क्यापिटल मर्चेन्टबाट नक्कली परियोजनामा कर्जा

सुदर्शन सापकोटा
काठमाडौं, असार १२-
निक्षेप फिर्ता गर्न नसकेर शुक्रबार कार्यालय बन्द गरेको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले नक्कली परियोजना देखाउँदै रियलस्टेट र प्लटिङमा कर्जा प्रवाह गरेको खुलेको छ। कम्पनीले यसरी १ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको हो। 
 राष्ट्र बैंकले केही समयअघि फाइनान्समा निरीक्षण गर्न पठाएको टोलीले दिएको प्रतिवेदनमा नक्कली परियोजना देखाउँदै त्यो बापतको पैसा रियलस्टेट र प्लटिङमा प्रवाह गरेको उल्लेख छ। सञ्चालक समितिका अध्यक्ष विज्ञानप्रसाद पौडेल, सदस्यहरु लक्ष्मणप्रसाद पौडेल, डम्बरबहादुर बस्नेत, सोमराज रेग्मी र सुषमा केसी तथा प्रमुख कार्यकारी अधिकृत दीपकराज शर्मालगायत व्यवस्थापनका उच्च अधिकारीको मिलेमतोमा यसरी कर्जा प्रवाह भएको हो।

प्रमुख कार्यकारी शर्माले रियलस्टेट कर्जा समायोजन गर्दा समस्या आएको बताए। 'रियलस्टेटको कर्जालाई अन्य परियोजनाका नाममा समायोजन गरिएको हो,' उनले शनिबार साँझ नागरिकसँग भने, 'अन्य परियोजनामा सारिएको कर्जा पनि रियलस्टेट नै पर्न गएकाले समस्या आयो।'
शर्माले १ करोडभन्दा माथिको कर्जा स्वीकृति सञ्चालक समितिले गर्ने भन्दै यसरी समायोजन गरिएको कर्जा एक करोडभन्दा माथिको भएको जानकारी दिए। 'सञ्चालक समितिमा आमन्त्रित सदस्य भएकाले मेरो निर्णय गर्ने अधिकार हुँदैन,' उनले शनिबार साँझ नागरिकसँग भने, 'तर सञ्चालक समितिले गरेको जुनसुकै निर्णयमा मैले हस्ताक्षर गर्नु पर्ने वाध्यता हुन्छ।'
'नभएको परियोजनामा कर्जा प्रवाह भएको पाइएको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले शनिबार नागरिकसँग भने, 'अधिक धितो मूल्यांकन गरेर धेरैजसो कर्जा गएको छ।' उनका अनुसार करिब दुई दर्जन नक्कली परियोजनाका लागि बढीमा १५ करोडसम्म गरेर कर्जा गएको छ। ती अधिकारीले सम्पति र दायित्व व्यवस्थापन लापरवाहीले समस्या आएको भन्दै कम्पनीको बारेमा थप अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिए।
कम्पनी स्रोतले रियलस्टेटमा अत्याधिक लगानी भएका बेला राष्ट्र बैंकले यसमा सीमा तोकेपछि त्यसभित्र ल्याउनका लागि कर्जा समायोजन गर्नु परेको बतायो। 'राष्ट्र बैंकको निर्देशनमा सीमा तोकिएपछि कर्जा घटाउनु पर्ने वाध्यता भयो,' सञ्चालक समिति स्रोतले भन्यो, 'कर्जा घटाउने क्रममा कतिपय कर्जालाई अन्य शिर्षकमा देखाइएको थियो। आज त्यो पैसा फिर्ता नहुने अवस्था आएपछि समस्या भयो।'
कम्पनीले तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकसँग गत साता १८ करोड रुपैयाँ पुनर्कर्जा माग गरेको थियो। कर्जाका लागि राखिएको धितो असल नभएको भन्दै राष्ट्र बैंकले कर्जा दिन नसक्ने जनाएपछि कम्पनीका व्यवस्थापन समूह तरलताका कारण निक्षेप फिर्ता गर्न भएकाले शुक्रबार कार्यालय बन्द गरेको थियो।
कार्यालय बन्द गरेर राष्ट्र बैंकमा तरलता सहायता माग्न गएको टोलीलाई कार्यालय खोलेर निक्षेप फिर्ता गर्न निर्देशन दिएको थियो।
तीन साताको अवधिमा ५० करोड रुपैयाँ निक्षेप बाहिरिएर नगद अभाव भएपछि निक्षेपकर्तालाई पैसा फिर्ता गर्न नसक्ने भन्दै कम्पनीले कार्यालय बन्द गरेको हो। क्यापिटल मर्चेन्टअघि सम्झना फाइनान्स, युनाइटेड विकास बैंक, गोर्खा डेभलपमेन्ट बैंक, नेपाल सेयर मार्केटस् एन्ड फाइनान्सिय इन्स्टिच्युसन, पिपल्स फाइनान्स र भिवोर विकास बैंकमा समस्या आएको थियो।
काठमाडौंको बत्तिस पुतलीमा कर्पोरेट कार्यालय रहेको कम्पनीले निक्षेपभन्दा बढी कर्जा प्रवाह गरेको छ। ३ अर्ब ४ करोड निक्षेप रहेको कम्पनीले ३ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ। यसमध्ये घरजग्गा तथा प्लटिङका लागि मात्रै १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो कुल कर्जाको करिब ५३ प्रतिशत हो।
राष्ट्र बैंक स्रोतका अनुसार कम्पनीमा रहेको कुल निक्षेपमध्ये ६० प्रतिशत ठूला निक्षेपकर्ताको छ। बाँकी रकममध्ये अधिकांस एक वर्षे मुद्दति निक्षेपमा छ। कम्पनीको राजधानीका रविभवन, डल्लु र न्युरोडमा शाखा छन्। राजधानी बाहिर पोखरा, बुटवल, हेटौंडा, वीरगन्ज, नेपालगन्ज, इटहरी र बिर्तामोडमा पनि शाखा छन्। ९३ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ४२ लाख रुपैयाँ छ। कर्मचारी खर्च २३ करोड १३ लाख रहेको कम्पनीको पुँजी पर्याप्तता अनुपात २८ दशमलव २८ र खराव कर्जा अनुपात २ दशमलव ९६ प्रतिशत छ। राष्ट्र बैंकले पुँजी पर्याप्तता अनुपातको सीमा १० प्रतिशतभन्दा माथि र खराब कर्जाको सीमा ५ प्रतिशतभन्दा कम तोकेको छ।
 
