चालकले भने १ अर्ब रुपैयाँभन्दा कममा जहाज बिक्री नगर्न बैंकहरूसँग आग्रह गरेका थिए।
अग्नी एयरका सञ्चालकको रियलस्टेटमा ठूलो रकम 'फ्रिज' भएका कारण पनि नगद प्रवाह हुन नसकेर जहाजको ऋण तिर्न सकेका थिएनन्।

No comments:

Post a Comment

thanks for comment