पिपल्स फाइनान्सले पैसा फिर्ता गर्न थाल्यो

काठमाडौं जेठ २६
निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेर सोमबारबाट बन्द भएको पिपल्स फाइनान्सले बिहीबारबाट कार्यालय खोलेर निक्षेपकर्ताको पैसा फिर्ता गरेको छ । बिहीबार फाइनान्सले ६० लाख रुपैयाँ फिर्ता गरेको हो ।
'बिहीबारबाट कार्यालय सुचारु गरेर पैसा फिर्ता गर्न थालेका छौं,' फाइनान्सका महाप्रवन्धक केशवप्रसाद भट्टराईले बिहीबार नागरिकसँग भने, 'अहिले कर्जा पनि उठ्न थालेकाले पैसा फिर्ता गर्न सजिलो भएको हो ।' कम्पनीले बिहीबार बेलुकीसम्म साढे पाच करोड रुपैयाँ कर्जा उठाइसकेको छ । २५ लाख रुपैयाँ कम्पनीसँग पहिले नै थियो ।
फरार भएका पिपल्स फाइनान्सका कार्यकारी अध्यक्ष छविलाल भुसाल बिहीबार पनि कम्पनीको सम्पर्कमा आएका छैनन् । उनले फ्याक्स मार्फत विरामी भएर उपचार गराइरहेको पत्र कम्पनीमा पठाएका छन् ।
भट्टराईका अनुसार कम्पनीको आर्थिक अवस्था राम्रो भएपनि तत्काललाई तरलता अभाव हुँदा पैसा फिर्ता गर्न नसकिएको हो । 'राष्ट्र बैंकले पनि केही समस्या भए पुनर्कर्जा मार्फत थप रकम उपलब्ध गराउने आश्वासन दिनु भएको छ,' उनले भने, 'अहिले कर्जा उठेकाले निक्षेप फिर्ता गर्न समस्पा परेको छैन । आवश्यक परे पुनकर्जा पनि लिन्छौं ।' भट्टराईका अनुसार कुल ८३ करोड निक्षेपमध्ये ३५ करोड संस्थागत निक्षेपकर्ताको छ । 'संस्थागतले निक्षेप नझिक्ने कुरा आएकाले चाँडै पहिलेकै अवस्थामा कम्पनी साचालन हुनेमा विश्वस्त छौं,' उनले भने ।
रियलस्टेट बजार उकालो लागेका बेला विभिन्न चरणमा कार्यकारी अध्यक्ष भुसालले जग्गामा कर्जा प्रवाह गरेक थिए । प्रवाह भएको कर्जाको किस्ता र व्याज उठ्न छाडेवसँगै संस्थागत निक्षेपकर्ता राष्ट्र बैंकले सात करोड झिकेर लगिदिएपछि कम्पनीमा चरम तरलता अभाव भयो । तरलता अभावले सर्वसाधारणको पैसा फिर्ता गर्न नसक्ने भएपछि भुसाल फरार भएका हुन् । 'एकपछि अर्को गर्दै कर्जा डुब्न थालेको छ,' फाइनान्स स्रोतले भन्यो, 'निक्षेपभन्दा वढी कर्जा वढी भएकाले तरलता एकदमै अभाव हुन थालेको थियो ।' फाइनान्स स्रोतका अनुसार भुसाल मुटुको उपचार गर्न दिल्ली पुगेका छन् ।

No comments:

Post a Comment

thanks for comment