'राष्ट्र बैंकले सहयोग गर्छ'
वित्तीय कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई आवश्यक वित्तीय सहयोग गर्ने आश्वासन दिएको बताएका छन्।
'असल कर्जाको धितो र सम्पत्तिका आधारमा राष्ट्र बैंकले वित्तीय सहयोग गर्न लागेको हो,' उनले शनिबार नागरिकसँग भने, 'सकारात्मक निकास दिन्छौं भनेर आइतबार बिहान राष्ट्र बैंकमा बैठक बस्दैछ।'
उनले तत्काललाई तरलता अभाव देखिएकाले एउटा संस्था समस्यामा पर्दा यसको असर अन्यमा पनि पर्ने भएकाले राष्ट्र बैंकले वित्तीय सहयोग गर्न लागेको जानकारी दिए। शाक्यले राष्ट्र बैंकले यसअघि पनि केही संस्थालाई सहयोग गरेकाले क्यापिटल मर्चेन्टलाई पनि सहयोग गर्ने दाबी गर्दै संस्थामा वित्तीय समस्या नआउने बताए। उनले कम्पनीमा अन्य सुशासनका समस्या भए पहिले तरलता समस्या सुल्झाएर अवस्था सामान्य भएपछि मात्र त्यस बारेमा कारबाही अगाडि बढाउन राष्ट्र बैंकलाई आग्रह गरिएको बताए। 'राष्ट्र बैंकले सकारात्मक रुपमा हेरेकाले कसैले आत्तिनु पर्ने अवस्था छैन,' उनले भने, 'दुई लाखसम्मको निक्षेपको बिमा र सम्पति राम्रो अवस्थामा भएकाले निक्षेपकर्तालाई समस्या पर्दैन।'

No comments:

Post a Comment

thanks for comment