घरजग्गा कारोबार मन्दी : अपार्टमेन्ट सक्न स्रोत जुट्न छाड्यो

काठमाडौं, माघ १० - तीन वर्षअघि घरजग्गा व्यवसायीले भूमि पुजासँगै उपभोक्ताबाट रकम उठाएर परियोजना सुरु गरेका थिए। घरजग्गाको कारोबार राम्रो भएकाले उपभोक्ताले पनि नक्सा हेरेकै भरमा अपार्टमेन्ट तथा घर खरिदका लागि पैसा हाले। पैसा उठाएर आधाउधी निर्माण नसक्दै रियलस्टेट व्यवसायमा मन्दी छाएपछि व्यवसायीले उपभोक्तालाई घर तथा अपार्टमेन्ट दिन सकेका छैनन्। पुरानै ऋण तिर्न नसकेको भन्दै बैंकहरुले वाँकी निर्माणका लागि थप ऋण दिन छाडेकै बेला उपभोक्ताले पनि वाँकी पैसा नथपेपछि व्यवसायी झन् कठिनमा परेका छन्।
‘अपार्टमेन्ट निर्माण झन् कठिन भएको छ। बैंकले ऋण लगानी बन्द गरेको छ। उपभोक्ताले पनि विश्वास गर्न छाडेका छन्,' घरजग्गा कारोबारी कम्पनी वृहत इन्भेस्टमेन्टका अध्यक्ष ओम राजभण्डारीले नागरिकसँग भने, ‘अहिले व्यवसायी एक्लैले लगानी गरेर कुनै परियोजना निर्माण गर्न सक्ने अवस्था छैन।
राष्ट्र बैंकले ऋण लगानीमा गरेको कडाइसँगै बैंकहरुले थप लगानी रोकेको तथा ठूला घरजग्गा व्यवसायीले बनाएको अपार्टमेन्ट/हाउजिङ समयमा पूरा नभएर आधाउधी पैसा भुक्तानी गरिसकेका उपभोक्ताले तीन वर्ष वितिसक्दा पनि नपाएपछि अपार्टमेन्टप्रतिको विश्वास घटेको हो।
घरजग्गामा बैंक तथा वित्तीय संस्थाको सय अर्ब हाराहारीमा ऋण छ। सहकारीहरुको पनि वित्तीय संस्थाकै हाराहारीमा लगानी गरेका छन्। कारोबार हुन छाडेपछि व्यवसायीले ऋण तिर्न सकेका छैनन्। कालोसुचीमा पर्नुको साथै ठगी आरोमा प्रहरी थुनामा पर्न थालेका छन्।
‘उपभोक्ताले विगतको जस्तै निर्माण सुरु हुनेवितिकै पैसा हाल्ने अवस्था छैन,' नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष इच्छाबहादुर वाग्लेले मंगलबार नागरिकसँग भने, ‘अपार्टमेन्ट निर्माण पूरा भएपछि मात्रै किन्न खोज्नेहरु मात्र देखिएका छन्।'
घरजग्गा कारोबारी भेगास सिटी, कोहिनुर हिल्स हाउजिङ र गुणका अपार्टमेन्ट पूरा भएका छैनन्। उनीहरुले उपभोक्तासँग पैसा उठाएर निर्माण थालेका थिए। निर्माण पुरा गर्न नसकेका कारण उनीहरुले उपभोक्तासँग बाचा गरेअनुसार घर तथा अपार्टमेन्ट दिन सकेका छैनन्। घर नदिने उदाहरणहरु बढ्दै गएपछि उपभोक्ताले अपार्टमेन्टका लागि लगानी गर्नै छाडेका हुन्।
तीन वर्षअघि निर्माण सुरु गरेका अधिकांस अपार्टमेन्टहरु कुनै भौतिक पूर्वाधार परिवर्तन गरेर मेडिकल कलेज र कुनै अपार्टमेन्ट होटेलमा लगेका छन्। नाम चलेका व्यवसायीले घर तथा अपार्टमेन्ट दिन नसकेपछि समग्र कारोबार प्रभावित भएको हो।
