पिपल्स फाइनान्स आजबाट खुल्ने

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २६- 
निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेर सोमबारबाट बन्द भएको पिपल्स फाइनान्स बिहीबारबाट सञ्चालनमा आउने भएको छ। कम्पनीले कर्जा उठाएर निक्षेपकर्ताको पैसा फिर्ता गर्न कार्यालय खोल्न लागेको हो।
'बिहीबारबाट कार्यालय सुचारु गरेर तत्काललाई कर्जा उठाउन थाल्छौं,' फाइनान्सका महाप्रबन्धक केशवप्रसाद भट्टराईले बुधबार नागरिकसँग भने, 'बचतकर्ताको पैसा तत्काल फिर्ता गर्न नसके पनि कर्जा उठेर कोष जम्मा भएपछि दिनेछौं।' कम्पनीले बुधबार बेलुकीसम्म साढे तीन करोड रुपैयाँ कर्जा उठाइसकेको छ। २५ लाख रुपैयाँ कम्पनीसँग पहिले नै थियो। 
छविलाल भुसाल
 फरार भएका पिपल्स फाइनान्सका कार्यकारी अध्यक्ष छविलाल भुसाल बुधबारसम्म सम्पर्कमा नआएपछि कम्पनीले राष्ट्र बैंकसँग परामर्श गरी कार्यालय खोल्न लागेको हो। 'कार्यालयै बन्द हुँदा गलत सन्देश जाने भएकाले तत्काल खोलेर सर्वसाधारणलाई जवाफ दिन निर्देशन दिएका हौं,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'अध्यक्ष भागे पनि कम्पनीले प्रवाह गरेको एक अर्ब ८ करोड रुपैयाँ कर्जा उठाउन सक्ने भएकाले पैसा उठाएर निक्षेपकर्तालाई फिर्ता गर्न भनेका हौं।'
भट्टराईका अनुसार कम्पनीको आर्थिक अवस्था राम्रो भए पनि तत्काललाई तरलता अभाव हुँदा पैसा फिर्ता गर्न नसकिएको हो। 'कर्जा उठ्दै गएपछि निक्षेप फिर्ता गर्दै जान्छौं,' उनले भने, 'केही दिनभित्रै निक्षेप फिर्ताको तालिका तयार पार्छौं।' उनले निक्षेपकर्ताको पैसा फिर्ता गर्न कम्पनी कोष व्यवस्थापन गरिरहेको जानकारी दिए।

राष्ट्र बैंकले पूर्वजानकारी बिनै कम्पनी बन्द भएको खबर पाउना साथ फाइनान्समा सोमबार विशेष निरीक्षण टोली खटाइसकेको छ। टोलीले बुधबार बेलुकीसम्म पनि कुनै प्रतिवेदन बुझाएको छैन। टोलीको प्रतिवेदन नआइसकेकाले अहिले नै केही भन्ने अवस्था छैन,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने।
फाइनान्सलाई जेठ मसान्तमा अवधि पुग्ने करिब १५ करोड निक्षेप भुक्तानी गर्न कम्पनीलाई संस्थागत निक्षेपकर्ताले पत्राचार गरिसकेका छन्। भट्टराईका अनुसार कुल ८३ करोड निक्षेपमध्ये ३५ करोड संस्थागत निक्षेपकर्ताको छ। 'संस्थागतले निक्षेप नझिक्ने कुरा आएकाले चाँडै पहिलेकै अवस्थामा कम्पनी सञ्चालन हुनेमा विश्वस्त छौं,' उनले भने।
रियलस्टेट बजार उकालो लागेका बेला विभिन्न चरणमा कार्यकारी अध्यक्ष भुसालले जग्गामा कर्जा प्रवाह गरेका थिए। प्रवाह भएको कर्जाको किस्ता र ब्याज उठ्न छाडेसँगै संस्थागत निक्षेपकर्ता राष्ट्र बैंकले सात करोड झिकेर लगिदिएपछि कम्पनीमा चरम तरलता अभाव भएको थियो।
तरलता अभावले सर्वसाधारणको पैसा फिर्ता गर्न नसक्ने भएपछि भुसाल फरार भएका हुन्। 'एकपछि अर्को गर्दै कर्जा डुब्न थालेको छ,' फाइनान्स स्रोतले भन्यो, 'निक्षेपभन्दा बढी कर्जा बढी भएकाले तरलता एकदमै अभाव हुन थालेको थियो।' फाइनान्स स्रोतका अनुसार भुसाल मुटुको उपचार गर्न दिल्ली पुगेका छन्।
भुसालले विभिन्न १२ जनाको नाममा घरजग्गामा मनपरी कर्जा प्रवाह गरेका छन्। व्यक्तिगत जमानी तथा धितो राखेर प्रवाह भएको कर्जा भुसालले आफ्नै व्यावसायिक उद्देश्यका लागि प्रयोग गरेका हुन्। 'प्रवाह गरेको कर्जा पनि नउठ्ने भएकाले राष्ट्र बैंकले कारबाही गर्ने निश्चित भएकाले भुसाल भाग्न बाध्य भए,' स्रोतले भन्यो। उनले अर्घाखाँची र काठमाडौंको नागदहको जग्गा धितो राखेर करिब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो कर्जाको एक पैसा पनि ब्याज र किस्ता उठेको छैन। धितोको उच्च मूल्यांकन गराई प्रवाह भएको कर्जा भुसालले घरजग्गा तथा प्लटिङमा प्रयोग गरेका छन्।
व्यवस्थापन र सञ्चालक समिति दुवैका प्रमुख भुसालले आफूखुसी निर्णय गरी कर्जा दुरुपयोग गरेका हुन्। स्रोतका अनुसार कार्यकारी अध्यक्ष भुसाललाई १५ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्ने अधिकार सञ्चालक समितिले दिएको थियो। 'उहाँ धेरैचोटी पैसा उठ्न गाह्रो भयो भन्दै भैरहवा जानुहुन्थ्यो,' फाइनान्स स्रोतले भन्यो, 'भैरहवातिरका व्यापारीसँग निक्षेप मागेर ल्याउन भनेर धेरै चोटी जाने गरेकाले शुक्रबार हिँडेका उहाँलाई हामीले केही दिनसम्म खोजेनौं। तर पैसा फिर्ता गर्न पनि नसकिने र उहाँ पनि सम्पर्कमा नआएकाले कम्पनी बन्द गर्यौं।'
निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सोमबारबाटै फाइनान्स कम्पनीले महाबौद्धको केन्द्रीय कार्यालयसहित, त्रिपुरेश्वर र रुपन्देहीको सिद्धार्थनगर शाखा कार्यालय बन्द गरेको छ।

No comments:

Post a Comment

thanks for comment