साना-मझौला उद्योग परिभाषित

काठमाडौं, फागुन १०
साना तथा मझौला उद्योगलाई प्रोत्साहन तथा सुविधा दिने उद्देश्यले पहिलोपटक यो क्षेत्रलाई परिभाषित गरिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै साना तथा मझौला उद्यमलाई परिभाषित गरेको हो।
'साना तथा मझौला उद्योगको विकास गर्न सुविधाहरु दिनुपर्छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले नागरिकसँग भने, 'सुविधा दिनका लागि परिभाषित गरिएको हो।' राष्ट्र बैंकले अधिकतम ५० लाख रुपैयाँसम्म चुक्ता पुँजी भएको उद्यमलाई साना तथा मझौला उद्योगका रुपमा चिनाइएको छ।
उद्यमी आफंै पनि कारोबार तथा व्यवसायमा संलग्न हुनुपर्ने साना तथा मझौला उद्योगको सर्त छ। उत्पादन तथा सेवामूलक व्यवसायले मात्र साना तथा मझौला उद्योगको परिचय पाउने छ। राष्ट्र बैंकले यस्ता उद्योगको बढीमा ५ करोडभन्दा बढीको स्थिर सम्पति हुन नहुने सर्त राखेको छ।
विकसित मुलुकहरुमा पनि साना तथा मझौला उद्योगको विकासका लागि सुविधा तथा सहुलियतहरु दिइन्छ। नेपालमा पहिलोपटक परिभाषित गरिएको यो व्यवसाय विस्तारका लागि राष्ट्र बैंक र सरकारले सुविधाका प्याकेजहरु ल्याउने तयारी गरेको छ।
'यो क्षेत्रलाई विस्तार गर्न तत्काललाई परिभाषित गरिएको हो,' ज्ञवालीले भने, 'विकास तथा विस्तार गर्न क्रमिक रुपमा नीतिगत सुविधाहरु ल्याइने छ।' नेपालमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले साना तथा मझौला उद्योगको लागि भन्दै कर्जा योजना ल्याएका छन्।
बैंक तथा वित्तीय संस्थाहरुले एक करोडदेखि ५ करोडसम्मको कर्जालाई साना तथा मझौला उद्योगअन्तर्गत भन्दै लगानी गर्दै आएका छन्। राष्ट्र बैंकले परिभाषा सार्वजनिक गरेपछि बैंक तथा वित्तीय संस्थालाई उत्पादन तथा सेवा क्षेत्रका साना व्यवसायलाई लक्षित गरी ऋण लगानी गर्न अझ सजिलो हुने छ।

No comments:

Post a Comment

thanks for comment