कतिपयले अपार्टमेन्ट नबिकेपछि विभिन्न दातृ निकायलाई भाडामा दिएका छन्। घरजग्गाको कारोबार राम्रो भएको बेला व्यवस्थित आवासको लागि व्यवसायीले अपार्टमेन्ट र व्यक्तिगत घरको परियोजना सुरु गरेका थिए।
‘बजार धेरै संवेदनशील छ। उपभोक्तामा हाउजिङमा पैसा दिएपछि घर बनाएर दिन्छ भन्ने थियो,' राजभन्डारीले भने, ‘तर पैसा तिरेर घर नपाउँदा विश्वास घटेको छ।'
जग्गाको स्वामित्व हुनुपर्ने मान्यता बढी रहेको नेपाली समाजमा अपार्टमेन्ट संस्कृति विकास भइरहेका बेला यस क्षेत्रमा ठगी हुन थालेपछि उपभोक्ता हच्किएको राजभन्डारीले जानकारी दिए।
‘हाम्रो समाज माटोनै हुनुपर्ने मानसिकताको हो। विस्तारै हाउजिङ र अपार्टमेन्टमा विश्वासको आधार विकास भएको थियो,' एक व्यवसायीले भने, ‘केही व्यवसयीहरुले बाचा गरेअनुसार समयमा ग्राहकलाई हस्तान्तरण गर्न नसक्दा सबै एउटै घानमा परेका छन्।'
वाग्लेका अनुसार, वित्तिय रुपमा व्यवस्थापन गर्न नसकेर केही परियोजना विग्रिएर अपार्टमेन्ट संस्कृति भत्किदैछ। ‘नेपालीको आयस्तर हेरेर अपार्टमेन्ट निर्माण गरिएको भए समस्या आउने थिएन,' उनले भने।
वाग्लेका अनुसार २० देखि ३० लाखसम्मको अपार्टमेन्ट निर्माण गरेको भए बिक्रीमा समस्या हुने थिएन। उनका अनुसार व्यक्तिगत घर(इन्डिभ्युल होम्स) ३६ देखि ४० लाखको बनाउनुपर्छ ।
ऋणको आधा पुग्यो ब्याज
घरजग्गा व्यवसायमा तीन वर्षदेखि मन्दी छाएपछि व्यवसायले यो अवधिमा ४५ प्रतिशत ब्याज तिरिसकेका छन्। एक करोड रुपैयाँ ऋण भएको ब्यवसायीले वार्षिक १५ प्रतिशत ब्याजका कारण ४५ लाख व्याजै भुक्तानी गरिसकेका छन्।
कतिपय बैंक तथा वित्तीय संस्थाले परियोजना हेरी १८ प्रतिशतसम्म पनि ब्याज लिएका छन्। मन्दी छाएसँगै बैंकहरुले ब्याज दोब्बर बढाए। ऋण लिएर घरअपार्टमेन्ट निर्माण गरिरहेका व्यवसायीले कारोबार मन्दीसँग विक्री गर्न सकेनन्।
मन्दीको वेला मूल्य अझै घट्छ भन्दै उपभोक्ताले नकिन्ने र व्यवसायीले घाटा पर्छ भन्दै घटाएर नबेच्दा व्याजको भार वढेको हो।
‘धेरै व्यवसायी ऋणको ब्याज तिर्दातिर्दै परिवन्धमा परेका छन्। यो बढ्दै गएमा बैंक तथा वित्तिय संस्थालाई पनि समस्यामा पार्नेछ,' वाग्लेले भने, ‘पछिल्लो समय केही व्यवसायी ठगीमा पर्नुमा चर्को ब्याज मूल्य कारण हो।'

No comments:

Post a Comment

thanks for comment