भिवोर बैंक र भाजुरत्न फाइनान्स गाभिने

काठमाडौं, असार ३१ 
भिवोर विकास बैंक र भाजुरत्न फाइनान्स एन्ड सेभिङस कम्पनी एक आपसमा गाभिने (मर्ज हुने) भएका छन्। आगामी ६ महिनाभित्र गाभिसक्ने गरी दुवै संस्थाबीच बिहीबार औपचारिक सम्झौता भएको हो। एक आपसमा गाभिएपछि पनि संस्थाको नाम भने भिवोर विकास बैंक नै रहने छ। 
भिवोर विकास बैंक
 तरलता अभावका कारण राष्ट्र बैंकसँग ५० करोड रुपैयाँ ऋण सापटी माग्दा अर्को संस्था खोजेर गाभिने प्रतिबद्धता जनाएअनुसार बैंकले भाजुरत्नसँग सम्झौता गरेको हो। गत जेठ २५ गते बैंकले तरलता अभाव भएको भन्दै राष्ट्र बैंकसँग सहयोग मागेको थियो। राष्ट्र बैंकले पनि भोलीपल्टै सञ्चालक समितिको बैठक डाकेर ५० करोड रुपैयाँ अन्तिम ऋणदाता सुविधा अन्तर्गत कर्जा दिएको थियो।
भाजुरत्न फाइनान्स
'राष्ट्र बैंकसँग गरिएको प्रतिबद्धता अनुसार चाँडो मर्जरमा जाने निर्णय भएको हो,' घिमिरेले भने, 'प्रतिबद्धता नगरेको भएपनि अहिलेको अवस्थामा मर्जरमा जानुपर्छ भन्नेमा हामी थियौं।' मर्जरमा गएपछि कम्पनी बलियो र सबल हुने उनले बताए।
सम्झौतापत्रमा बैंकका कार्यकारी अध्यक्ष अजय घिमिरे र फाइनान्सका सञ्चालक रुप ज्योतिले हस्ताक्षर गरेका हुन्। 'मर्जर प्रक्रियालाई गम्भिरताका साथ निष्कर्षमा पुर्‍याउँछौं,' घिमिरेले भने, 'कर्मचारीहरुलाई पनि मर्जरबाट फाइदा पुग्ने भएकाले विरोध आउँदैन।' उनले अन्य विदेशी संयुक्त लगानी तथा नेपाली बैंक तथा वित्तीय संस्थासँग मर्ज गरेर जानलाई पनि बाटो खुला राखेको जानकारी दिए।

ज्योति समुहद्वारा प्रवद्धित भाजुरत्न फाइनान्सको चुक्ता पुँजी ३ करोड ८५ लाख रुपैयाँ छ। भिवोरको ६८ करोड १७ लाख रुपैयाँ छ। दुवै कम्पनी गाभिएपछि चुक्ता पुँजी १ अर्ब ३६ करोड रुपैयाँ पुर्‍याइने घिमिरेले जानकारी दिए।
'मर्जरमा गएपछि हामी पनि बलियो हुने छौं,' भाजुरत्नका प्रमुख कार्यकारी शेखरबहादुर प्रधानले भने, 'धेरै संस्था भएर एउटै काम गर्नुभन्दा राम्रो र बलियो संस्था भएर काम गर्दा राम्रो हुन्छ।' उनले मर्जरका लागि भविष्यमा पनि बाटो खुला राख्ने जानकारी दिए।
मर्जरका लागि एनएमबी बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंकबीच पनि सम्झौता भइसकेको छ। एभरेस्ट बैंक र कुमारी बैंकबीच पनि मर्जरका लागि कुराकानी भइसकेको छ। एभरेष्ट बैंकले मर्जरकै लागि भनेर पूर्व कार्यकारी प्रमुख एसएस भन्डारीलाई सल्लाहकार नियुक्त गरिसकेको छ।

No comments:

Post a Comment

thanks for comment