ठूला बैंकमा निक्षेप बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं, असार १४- 
अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्न नसकेका बेला ठूला र पुराना सरकारी तथा निजी वाणिज्य बैंकमा पैसा जम्मा गर्ने क्रम बढेको छ। सरकारी बैंकहरू राष्ट्रिय वाणिज्य, नेपाल बैंक र कृषि विकास बैंकसहित निजी क्षेत्रका एक दर्जन बैंकलाई सर्वसाधारणले बढी पत्याएका छन्।
वित्तीय संस्थामा 
समस्या देखिँदा 
सर्वसाधारण अत्तालिएर
पैसा सुरक्षित 
स्थानमा सार्नु 
स्वाभाविक हो
 अशोक राणा
 'वित्तीय संस्थामा समस्या देखिँदा सर्वसाधारण अत्तालिएर पैसा सुरक्षित स्थानमा सार्नु स्वाभाविक हो,' नेपाल बैंकर्स संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अशोक राणाले सोमबार नागरिकसँग भने, 'सरकारी र निजी क्षेत्रका ठूला बैंकमा पैसा राख्ने क्रम बढेको छ।'
तर, निक्षेपकै आधारमा ठूला बैंकलाई मात्रै राम्रो भनी अर्थ्याउन नमिल्ने उनले बताए। 'ठूला बैंकमात्रै राम्रो भन्ने होइन। सर्वसाधारणले पुराना र सरकारी बैंकलाई प्राथमिकता दिए पनि कुनै पनि बैंक तथा वित्तीय संस्थामा पैसा राख्दा समस्या छैन,' उनले भने।
राष्ट्र बैंकका अनुसार एक महिना अघिसम्म विकास बैंक र फाइनान्स कम्पनीमा १ खर्ब ७५ अर्ब रुपैयाँ जम्मा थियो। अहिले १ खर्ब ६५ अर्बमा झरेको छ। दुई सातायता ३१ वाणिज्य बैंकमा ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भयो। त्यसमध्ये अधिकांश निक्षेप ठूला र पुराना बैंकमा गएको राष्ट्र बैंक स्रोतले बतायो। नेपाल बैंकका कार्यकारी प्रमुख महेश्वरलाल श्रेष्ठले सरकारी बैंक भएकाले सर्वसाधारणको विश्वास धेरै भएको र प्रतिकूल अवस्थामा पनि निक्षेप बढेको जानकारी दिए। उनका अनुसार नेपाल बैंकमा करिब १ अर्ब रुपैयाँ निक्षेप बढेको छ। 'अविश्वासको वातावरणले मात्र नेपाल बैंकमा पैसा आएको होइन,' उनले भने, 'बैंकले गुणस्तरीय सेवा दिन थालेकाले पनि सर्वसाधारणले पत्याएका हुन्।'
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका कर्पोरेट मामिला प्रमुख दिवाकर पौडेलले दुई सातायता बैंकमा करिब ३० करोड निक्षेप बढेको जानकारी दिए। 'निजी क्षेत्रका ठूला र सरकारी बैंकप्रति सर्वसाधारणको विश्वास बढी छ,' उनले भने, 'विश्वासकै कारणले पैसा विस्तारै बढ्न थालेको छ।'
विगतमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक वित्तीय रूपमा टाट उल्टिने अवस्थामा पुग्दा पनि सरकारी बैंक भएकाले कुनै निक्षेपकर्ता जोखिममा परेनन्। सरकारले दुवै बैंक उकास्न र राष्ट्र बैंकको पुनर्संरचनाका लागि विश्व बैंकसँग ऋण लिएर वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गर्‍यो। यही घटनाले सरकारी बैंकमा पैसा राख्दा जोखिम हुँदैन भन्ने विश्वास निक्षेपकर्तामा रहेको बैंकरहरू बताउँछन्।

ठूला र पुराना बैंकमा समस्या परे राष्ट्र बैंकले हेर्छ भन्ने नजिर नेपाल बंगलादेश बैंकबाट पनि देखिन्छ। यो बैंक समस्यामा पर्दा राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिएर समस्यामुक्त गरेको थियो। वित्तीय कम्पनी संघका पूर्वअध्यक्ष रामशान्त श्रेष्ठ 'जुन संस्थाप्रति विश्वास छ, त्यसैमा पैसा जाने' बताउँछन्।
विगतमा बढी व्याजको आसमा जस्तोसुकै संस्थामा पैसा राखेका निक्षेपकर्ताले व्याजको मतलब छाडेर सुरक्षालाई महत्व दिइरहेको उनले बताए। 'अहिले व्याजभन्दा पैसा सुरक्षित राख्नेमा बढी चासो छ,' उनले भने।
चार महिनायता सम्झना फाइनान्स, युनाइटेड विकास बैंक, गोर्खा डेभलपमेन्ट बैंक, नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सियल इन्स्टिच्युसन, पिपल्स फाइनान्स, भिबोर विकास बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स समस्यामा परेका छन्। यसमध्ये पिपल्स, भिबोर र क्यापिटलमा रकम अभावको समस्या देखिएको हो। अन्य भने ऋण दुरुपयोग लगायत सुशासन अभावले समस्यामा परेका हुन्।
'आफ्नो सम्पति सुरक्षित राख्नु मानवीय स्वभाव हो,' डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष इन्द्रराज हुमागाईंले भने, 'समग्र बजारमा विश्वास नभएपछि आफूलाई सुरक्षित लागेको संस्थामा पैसा राखिन्छ।'

No comments:

Post a Comment

thanks for comment