निक्षेपलाई सेयर पुँजीजस्तो नसम्झौं : गभर्नर

बैंकमा पैसा राख्न डराउनुपर्दैन
काठमाडौं जेठ ३१
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाले निक्षेपलाई सेयर पुँजीजस्तो नवीकरण गर्न नपर्ने ठानेका कारण समस्या आएको बताए । उनले निश्चित समयपछि निक्षेप फिर्ता हुन्छ भन्ने सोचेर बैंकिङ कारोबार गर्न आग्रह गरे ।
निक्षेप र सेयर पुँजीबीच 
फरक छुट्याउन 
नसक्दा नै समस्या आएको हो
'निक्षेप र सेयर पुँजीबीच फरक छुट्याउन आवश्क छ,' हिमचुली विकास बैंक र वीरगन्ज फाइनान्सको मर्ज भएर एच एन्ड बी डेभलपमेन्ट बैंक साचालनमा आएको औपचारिक घोषणा कार्यक्रममा मंगलबार बोल्दै गभर्नरले भने, 'कतिपय संस्थाले फरक छुट्याउन नसक्दा नै समस्या आएको हो ।' 
गभर्नर खतिवडाले तत्काललाई तरलता अभाव हुँदा केही समस्या आएको भन्दै राष्ट्र बैंकले तरलता प्रवाह गर्न मौदि्रक औजारबाट सहयोग गरेकाले समस्या काबुमा आइसकेको बताए । उनले अहिले तरलता अभावकै कारणबाट आत्तिनुपर्ने अवस्था नभएको भन्दै संस्थाभित्रै सुशासन अभाव भएमात्र असहज अवस्था आउन सक्ने बताए ।

उनले पछिल्लो समयमा बैंकिङ क्षेत्रको आन्तरिक कमजोरी र प्रणालीगत असरका कारण समस्या भएको बताए । 'तरलता अभाव अब छैन,' उनले भने, 'तर एकदमै राम्रो संस्थाबाट पनि एकैचोटि सबैले पैसा झिकिदियो भने त्यो डुब्न सक्ने हुँदा हल्लाका पछाडि लागेर पैसा झिक्न आवश्यक छैन ।' उनले राष्ट्र बैंकले स्वीकृति दिएका सबै संस्था सुरक्षित रहेकाले पैसा राख्न आत्तिनुनपर्ने बताए ।
गभर्नर खतिवडाले बैंकहरुको तरलता अवस्था २४ प्रतिशत रहेको बताए । २० प्रतिशतभन्दा माथि तरलता भएको संस्थालाई राम्रो मानिन्छ । उनले बैंकहरुको पुँजी पर्याप्तता अनुपात १२/१३ प्रतिशतको हाराहारीमा भएको भन्दै वित्तीय कम्पनीहरुको अवस्था पनि राम्रो भएको बताए । खराब कर्जा अनुपात पनि सीमाभित्र रहेको उनले जानकारी दिए ।
'वित्तीय संस्थामा उसको आर्थिक अवस्थाका कारण समस्या छैन,' उनले भने, 'समस्या आएको हो भने उसको सुशासन अभावले आएको हो ।' उनले संस्थागत सुशासन पालना नगरेका संस्थाका कारण केही संस्थामा प्रणालीगत असर परे पनि अहिले त्यो समाधान भएको बताए ।
उनले संस्था समस्यामा परेपछि राष्ट्र बैंकले जोगाउँछ भन्ने भ्रमबाट मुक्त हुन पनि आग्रह गरे । 'राष्ट्र बैंकले समस्यामा परेका सबैलाई जोगाउँछ भन्ने कसैले पनि बुझ्नु हुँदैन,' गभर्नरले भने, 'सुधि्रने हदसम्म हामी मौका दिन्छौं । सहज वातावरणमा आउन काँधमा काँध मिलाउँछौं ।'
गभर्नरले पछिल्लो समयमा मर्जरको आवश्यकता अझ बढेर गएको भन्दै स्वस्थ र सेवाग्राहीको पहुँच बढाउन पनि मर्जरमा जानुपर्ने बताए । 'अहिले ६० प्रतिशत संस्थापक निक्षेपकर्ताबाट पैसा लिएर १२/१५ जनालाई कर्जा दिएर कम्पनी चलाउने काम भइरहेको छ,' उनले भने, 'अब यसरी हुँदैन ।' उनले धेरै संस्थाहरु मर्जरका लागि आइरहेको जानकारी दिँदै मर्जर नीतिलाई अझै सहज र बजेटमार्फत थप सुविधा दिन सरकार तयार रहेको बताए ।
कार्यक्रममा एच एन्ड बी डेभलपमेन्ट बैंककी प्रमुख कार्यकारी अधिकृत जसोदा सैैंजुले बढीभन्दा बढी सेवाग्राहीलाई सेवा दिन मर्जरमा गएको बताइन् । उनले हिमालदेखि तराईसम्मका ग्राहकलाई स्तरीय बैंकिङ सेवा दिने बताइन् । उनले अन्य बैंक तथा वित्तीय संस्था पनि मर्जरमा जानुपर्ने बताइन् ।
एच एन्ड बी औपचारिक सुरु
पोखराको हिमचुली विकास बैंक र वीरगन्जको वीरजन्ज फाइनान्स गाभिएर बनेको एच एन्ड बी डेभलपमेन्ट बैंकले मंगलबारदेखि औपचारिक कारोबार सुरु गरेको छ । नयाँ बैंकको औपचारिक उद्घाटन गभर्नर युवराज खतिवडाले गरे । दुई संस्था गाभिएपछि चुक्ता पुँजी ९५ करोड रुपैयाँ पुगेको छ । राजधानीमा केन्द्रीय कार्यालय रहने गरी पोखरा र वीरगन्जलाई क्षेत्रीय कार्यालय बनाएको छ ।



1 comment:

thanks for comment