गोर्खा बैंकले आजबाट निक्षेप फिर्ता गर्ने

काठमाडौं, जेठ १९ 
गोर्खा डेभलपमेन्ट बैंकले बिहीबारबाट निक्षेपकर्ताको पैसा फिर्ता गर्ने भएको छ। ४२ करोड रुपैयाँभन्दा वढी रकम बैंकको तरल अवस्थामा रहेकाले पैसा फिर्ता गर्न लागेको हो।
तत्काल मागेजति पैसा 
फिर्ता गर्न नसकिए 
पनि सवैको निक्षेप 
फिर्ता गर्न सक्ने 
अवस्था छ।
'तत्काल मागेजति पैसा फिर्ता गर्न नसकिए पनि हामी सवैको निक्षेप फिर्ता गर्न सक्ने अवस्थामा छौं,' बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार भट्टराईले बुधबार पत्रकार सम्मेलनमा भने, 'कर्जा पनि विस्तारै उठ्न थालेकाले ४५ दिनभित्र सवै अवस्था सहज भइसक्छ।' उनले अब्दुल कवाडीमार्फत १६ करोड रुपैयाँ कर्जा फिर्ता भएको जानकारी दिए। बैंकबाट अब्दुल कवाडीले १२ करोड ४१ लाख रुपैयाँ कर्जा लगेको थियो।
बैंकले दैनिक वढीमा एक लाख रुपैयाँसम्म निक्षेप भुक्तानी गर्ने जनाएको छ। बैंकले निक्षेप फिर्ता गर्न नसक्ने भएपछि बैंकिङ कारोबार नै बन्द गरेको थियो।
बैंकमा निक्षेपकर्ताको ३ अर्ब ५२ करोड रुपैयाँ बचत छ। ४ अर्ब ९ करोड रुपैयाँ कर्जा छ। बैंकमा २१ हजार निक्षेपकर्ता छन्। 'धेरैले पैसा तिरिरहेका छन्,' उनले भने, 'संस्थागत निक्षेपकर्ताले नि राम्रो व्यवस्थापन भए निक्षेप झिक्दैनौं केही समय पर्खिन्छौं भनेकाले बैंक सुधार गर्ने आधारहरु वलियो भएर गएको छ।' उनले आगामी ४ महिनाभित्र बैंकलाई पुरानै अवस्थामा फर्काउन सकिने बताए।
चैतसम्म बैंकको पुँजीकोष २ दशमलव १ प्रतिशत छ। राष्ट्र बैंकले यो ११ प्रतिशत तोकेको छ। बैंकको खराव कर्जा १७ प्रतिशत पुगेको छ। यो पाँच प्रतिशतभन्दा वढी हुन हुँदैन।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका भट्टराईले ठूला निक्षेपकर्ताले पैसा राख्ने वातावरण भए कारोबार वढेर पुराना निक्षेपकर्तालाई पैसा फिर्ता गर्न अझ सजिलो हुने बताए। 'हामीले ठूला निक्षेपकर्तालाई पैसा राख्ने छुट दिन राष्ट्र बैंकसँग आग्रह गरेका छों,' उनले भने, 'यो भयो भने तरलता वढेर कारोबार गर्न सजिलो हुन्छ।'
बैंकका सल्लाहकार तुलसीप्रसाद उप्रेतिले ६/७ वटा ठूला कर्जा उठ्ने वित्तिकै बैंकको खराव कर्जा हटेर पुँजीकोष ११ प्रतिशतभन्दा माथि पुग्ने बताए। 'निक्षेपकर्ताले केही समय धैर्य गरिदिए बैंकलाई पुरानै अवस्थामा फर्काउन कुनै समस्या छैन,' उनले भने, 'हामीले पनि एकदमै मिहिनेत गरेर काम गरिरहेका छौं। प्रतिफल राम्रो निस्कन्छ।' उनले बैंकलाई सक्षम बनाउन उच्च व्यवस्थापनमा विज्ञ जनशक्ति नियुक्त गरिने जानकारी दिए।
बैंकलाई राष्ट्र बैंकले गत चैत ११ गते समस्याग्रस्त घोषणा गर्दै कर्जा प्रवाह र निक्षेप संकलनमा रोक लगाएको थियो। चैत २८ मा भएको साधारणसभाबाट नयाँ सञ्चालक समिति आएपछि बैंक सुधारको दिशातर्फ वढेको छ।
 
 

No comments:

Post a Comment

thanks for comment