स्प्रेड वृद्धिले बैंकको नाफा ५० प्रतिशत बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं, फागुन ३
लगानी वातावरण नभएर व्यवसायिक क्षेत्र खस्किरहेका बेला वाणिज्य बैंंकहरुले निक्षेपकर्तालाई दिने र ऋणीबाट लिने ब्याजको अन्तर (स्प्रेड दर) फराकिलो बनाउँदै नाफा वढाएका छन्।
बैंकहरुले आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ५० प्रतिशतले बृद्धि गर्दै ७ अर्ब ९० करोड पुर्‍याएका छन्। अघिल्लो पुसमा बैंकहरुले ५ अर्ब २६ करोड रुपैयाँ नाफा गरेका थिए। असोजमा बैंकको नाफा वृद्धि दर ४१ प्रतिशत थियो।
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकमध्ये तीन वटाले मात्र स्प्रेड दर घटाएका छन्। लक्ष्मी बैंक, ग्रान्ड बैंक नेपाल र स्ट्यार्न्डर्ड चार्टर्डले स्प्रेड घटाएका हुन्। यसमध्ये लक्ष्मी र ग्रान्ड बैंकको नाफाको वृद्धि दर नै घटेको  छ। भने स्ट्यान्डर्ड चार्टर्डलेे ३७ लाख रुपैयाँले मात्र नाफा वढाएको छ।
बैंकले निक्षेपकर्तालाई दिने ब्याज दर ह्वात्तै घटाएपनि ऋणीबाट लिने ब्याज सामान्य मात्र घटाएका कारण स्प्रेड फराकिलो भएको हो। स्प्रेडकै कारण पुस मसान्तमा अधिकांस बैंकले उच्च नाफा कमाएका हुन्।
'अधिकांस बैंकको स्प्रेड दर वढेको छ। स्प्रेड वढाएकै कारण बैंकको नाफा वढेको छ,' बैंकर्स संघका उपाध्यक्ष तथा ग्रान्ड बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने। उनले यसपाली अधिकांस बैंकको व्याज र किस्ता नउठेका कारण जोखिम व्यवस्थाका लागि राखिने रकम वढेपनि स्प्रेडका कारण नाफामा वृद्धि भएको जानकारी दिए।
स्प्रेड दर फराकिलो भएकै कारण बैंकहरुको खुद ब्याज आम्दानी २८ प्रतिशतभन्दा वढीले वृद्धि भएको छ। १६ अर्ब ३२ अर्ब  खुद ब्याज आम्दानी गरेका बैंकहरुले यसपाली २० अर्ब ७२ अर्ब  पुगेको छ।
अघिल्लो वर्षको पुसमा घाटामा गएका नयाँ चार बैंकले यसपाली नाफा राम्रो आर्जन गरेका छन्। अघिल्लो वर्ष घाटामा गएका सिभिल, जनता, मेगा र सेन्चुरी बैंकले यसपाली नाफा गरेका हुन्। यसपाली किस्ट बैंक भने घाटामा गएको छ। बैंकले ६ करोड ९५ लाख रुपैयाँ घाटा खाएको छ।
यसपाली सबैभन्दा वढी नाफा नबिल बैंकले कमाएको छ। बैंकले ६५ करोड ८६ लाखको नाफालाई १ अर्ब ११ करोड पुर्‍याएको छ। व्याज आम्दानीका साथै डलर किनबेच तथा छुट तथा कमिसनमा आधारित आम्दानी वढाएका कारण नाफा व्यापक वृद्धि गरेको हो।
पुसमा ६ वटा बैंकले नाफा ५० करोड नघाएका छन्। ५० करोड नघाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक र एभरेष्ट बैंक छन्। इन्भेष्टमेन्टको ८९ करोड नाफा छ। एभरेष्टको ६४ करोड र राष्ट्रिय वाणिज्इ बैंकको ६० करोड ९९ लाख छ।
स्प्रेड बढाए पनि नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी घटेको छ। बैंकको आम्दानी १.३२ प्रतिशतले घटेर २ अर्ब ८५ करोडमा झरेको छ। स्प्रेड दर घटाएका कारण स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याज आम्दानी ४.८२ प्रतिशतले घटेर ८७ करोड ५६ लाखमा झरेको छ। यि वाहेक सबै बैंकको खुद ब्याज आम्दानी वढेको छ।
स्प्रेड दर फराकिलो हुँदा निक्षेपकर्ता र ऋणी दुवैलाई नोक्सान हुन्छ। निक्षेपकर्ताले कम पाउने र ऋणीले वढी तिर्नु पर्ने हुन्छ।
सबैभन्दा वढी व्याज अन्तर नेपाल बंगलादेश बैंकले राखेको छ। बैंकले २.२१ प्रतिशतको स्प्रेडलाई वढाएर ६.२७ प्रतिशत पुर्‍याएको छ। यसपछि सिटिजन्स् बैंकले ४.३३ को स्प्रेडलाई ८.८१ प्रतिशत पुर्‍याएको छ।
एभरेष्ट बैंकको ५.१७ प्रतिशत स्प्रेड दर पुगेको छ। यसअघि उसको ४.८६ प्रतिशत थियो। नबिल, मेगा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डूको स्प्रेड वढेर साढे चार प्रतिशतभन्दा माथि छ।
स्प्रेड दर वढाए पनि कम माछापुच्छ्रे बैंकको छ। बैंकले १.८४ बाट बढाएर २.४१ पुर्याएको छ। जनताले १.९७ प्रतिशतबाट वढाएर २.८५ प्रतिशत, प्राइमले २.९५ प्रतिशतबाट वढाएर २.९९ प्रतिशत पुर्‍याएको छ।

पुसमा वढी नाफा गर्ने बैंक

बैंक                                    नाफा (रु.करोडमा)
नबिल बैंक                                   १११.२३
नेपाल इन्भेष्टमेन्ट                        ८९.१२
एभरेष्ट बैंक                                    ६४.२४
राष्ट्रिय वाणिज्य                                 ६०.९९
स्ट्यान्डर्ड चार्टर्ड                               ५५.८८
कृषि विकास                                      ५४.६३
हिमालयन                                            ५०.०३

No comments:

Post a Comment

thanks for comment