बैंकहरु अल्पकालिन कर्जामा सीमित

अल्पकालिन कर्जाको ब्याज वढीमा १४ प्रतिशत
सुदर्शन सापकोटा
काठमाडौं जेठ २१
तरलता अभावले ठूलो र लामो अवधिको कर्जा दिन नसक्ने भएपछि वाणिज्य बैंकहरुले कारोबार धान्नका लागि छोटो अवधिको कर्जामा सीमित भएका छन् । आर्थिक वर्ष सकिन डेढ महिना पनि वाँकी नभएको अवस्थामा कतैबाट पनि निक्षेप आउन नसकेकाले उनीहरुले ऋण उठ्न वढी समय लाग्ने र जोखिम उठाउनु पर्ने क्षेत्रमा कर्जा वन्द गरेका हुन् ।
राजनीतिक अस्थिरताका 
कारण अर्थतन्त्र जुनसुकै 
बेला थप तल जानसक्ने
विश्लेषण गर्दै सानो सानो 
आकारमा जाने अल्पकालिन 
क्षेत्रमा कर्जा दिन थालेका हुन् ।
'आर्थिक वर्ष सकिन लागेकाले जोखिम उठाउन सक्ने अवस्था छैन,' नेपाल कमर्ज एन्ड ट्रष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनल भट्टराईले नागरिकसँग भने, 'त्यही भएर छोटो अवधिको कर्जामा केन्द्रित भएका छौं ।' उनले निक्षेप नवढेको अवस्थामा ठूला र कर्जा उठ्न समय लाग्ने क्षेत्रमा लगानी गर्न असजिलो भएको जानकारी दिए ।
बैंकहरुले पस्रनल फाइनान्स अधिविकस्र ओभरड्राफ्ट व्यापारिक र औद्योगिकजस्ता छोटो अवधिको शिर्षक भएका क्षेत्रमा कर्जा दिएका हुन् । पछिल्लो एक महिनामा वढेको करिव दुई अर्ब कर्जा बैंकहरुको अल्पकालिन योजनाअन्तर्गत दिएका हुन् ।
'तरलता सहज नभएसम्म दीर्घकालिन कर्जा बैंकहरुले प्राथमिकता वाहिर नै रहन्छ,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नागरिकसँग भने, 'बैंकहरुको कर्जा-निक्षेप अनुपात वढी भएका कारण पनि लगानी गर्न सक्ने अवस्था छैन । त्यसैले कर्जा दिएको केही समयभित्रै पैसा उठ्ने अल्पकालिन क्षेत्रमा केन्द्रित हुनु परेको हो ।'
बैंकरका अनुसार रियलस्टेट नयाँ उद्योग र सेयरसँगै हायरपर्चेज विलासी उपभोक्ता कर्जा साना तथा मझौला उद्योगमा समेत कर्जा लगानी रोकिएको छ ।' अर्थतन्त्र नै नराम्रो भएको अवस्थामा समय लाग्ने ठाउँमा कर्जा दिन समस्या नै हुन्छ,' भट्टराईले भने, 'पछिल्लो समयमा पहिले चलेका क्षेत्रको व्यवसाय खस्किएकाले पनि तत्काललाई छोटो अवधिमा जानु पर्ने वाध्यता आएको हो ।' उनले तत्काल उपभोग र वढी माग हुने उपभोग्य सामग्रीलगायतमा कर्जा गइरहेको जानकारी दिए ।
मूल्य वढेर किस्ता र ब्याज समयमा नै ख्वाउँदै आएको रियलस्टेट सेयर कर्जामा राष्ट्र बैंकले सीमा तोकिदिएपछि यसको बजार ह्वात्तै घटेको छ । कारोबार घटेकाले रियलस्टेट कर्जाले पछिल्लो ६ महिनादेखि ब्याज ख्वाउनसमेत छाडेको छ । ८० अर्ब रुपैयाँ यस क्षेत्रमा लगाएका वाणिज्य बैंकले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र जुनसुकै बेला थप तल जानसक्ने विश्लेषण गर्दै सानो सानो आकारमा जाने अल्पकालिन क्षेत्रमा कर्जा दिन थालेका हुन् ।
'आवश्यकता अनुसार निक्षेप नवढे पनि भएकै निक्षेपलाई वढी व्याज तिर्नु परिरहेकाले अल्पकालिन कर्जा दिनु परेको हो,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'नत्र कर्जा-निक्षेप अनुपातका कारण कर्जा वढाउन सक्ने अवस्था नै छैन ।' राष्ट्र बैंकका अनुसार गत सातासम्म वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ८९ प्रतिशतको हाराहारीमा छ । आगामी असार मसान्तसम्म यो ८५ प्रतिशतमा झरिसक्नु पर्छ ।
बैंकहरुले छोटो अवधिको कर्जा १३ देखि १४ प्रतिशत ब्याजमा उपलब्ध गराइरहेका छन् । अल्पकालिन अवधिको कर्जा करिव ९० दिनसम्मको हुन्छ । बैंकहरुले मुद्दति निक्षेपमा १२ प्रतिशतसम्म बचतकर्तालाई ब्याज दिइरहेका छन् । 'एकदमै थोरै स्प्रेड निक्षेप र कर्जाको ब्याजबीचको फरक लिएर अल्पकालिन कर्जा दिइरहेका छौं,' ती बैंकरले भने, 'लामो अवधिका लागि पैसा दिँदा अलि वढी ब्याज आउँछ । तर असार मसान्तसम्म कर्जा-निक्षेप अनुपात घटाउनु पर्ने भएकाले तुरुन्तै पैसा उठ्ने क्षेत्रमा थोरै ब्याज आउने भएपनि कर्जा दिएका हौं ।' उनले तरलता अभावले निक्षेप महँगिएकाले चालु वर्ष बैंकहरुको नाफामा ठूलो असर पर्ने बताए ।

No comments:

Post a Comment

thanks for comment