बैंकले कर्जाको ब्याज बढाए

सुदर्शन सापकोटा
काठमाडौं, साउन ५- 
बैंकबाट कर्जा लिएर घरजग्गा र गाडी किनेका ऋणीलाई एक वर्षभित्रै दुईपटक ब्याज बढ्दा थप व्ययभार परेको छ। पुँजी लागत बढेको भन्दै बैंकहरुले कर्जाको ब्याज बढाउँदा ऋणीहरुको भार बढेको हो।
 'मुद्दति निक्षेप त महँगै थियो त्यसमाथि बचत खाताको समेत ब्याज बढेर पुँजी लागत नै माथि पुग्यो,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बुधबार नागरिकसँग भने, 'धान्नै नसक्ने भएपछि बढाइएको हो।' बैंकहरुको ब्याज पछिल्लो छ महिनादेखि स्थिर थियो। राष्ट्र बैंकले दुई बचत खाताको अन्तर २ प्रतिशत बिन्दुभन्दा फरक हुन नहुने व्यवस्था गरेपछि बैंकहरुले सस्तोमा लिएको बचतलाई पनि बढी मूल्य दिनुपरेको हो।
आधा दर्जन वाणिज्य बैंकले कर्जाको ब्याज बढाइसकेका छन्। पछिल्लो समय मुद्दतिसँगै बचत खाताको ब्याजसमेत बढेर लागत अकासिएपछि कर्जाको ब्याज बढाएको बैंकरहरु बताउँछन्। साउन १ बाट लागु हुने गरी एनएमबी, ग्लोबल, किस्ट, सिद्धार्थ, माछापुच्छे्रलगायत बैंकले कर्जाको ब्याज बढाएका हुन्।
बैंकहरुले शून्य दशमलव ५ देखि एक दशमलव ५ प्रतिशत बिन्दुसम्म ब्याज बढाएका हुन्। नयाँ ऋणीले अब कर्जा साढे १६ प्रतिशतसम्म ब्याज तिरेपछि मात्रै पाउँछन्। पुरानाले पनि साढे १४ प्रतिशतसम्म ब्याज तिर्नु पर्ने भएको छ। 'निक्षेप नै अहिले महँगिएको छ,' किस्ट बैंकका नायब महाप्रबन्धक विएन घर्तीले भने, 'त्यही भएर एक प्रतिशत बिन्दुले कर्जाको ब्याज पनि बढाएका हौं।' उनले पछिल्लो समयमा लागत बढेर गएकाले बाँकी बैंक वित्तीय संस्थाले समेत ब्याज वढाउने दाबी गरे।
६ महिनाअघिसम्म पनि कम लागतको कोषबाट स्प्रेड दर (निक्षेप र कर्जाबीचको फरक) कम राखेर लगानी गरिरहेका बैंकहरु यति बेला महँगो लागतको कोष प्रयोग गर्न बाध्य भएकाले कर्जाको ब्याज बढाउनुपरेको बैंकर्सहरु बताउँछन्। 'अहिले कम मार्जिनमा काम गरिरहेका छौं,' बैंकर्स संघका पूर्वअध्यक्ष तथा एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले भने, 'स्प्रेड दर औसतमा तीन प्रतिशतभन्दा कम छ।'
बैंकरका अनुसार पछिल्लो समय बैंकिङ क्षेत्रमा जोखिम बढेर गएकाले तरलताको जोहो जसरी पनि गर्नुपर्ने भएको छ। तरलताको जोहो गर्नका लागि महँगोमा निक्षेप लिने र भएको कर्जालाई घटाउनु परेको छ। 'कर्जा घटाउने र निक्षेप वढाउने हुँदा खर्च बढ्छ,' पौडेलले भने, 'त्यसपछि धान्न पनि ब्याज बढाउनुपरेको हो।' उनले बैंकमा पर्याप्त तरलता राख्न पनि आम्दानीको मुख्य स्रोत कर्जा घटाएर यसको ब्याज भने बढाउनुपरेको जानकारी दिए।
'डेढ वर्षदेखि १२ प्रतिशतमा निक्षेप लिइरहेका छौं। लिएको निक्षेपमध्ये २० प्रतिशत तरलता कोष समायोजन गर्दा ८० प्रतिशतमात्र लगानी गर्न पाइन्छ,' एक बैंकरले भने, 'यसले १२ प्रतिशतमा लिएकोे निक्षेपको लागत सोझै १३ प्रतिशत पुग्छ। सञ्चालनलगायत अन्य खर्च गरेर कर्जाको ब्याज निर्धारण गरिने हुँदा कम स्प्रेडमा कर्जा दिन सकिने अवस्थै रहेन।'
ती बैंकरका अनुसार महँगो ब्याज तिर्दासमेत निक्षेप बढ्न नसक्दा बैंकहरुले कर्जा निरुत्साहित गरेर तरल अवस्थामा बस्न यसको ब्याज बढाउनुपरेको हो। पछिल्लो दुई महिनायता पुराना परियोजनाका लागि बाहेक नयाँमा कर्जा माग भएको छैन।

अघिल्लो आर्थिक वर्षको अन्त्यतिर निक्षेप करिब ४० अर्बले वृद्धि भएपछि ब्याजदर सामान्य घटाएका बैंकहरुले त्यसयता तीन पटकसम्म ब्याज पढाइसकेका छन्। अहिले बैंकहरुसँग गत वर्ष महँगोमा लिएको निक्षेप छ। त्यसमाथि राष्ट्र बैंकले दुई बचत खाताबीचको फरक २ प्रतिशत बिन्दुभन्दा बढीको फरक हुन नहुने व्यवस्था गरेकाले पुरानो बचत खातामा महँगिएको छ। 'महँगो निक्षेप भएकाले लागत घटाउन सकिएन,' पौडेलले भने, 'त्यही भएर कम स्प्रेडमा काम गर्न सकिएन।'
सरकारी खर्च हुन नसक्दा तरलता अभाव भएर निक्षेपको ब्याज दर तल आउन नआएपछि बैंकहरु त्यो पैसा पुन महँगोमा नै नवीकरण गर्न वाध्य छन्। गत वर्ष अघिल्लो वर्षका केही सस्ता दरका निक्षेपका कारण कम स्प्रेडमा नै लगानी गर्न सक्षम भएका बैंकसँग अहिले त्यो विकल्प छैन।

No comments:

Post a Comment

thanks for comment