असारमा मात्र २० अर्ब निक्षेप

सुदर्शन सापकोटा
काठमाडौं, साउन ११- 
वर्षभरी निक्षेप संकलनमा कठिनाई भोगिरहेका बैंकहरुलाई पछिल्लो एक महिना असारको बृद्धि दरले आशावादी बनाएको छ। बर्षभरी संकलन भएको कुल निक्षेपमध्ये आधा असारमा मात्र संकलन भएको छ। 
 वाणिज्य बैंकले असारभरी २० अर्ब निक्षेप संकलन गरेका छन्। वर्षभरी ४६ अर्ब संकलन भएको छ। साउन पहिलो सातासम्म निक्षेप थप चार अर्बले वढेर ६ खर्ब ७७ अर्ब पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ७ दशमलव २२ प्रतिशतको वृद्धि दर हो। अघिल्लो वर्ष निक्षेपको वृद्धि दर १३ दशमलव ६९ प्रतिशत थियो।
विकास बैंक र फाइनान्स कम्पनीहरुको पनि निक्षेप संकलनमा सामान्य सुधार आएको छ। यी कम्पनीले असार मसान्तसम्म १ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेका छन्। अघिल्लो वर्ष १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।

निक्षेपको बृद्धिले वाणिज्य बैंकको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) मा पनि सुधार आएको छ। निक्षेप नवढ्दा र सिडी रेसियो उच्च हुँदा बैंकहरुले केही सयमदेखि नयाँ कर्जा बन्द गरेका थिए। पछिल्लो समयमा निक्षेपमा बृद्धि हुँदा सिडी रेसियो ६९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष ८३ प्रतिशत थियो।

निक्षेप वढे पनि कर्जामा सुधार आउन सकेको छैन। एक महिनामा निक्षेप २० अर्बले वढ्दा कर्जा ४ अर्बले मात्र वढेको छ। वर्षभरी निक्षेप १२ प्रतिशतले वढेको छ। असार अन्तिम सातासम्म निक्षेप ५ खर्ब अर्ब पुगेको छ।
कसरी बढ्यो निक्षेप?

आर्थिक बर्षको अन्त्यतिर सरकारी खर्च बढेर निक्षेप संकलन बढेको केन्द्रिय बैंक तथा निजी बैंकका अधिकारीहरु बताउँछन्। 'केही समयदेखि सरकारी खर्च वढेर बैंकको निक्षेप संकलन बढेको हो,' बैंकर्स संघका उपाध्यक्ष राजनसिंह भन्डारीले मंगलबार नागरिकसँग भने।

केही समयदेखि खस्किएको रेमिट्यान्स बृद्धिदरमा सुधार आउनाले पनि निक्षेप बृद्धिमा सघाउ पुगेको राष्ट्र बैंकका एक अधिकरीले बताए। गत वर्ष ११ प्रतिशतको हाराहारीमा रहेको रेमिट्यान्सको बृद्धिदर अहिले १७ प्रतिशत पुगेको अनुमान छ। बैंक तथा वित्तीय कम्पनीले ब्याजदरमा गरेको बृद्धिले पनि निक्षेप वढेको हो।
एक वर्षे मुद्दति निक्षेपको ब्याजदर पछिल्लो डेढ वर्षदेखि १२ प्रतिशतसम्म छ। व्याज दर अति नै माथि पुगेपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकसं संघले थप ब्याजदर नवढाउन आफ्ना सदस्य बैंकसँग 'भद्र सहमति' नै गरेको थियो।

पछिल्लो समय देशको शोधनान्तर घाटामा आएको कमीले पनि निक्षेप वृद्धिमा सहयोग पुगेको हो। दुई महिनाअघिसम्म १२ अर्ब शोधनान्तर घाटा भएपनि असारसम्म आइपुग्दा यो १ अर्ब बचतमा छ।
ब्याजदर कता जान्छ? तरलता अभाव चर्किएपछि निक्षेप तथा कर्जाको ब्याज वढाउन वाध्य भएका वाणिज्य तथा विकास बैंक र फाइनान्स कम्पनीले अहिलेको बृद्धिदरलाई हेरेर तत्काल ब्याजदर घट्छ भन्न नसकिने बताए। 'अहिलेको अवस्थालाई नै हेरेर ब्याज घटाउन मिल्दैन,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'तरलताको स्थायी स्रोत नभएसम्म ब्याज दर घटाउन सकिदैन।'

आर्थिक बर्षको अन्त्यमा सरकारी खर्चले निक्षेप वढेको बैंकरहरुको विश्लेषण छ। चालु वर्ष समयमा बजेट आएका सकारात्मक अवस्था भए पनि समयमा खर्च हुने नहुनेमा बैंकहरु अन्यौलमा छन्। पछिल्लो समयमा एकपछि अर्को गर्दै ६ वटा वित्तीय संस्था समस्यामा परेपछि बैंकिङ क्षेत्रप्रतिको विश्वास घटेका बेला निक्षेपको व्याज दर घटाउन नमिल्ने एक बैंकरले बताए।

'अहिले ब्याजदर घटाउँदा हतार हुन्छ,' ती बैंकका प्रमुख कार्यकारीले भने, 'बजेट कार्यान्वयन र जनताको विश्वास वढेपछि मात्र घटाउने बारे सोच्न सकिन्छ।' उनले निक्षेपको व्याज नघटी कर्जा नघट्ने जानकारी दिए।



 
अन्तर बैंकदर घट्यो

निक्षेप वढेपछि बैंकहरुले आपसमा दिने सापटी (अन्तर बैंक) दर घटेको छ। अन्तर बैंक तीन प्रतिशतको हाराहारीमा आएको छ। केही साताअघि यो ८ प्रतिशतको हाराहारीमा थियो। दसै लगत्तैदेखि वढ्न थालेको अन्तर बैंक दर १५ प्रतिशतसम्म पुगेको थियो।


'निक्षेप वढेकाले अन्तर बैंक दर घटेको छ,' भन्डारीले भने, 'अहिले बैंकिङ तरलता (लगानी योग्य पुँजी) अभाव हटेको छ।' तरलता अभाव भएका बेला अन्तर बैंकमा लगानी गरेको केही बैंकले घटेका बेला भने सापटी लिइरहेका छन्। हिमालयन, नबिल, नेपाल इन्भेष्टमेन्टलगायत ठूला बैंकले साटी लिएका हुन्। सापटी दिनेमा नयाँ र साना बैंक छन्।

No comments:

Post a Comment

thanks for comment