खेतानद्वारा बोटलर्सको साढे ७२ करोडको सेयर बिक्री

काठमाडौं, साउन २ -
केही समयअघि गोर्खा ब्रुअरीको सेयर बेचेको खेतान समूहले बोटलर्स नेपालको सेयर पनि बिक्री गरेको छ। समूहका सदस्य प्रेमप्रकाश खेतानका नाममा रहेको बोटलर्सको ७२ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर गोरखा ब्रुअरीलाई बिक्री गरिएको हो।गोरखा ब्रुअरी पनि खेतान समूहअन्तर्गतकै विदेशी साझेदारीमा सञ्चालित कम्पनी हो।
राजेन्द्र खेतान
स्टक एक्सचेन्जको तथ्यांकअनुसार गोरखा ब्रुअरीले प्रति सेयर १ हजार ६ सय ९१ रुपैयाँमा बोटलर्सको ४२ लाख ८८ हजार ५ कित्ता सेयर किनेको हो । खेतान समूहले केही वर्षअघि बोटलर्सको २२ प्रतिशत सेयर किनेको थियो। त्यही सेयर अहिले बिक्री गरिएको हो। उच्च नाफा कमाइरहेकाले बोटलर्सको सेयर खेतान समूहले आफ्नै कम्पनीलाई बेचेको हो।
खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानले लक्ष्मी बैंकमा गाभिने गरी अरु बैंक किन्न बोटलर्सको सेयर बिक्री गरिएको जानकारी आइतबार नागरिकलाई दिए। 'बैंक खरिद गर्न ५ अर्ब पुँजी चाहिएको छ,' उनले भने,'एक बैंक गाभिएपछि अर्को खरिद गरिने छ।'
लक्ष्मी बैंक, प्राइम लाइफ इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्समा बहुमत सेयर रहेको समूहले यसमा लगानी बढाउने नीति लिएको छ। लक्ष्मी बैंकको चुक्ता पुँजी तीनदेखि पाँच अर्ब पुर्‍याउने खेतानले बताउँदै आएका छन्। अहिले बैंकको पुँजी १ अर्ब ६१ करोड रुपैयाँ छ।
चालु आर्थिक वर्षको पहिलो दिन कारोबार भएकाले समूहलाई पुँजीगत लाभकरमा ५ प्रतिशत लाभ भएको छ। दुई दिन अगाडि कारोबार गरेको भए समूहले १५ प्रतिशत लाभकर बुझाउनुपर्थ्यो। तर, चालु बजेटले कम्पनीका लागि लाभकर १५ बाट १० प्रतिशतमा झारेकाले समूहलाई ५ प्रतिशत नाफा भएको हो।
केही समयअघि समूहले कार्ल्सबर्ग सिंगापुरलाई गोरखा ब्रुअरीको सेयर ४ करोड अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) मा बिक्री गरेको थियो। डेनिस कार्ल्सबर्गको ५० र समूहको ५० प्रतिशत सेयर रहेको गोर्खा ब्रुअरीमा सेयर बिक्रीपछि समूहको १० प्रतिशत मात्र हिस्सा बाँकी छ।
उक्त रकम टेलिकम, हस्पिटलमा लगानी गर्ने समूहका खेतानले बताएका थिए। समुहले बिमा र बैंकिङ क्षेत्रमा लगानी विस्तारसमेत गर्ने उनले बताएका थिए। उनले उद्योगमा हुने बन्द, हड्ताल, लोडसेडिङले निरास भएर सेवा क्षेत्रमा लगानी गर्न खोजिएको जनाएका थिए।
समूहले आधुनिक अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ। अस्पताल खोल्न त्रिपुरेश्वरमा सात रोपनी जग्गासमेत समूहले किनिसकेको छ। चिकित्सक र गैरसरकारी संस्थाको संयुक्त लगानीमा अस्पताल सञ्चालनमा ल्याउने समूहको योजना छ। यसका लागि प्रारम्भिक चरणमा समूहले एक अर्ब रुपैयाँ लगानी गर्दैछ।
मेडिकल र नर्सिङ कलेजसमेत स्थापना गर्ने समूहको योजना छ। यो सबै गर्न ४ अर्ब रुपैयाँ आवश्यक पर्ने खेतानले बताउँदै आएका छन्। टेलिकम कम्पनी सञ्चालन गर्ने योजना पनि समूहको छ।
समूहको उत्पादनमूलक क्षेत्र गोर्खा बु्रअरी, हिमालयन स्न्याक्स एन्ड नुडल्स र हिमालयन पेट्रोकेमिकमा लगानी छ। हिमालयन बैंकमा संस्थापक सेयर छ। समूहअन्तर्गतका कम्पनीले अघिल्लो वर्ष ३ अर्ब ५६ करोड रुपैयाँ कर तिरेका थिए।

No comments:

Post a Comment

thanks for comment