पिपल्स फाइनान्स बन्द, कार्यकारी अध्यक्ष बेपत्ता

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २४- 
निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि काठमाडौंको महाबौद्धस्थित पिपल्स फाइनान्स कम्पनीले सोमबार कार्यालय बन्द गरेको छ। संस्थागत निक्षेपकर्ताले अवधि पुगेपछि नवीकरण नगरी निक्षेप झिकेर लगिदिएकाले फाइनान्सले सर्वसाधारणको पैसा फिर्ता गर्न नसकेको हो।
दिनदिनै निक्षेप घट्ने 
तर कतैबाट पनि आउने 
अवस्था नभएपछि 
फाइनान्सका कार्यकारी 
अध्यक्ष छविलाल भुसाल 
गत शुक्रबारबाट 
कम्पनीको सम्पर्कमा छैनन्।
फाइनान्सले प्राविधिक कारणले कार्यालय बन्द गर्नुपरेको भन्दै पैसा फिर्ता गर्न नसकिने सूचना टाँसेको छ। चैतसम्मको वित्तीय अवस्था राम्रो देखिए पनि पछिल्लो समय तरलता अभावले गाँजेका कारण तत्काल पैसा फिर्ता गर्ने अवस्थामा कम्पनी छैन। नेपाल राष्ट्र बैंकले कम्पनीमा रहेको १७ करोड ४८ लाख ४० हजार रुपैयाँ निक्षेपमध्ये गत साता अवधि पुगेको ७ करोड फिर्ता लगेपछि कम्पनीमा चरम तरलता अभाव भएको हो।
जेठ मसान्तमा अवधि पुग्ने करिब १५ करोड निक्षेप भुक्तानी गर्न कम्पनीलाई संस्थागत निक्षेपकर्ताले पत्राचार गरिसकेका छन्। कम्पनीसँग भुक्तानी गर्न जम्मा २५ लाख रुपैयाँ मात्र छ। यही कारणले कम्पनीका अधिकारीहरुले कार्यालय बन्द गराएका हुन्।
कम्पनीले महाबौद्धको केन्द्रीय कार्यालयसहित, त्रिपुरेश्वर र रुपन्देहीको सिद्धार्थनगर शाखासमेत बन्द गरेको छ। ‘निक्षेपकर्तालाई भुक्तानी गर्न नसक्ने अवस्था भएकाले कार्यालय बन्द गर्नुपरेको भनेर जानकारी गराएका छन्,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले सोमबार नागरिकसँग भने, ‘बन्द गर्नुअघि पूर्वस्वीकृति लिनुपर्नेमा कम्पनीले त्यसो गरेन।'
निक्षेप फिर्ता नगरी कार्यालय बन्द गराएको मौखिक सूचना पाउना साथ राष्ट्र बैंकले सोमबार दिउँसो नै फाइनान्समा एक निरीक्षण टोली पठाइसकेको छ। टोलीले मंगलबारसम्म यथार्थ विवरण तयार पार्ने ज्ञवालीले जानकारी दिए। उनले साँझ राष्ट्र बैंक बन्द हुने समयमा औपचारिक पत्र आएको भन्दै पूर्वस्वीकृति बिना बन्द गराएकाबारे आवश्यक छानबिनपछि कारबाही गरिने बताए।
कम्पनी स्रोतका अनुसार दिनदिनै निक्षेप घट्ने तर कतैबाट पनि आउने अवस्था नभएपछि फाइनान्सका कार्यकारी अध्यक्ष छविलाल भुसाल गत शुक्रबारबाट विदा लिएर बसेका छन्। भैरहवातिर गएर निक्षेप ल्याउन सकिन्छ भनेर उनी बिदामा बसेको स्रोतले बतायो। स्रोतका अनुसार बिदा लिएर गएका दिनदेखि नै भुसाल कम्पनीको सम्पर्कमा छैनन्।

गत वर्षको नाफाबाट चुक्ता पुँजीको साढे सात प्रतिशत नगद लाभांश दिएको फाइनान्सका महाप्रबन्धक केशवप्रसाद भट्टराईले सोमबार राष्ट्र बैंकका अधिकारीहरुलाई भेट्दै निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसक्ने अवस्थामा छाडेर कार्यकारी अध्यक्ष फरार भएकाले कार्यालय बन्द गर्नुपरेको बताएका थिए। उनैले पैसा नभएकाले कार्यालय बन्द गरेर साँचो बुझाउन आएको राष्ट्र बैंक अधिकारीलाई बताएका थिए।
राष्ट्र बैंक लगायत अन्य ठूला निक्षेपकर्ताले बचत रकम झिक्न थालेकाले भुक्तानीका लागि कम्पनीसँग पैसा नभएको उनले बताएका थिए। चैतसम्मको तथ्यांक अनुसार फाइनान्समा भएको कुल ८९ करोड १४ लाख रुपैयाँ निक्षेपमध्ये सोमबारसम्म संस्थागत निक्षेपकर्ता नागरिक लगानी कोषको १० करोड, राष्ट्र बैंकको १० करोड र बिमा संस्थानको ३ करोड रुपैयाँ छ।
राष्ट्र बैंकले पैसा फिर्ता गर्न नसकेर कार्यालय बन्द भएको खबर पाउना साथै उसलाई उच्च प्राथमिकता दिएर निगरानीमा राखेको जनाएको छ। ‘यसबारे मंगलबार आउने निरीक्षण टोलीको प्रतिवेदनले के गर्ने भनेर तय गर्छ,' राष्ट्र बैंक प्रवक्ता ज्ञवालीले भने।
२८ करोड ९० लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ८९ लाख रुपैयाँ छ। एक अर्ब ४ करोड रुपैयाँ त कर्जा प्रवाह नै गरेको छ। कम्पनीले कुल कर्जामध्ये जग्गा खरिद र प्लटिङका लागि मात्रै ५८ करोड ५७ लाख, घरकर्जा ३० करोड ६२ लाख र ओभरड्राफ्ट कर्जा २३ करोड ६५ लाख रुपैयाँ प्रवाह गरेको छ। कम्पनीको कर्जा-निक्षेप अनुपात ८७ दशमलव ५७ प्रतिशत छ। यो ८५ प्रतिशतभन्दा कम हुनुपर्छ।
चैतसम्म कम्पनीले ६४ लाख रुपैयाँ नाफा कमाएको थियो। पुँजी पर्याप्तता अनुपात २६ दशमलव ९९ प्रतिशत छ। राष्ट्र बैंकले यो अनुपात कम्तीमा ११ प्रतिशत कायम राख्नुपर्ने व्यवस्था गरेको छ। कम्पनीको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमा ५ प्रतिशतभन्दा तल अर्थात ३.०७ प्रतिशत छ।
प्रति सेयर आम्दानी २ दशमलव २५ प्रतिशत रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ९२ दशमलव ८८ प्रतिशत छ। प्रतिसेयर नेटवर्थ ११६ दशमलव ९६ र प्रति सेयर कुल सम्पत्तिको मूल्य ४५८ दशमलव १७ छ।


No comments:

Post a Comment

thanks for comment