स्थायी निक्षेप सुविधा प्रयोगमा ल्याउनु पर्ने

सुदर्शन सापकोटा
काठमाडौं, असार १६ -
विगतमा अधिक तरलता भएका बेला त्यसलाई बजारबाट खिच्ने पर्याप्त मौद्रिक औजार नहुँदा बैंक तथा वित्तीय संस्थाले घरजग्गालगायतका क्षेत्रमा जोखिम उठाएर लगानी बढाएको भन्दै एक मौद्रिक अर्थशास्त्रीले भविष्यमा यस्तो अवस्था आउन नदिन स्थायी निक्षेप सुविधा (एसडिएफ) प्रयोगमा ल्याउनु पर्ने बताएका छन्।
अधिक तरलता भएको 
अवस्थामा बैंक 
तथा वित्तीय संस्थाले 
जोखिम उठाएर 
लगानी गर्न सक्दैनन्
नरबहादुर थापा
मौदि्रक अर्थशास्त्री
तथा 
निर्देशक, राष्ट्र बैंक
राष्ट्र बैंकका निर्देशकसमेत रहेका मौद्रिक अर्थशास्त्री नरबहादुर थापाले बजारमा तरलता प्रवाह गर्ने मौद्रिक औजारहरु भएपनि अधिक तरलता भएका बेला त्यसलाई प्रशोचन गर्ने पर्याप्त मौद्रिक औजार नभएको बताएका हुन्। उनले स्थायी निक्षेप सुविधा प्रयोगमा ल्याएको अवस्थामा विगतमा जस्तै अधिक तरलता भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाले जोखिम उठाएर लगानी गर्न नसक्ने बताए। स्थायी निक्षेप सुविधा प्रयोगमा आए राष्ट्र बैंकले ब्याज भुक्तानी गर्नुपर्ने हुँदा खर्च भने बढ्छ। थापाले यसका लागि राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
निक्षेप सुविधाको माध्यमबाट बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त भएको अवस्थामा उनीहरुले राष्ट्र बैंकमा निश्चित ब्याज लिएर पैसा राख्न सक्ने छन्। चाहेको बेलामा ब्याज आउने गरी पैसा राख्न पाएपछि बैंक तथा वित्तीय संस्थाले जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने सम्भावना कम रहन्छ। अहिले बैंक वित्तीय संस्थाले आफूसँग बढी भएको तरलता राष्ट्र बैंकले ऋणपत्र, ट्रजरी बिल्स जारी गरेका बेला मात्र व्यवस्थापन गर्न पाउँछन्।
'अहिले तरलता अभाव भएको अवस्थामा स्थायी निक्षेप सुविधा प्रयोगमा नआएपनि यसलाई नीतिगत व्यवस्था गर्दा भविष्यमा अधिक तरलता भएका बेला प्रयोग गर्न सकिन्छ,' थापाले नागरिकसँग भने, 'अहिले हामीसँग तरलता प्रवाह गर्नका लागि प्रशस्त औजार छन् र प्रशोचनका लागि भने कम छन्।' स्थायी निक्षेप सुविधा राष्ट्र बैंकले बजारबाट सापटी लिने मौद्रिक औजार हो।
राष्ट्र बैंकले अहिले रिपो (सरकारी ऋणपत्रको धितोमा दिइने कर्जा), अन्तिम ऋणदाता कर्जा सुविधा, पुनर्कर्जा, स्थायी तरलता सुधिा, विशेष पुनर्कर्जालगायतका तरलता प्रवाह गर्ने औजार प्रयोग गरिरहेको छ। तरलता प्रशोचनका लागि टे्रजरी बिल्स, रिभर्स रिपो प्रयोग गरिरहेको छ। टे्रजरी बिल्स राष्ट्र बैंकले निश्चित समयमा आवश्यकता अनुसार मात्र जारी गर्छ भने रिभर्स रिपो पनि अधिक तरलता भएका बेला तालिका बनाएर बोलकबोलमाध्यमबाट प्रयोग गरिरहेको छ।
थापाका अनुसार केन्द्रीय बैंकले निश्चित ब्याज तोकेर स्थायी निक्षेप सुविधाको व्यवस्था गरेको हुन्छ। छिमेकी भारतलगायत यो व्यवस्था विश्वका अधिकांश मुलुमा प्रयोगमा छ। बजारको अवश्यकता अनुसार यसको ब्याज दर समयसमयमा परिवर्तन हुन्छ।
थापाले घरजग्गा, सेयर धितो कर्जालगायतमा सीमा तोक्दा यसबाट नीति निर्मातालाई दबाब परेर पछि फर्कनु पर्ने अवस्था आउन सक्ने भएकाले नदेखिने गरी नीति तर्जुमा गर्दा दबाबको सामना गर्नु नपर्ने बताए। 'कुनै पनि कर्जाको सीमा तोक्दा त्यो देखिन्छ,' थापाले नागरिकसँग भने, 'देखिने कुराबाट अनावश्यक दबाब परेर लिइएको नीतिबाट पछि फर्कनु पर्ने हुनसक्छ। तर प्रत्यक्ष नदेखिने नीतिले दबाबमा पार्दैन।' उनले मौद्रिक नीतिमा भएका कतिपय व्यवस्थाले काम गर्न नसकेको भन्दै यस्ता नीति लिएर अगाडि बढ्नु पर्ने जानकारी दिए।
थापाले विदेशी विनिमय दर र बैंक ब्याजमा समायनुकुल समायोजन हुन नसक्दा समस्या आएको भन्दै यसमा पनि पुर्नविचार आवश्यक भएको बताए। अर्थतन्त्रको महत्वपूर्ण मूल्य विनिमय दर र ब्याजदर भएको भन्दै यसमा समायोजन आवश्यक भएको जानकारी थापाले दिए। 'मूल्यमा समयनुकुल तरिकाले समायोजन हुन आवश्यक छ,' उनले भने, 'समायोजन बजार प्रक्रिया र नीतिबाट हुनु पर्नेमा त्यो नभएर अहिले असन्तुलनको अवस्था देखिएको हो।' उनले तत्काललाई विनिमय दर परिवर्तन गर्न सक्ने अवस्था नरहेको बताउँदै व्याजदरमार्फत समायोज आवश्यक भएको बताए।

No comments:

Post a Comment

thanks for comment