सेनाले विकास बैंक र फाइनान्स कम्पनीबाट पैसा झिक्न थाल्यो

 सुदर्शन सापकोटा
काठमाडौं, जेठ २०- 
नेपाली सेनाले विकास बैंक र फाइनान्स कम्पनीमा रहेको निक्षेप फिर्ता उठाउन थालेको छ। पछिल्लो समयमा विकास बैंक तथा फाइनान्स कम्पनीको निक्षेप असुरक्षित देखिन थालेपछि सेनाले पैसा झिक्न सुरु गरेको हो।
 मेडिकल कलेज सञ्चालन
र कल्याणकारी कार्यक्रमलाई
पैसा चाहिएकाले निक्षेप
उठाउन थालेका हौं

 सेनाका प्रवक्ता 
रमिन्द्र क्षेत्री
सेनाले निक्षेपको अवधि नपुगेका संस्थामा त्यसको ९० प्रतिशत ऋणकै रुपमा पैसा फिर्ता गर्न पत्राचार गरिरहेको छ। अवधि पुगेका निक्षेपको नवीकरण रोकेको छ। ब्याजमा आकर्षित भएर लगानी गरेको सेनाले पछिल्लो समयमा वित्तीय संस्थामा राखेको निक्षेप असुरक्षित भएकाले फिर्ता लिन थालेको हो। नेपाली सेनाको बैंकिङ क्षेत्रमा साढे १६ अर्ब रुपैयाँ निक्षेप छ। गत साताबाट विभिन्न विकास बैंक र फाइनान्स कम्पनीलाई पत्रचार गर्न थालेको सेनाले बिहीबारसम्म ३३ करोड रुपैयाँ उठाउने प्रक्रिय पुरा गरिसकेको छ।
'आफ्नै प्रयोजनका लागि खर्च गर्नु पर्ने भएकाले पैसा उठाउन थालिएको हो,' सेनाका सहायक रथी तथा प्रवक्ता रमिन्द्र क्षेत्रीले बिहीबार नागरिकसँग भने, 'अवधि पूरा भएका त फिर्ता लिनमात्रै हो। अवधि नपुगेकाको पनि कर्जाकै रुपमा उपलब्ध गराउन पत्राचार गरिरहेका छौं।' मुद्दति खातामा राखेको रकम अवधि नपुगी झिक्नु परेमा त्यसको ९० प्रतिशत रकम कर्जाका रुपमा पाउन सकिन्छ। यसको ब्याज भने निक्षेप राख्दाको भन्दा केही महँगो हुन्छ।
'पैसा आवश्यक पर्‍यो भनेर सेनाले पत्र पठाइरहेको छ,' डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष झपड बोहोराले भने, 'उनीहरुको पैसा भएकाले नझिक भन्न मिल्दैन। तर तरलता अभाव चर्किएका बेला पैसा फिर्ता लिन थालेकाले यसले थप संकट आउने निश्‍चित छ।' उनले एकैचोटी पैसा फिर्ता नलिइदिन सेनासँग आग्रह गरिने बताए।
वित्तीय संस्थाका अधिकारीहरुले भने राष्ट्र बैंकले गत साता विकास बैंक र फाइनान्स कम्पनीमा रहेको १ अर्ब ७० करोड रुपैयाँ निक्षेपको अवधि पुगेपछि त्यो पैसा झिकेर वाणिज्य बैंकमा राखेकाले नेपाली सेना डराएर पैसा झिक्न तम्सिएको बताउँछन्। 'पहिलेजस्तो प्रतिस्पर्धा नगराई वित्तीय कम्पनीको पैसा वाणिज्य बैंकमा सारेकाले सेना सशंकित भएर पैसा झिक्न थालेको हो,' बोहोराले भने, 'प्रतिस्पर्धा गराएर पैसा दिएको भए समस्या हुन्न थियो।' राष्ट्र बैंकले गत साता वित्तीय संस्थाबाट पैसा झिकेर ११ वाणिज्य बैंकलाई दिएको थियो।
पछिल्लो समयमा समस्यामा परेका पाँचै वित्तीय संस्थामा सेनाको पैसा डुवेपछि उसले विकास बैंक र फाइनान्स कम्पनीमा नराख्ने रणनीतिअनुसार धमाधम निक्षेप उठाउन थालेको हो। खारेजीमा गएको नेपाल विकास बैंकमा १८ करोड, खारेजी प्रकृयामा रहेको सम्झना फाइनान्समा १ करोड ७५ लाख, समस्याग्रस्त युनाइटेड विकासमा ७ करोड, गोर्खा विकासमा ६ करोड र नेपाल सेयर मार्केटमा ४ करोड रुपैयाँ निक्षेप छ। गोर्खामा रहेको १२ करोडमध्ये केही समयअघि मात्रै उसले ६ करोड रुपैयाँ उठाएको थियो।
'समस्यामा परेका सवै वित्तीय संस्थाहरुमा पैसा फसेकाले नेपाली सेना तर्सिएर पैसा झिक्न खोज्नु स्वभाविक हो,' वित्तीय कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले नागरिकसँग भने, 'हिजोको दिन सहज थियो माग्ने वित्तीकै फिर्ता गर्न समस्या हुन्न थियो। अहिले मागिदिँदा समस्या भएको हो।' उनले मागेका बेला विना हिच्किचावट पैसा फिर्ता दिनु पर्ने बताए।
नेपाली सेनाले भने मेडिकल कलेज तथा कल्याणकारी कार्यक्रमका लागि पैसा फिर्ता मागिएको जनाएको छ। 'मेडिकल कलेज सञ्चालन र कल्याणकारी कार्यक्रमलाई पैसा चाहिएकाले निक्षेप उठाउन थालेका हौं,' सेनाका प्रवक्ता क्षेत्रीले भने, 'अवधि पुगेको निक्षेप रकमले मात्र नपुग्ने भएकाले निक्षेप कर्जासमेत लिन लागिएको हो।'
फाइनान्स कम्पनीका अधिकारीले सेनालाई एकैचोटी पैसा नझिकिदिनका लागि पहल गरिदिन गत साता रक्षामन्त्री विष्णु पौडेलसँग आग्रहसमेत गरेका थिए। विकास बैंकले यही साता सेनाका अधिकारीहरुसँग भेट्दै छ।
बैंकिङ क्षेत्र देखिएको समस्याका बारेमा गत साता सेनाले राष्ट्र बैंकसँग मरामर्शसमेत गरेको थियो। उसले समस्यामा परेका संस्थाको संख्या वढ्न थालेको भन्दै पैसा राख्न कुन संस्था सुरक्षित छ भनेर परामर्श गरेको थियो। राष्ट्र बैंकले भने वित्तीय स्थीति कुनै पनि संस्थाको नराम्रो नभएकाले पैसा राख्न डराउनु नपर्ने जवाफ दिएको थियो। उसले अन्य संस्थागत निक्षेपकर्तासँगै सेनाका अधिकारीसँग एकैचोटी पैसा नझिकी दिनसमेत आग्रह गरेको थियो।
 

No comments:

Post a Comment

thanks for comment