राजनीतिक सहमतिको आशमा उचालियो नेप्से, २५ मिनेटमा ८ करोडको कारोबार

सुदर्शन सापकोटा
 काठमाडौं, फागुन ७ - 
दलहरु निर्वाचन गराउन राजनीतिक सहमति नजिक पुगेपछि सेयर बजार ह्वात्तै बढेको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार बन्ने पक्कापक्की भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २५.७३ अंकले बढेको छ।
सबै समूहको उपसूचक वृद्धिले परिसूचक ५५५.९३ अंकमा पुगेको छ। परिसूचकले छलाङ मार्न थालेपछि नेप्सेले तीनपटक कारोबार रोक्का गरेको थियो। पाँच प्रतिशतले परिसूचक वृद्धि भएपछि कारोबार सोमबारसम्मलाई बन्द गरिएको थियो।
'राजनीतिक सहमतिका कारण परिसूचक बढेको हो,' सेयर ब्रोकर कम्पनी कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटले भने।
आइतबार बजार खुलेको १५ मिनेटभित्रै नेप्से ३ प्रतिशतले बढेपछि केही समयका लागि कारोबार बन्द गरिएको थियो। बजार खुलेलगत्तै परिसुचक ४ प्रतिशतले वढेको थियो। तेस्रोपटक पाँच प्रतिशतले बढेपछि आइतबारको कारोबार बन्द गरिएको थियो।
नेप्से बढेर तीनपटकसम्म कारोबार स्थगत गर्दा लगानीकर्ताले जम्मा २५ मिनेटमात्र सेयर किनबेच गर्न पाएका थिए। तीन घन्टामा जम्मा २५ मिनेट कारोबार हुँदा समेत ८ करोड चार लाख रुपैयाँको सेयर किनेबेच भएको नेप्सेले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरुले दिनहुँजसो उच्च नाफा भएको विवरण सार्वजनिक गरिरहँदासमेत खासै प्रतिक्रिया नदिएको नेप्से परिसूचकले निर्वाचन गराउनलाई सरकार गठन हुने देखिएपछि तातो प्रतिक्रिया दिएको हो। बिहीबार पनि परिसूचक ३.६ अंकले बढेको थियो। 'बैंक तथा वित्तीय संस्थाको विवरणहरुले सामान्य वृद्धिमात्र भएको थियो,' उनले भने, 'राजनीतिक सहमतिले परिसूचकलाई निकै माथि पुर्या यो।'
नेप्सेमा आइतबार ५९ कम्पनीहरुको सेयर कारोबार भएको थियो। यसमध्ये पाथिभरा विकास बैंक, शुभेच्छा विकास बैंक, विराटलक्ष्मी विकास बैंक, विश्व विकास बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सको मात्र सेयर मूल्य घटेर कारोबार भएको थियो।
सूर्या लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोग स्किम-१, प्रभु फाइनान्स, ज्योति विकास बैंक र नबिल बैंकको संस्थापक सेयर मूल्य परिवर्तन नभई कारोबार भएको नेप्सेले जनाएको छ।
पछिल्लो समय निक्षेपको ब्याज दर घटेर लगानीकर्ता राम्रो प्रतिफलको आशमा पुनः सेयर बजारमा फर्किन थालेका थिए। यसबाट कारोबारमा सुधार आए पनि परिसूचकले उच्च छलाङ मार्न सकेको थिएन। राजनीति सहमतिबाट गतिरोध अन्त्य हुने निस्कर्ष निकाल्दै लगानीकर्ताले आइतबार परिसूचक उचालेका हुन्।
सरकारले परिसूचक बढाउन राष्ट्र बैंकमार्फत सेयर खरिद कर्जा सहज बनाएको थियो। बैंकिङ क्षेत्रमा तरलता बढेर ऋणको ब्याज पनि घट्न थाल्यो। टेलिकम, बिमा कम्पनीजस्ता संस्थागत लगानीकर्ताको पैसा बजारमा ल्याउने खालका निर्णयहरु भए। यसपछि राजनीतिक अन्योलबीच पनि परिसूचक उकालो लाग्न थालेको हो।
सबैभन्दा बढी जलविद्युत उपसूचकमा सुधार आएको छ। यो सूचक ६२ अंकले बढेको छ। यसपछि बैंकिङ ३८.५८ र बिमा २४.९४ अंकले वृद्धि भएको छ।
नेप्सेमा आइतबार १ लाख ६३ हजार ५२२ कित्ता सेयर किनबेच भएको थियो। ५ सय ३३ वटा कारोबारबाट बजार पुँजीकरण ५ खर्ब ३५ अर्ब ४९ लाख पुगेको छ।

No comments:

Post a Comment

thanks for comment