वित्तीय संकट अध्ययन गर्न आइएमएफका तीन टोली नेपालमा

सुदर्शन सापकोटा
काठमाडौं, साउन ३- 
एकपछि अर्को वित्तीय संस्थामा समस्या आएर वित्तीय संकट गहिरिएको विश्लेषण गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तीन टोलीले स्थलगत अध्ययन सुरु गरेका छन्। तीनै टोली गत बुधबार आएका हुन्।
टोलीले आगामी १५ दिनभित्र 
अध्ययनको प्रारम्भिक 
प्रतिवेदन दिएर सुधारबारे 
राष्ट्र बैंकलाई सुझाव दिनेछ।
उनीहरूले राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायत अन्य निकायसँग यस विषयमा छलफल थालिसकेका छन्। टोलीले आगामी १५ दिनभित्र अध्ययनको प्रारम्भिक प्रतिवेदन दिएर सुधारबारे राष्ट्र बैंकलाई सुझाव दिनेछ। विस्तृत प्रतिवेदन भदौमा मात्र आउने छ।
'वित्तीय संस्थामा समस्या देखिएपछि आइएमएफ टोलीले नेपाल आएर अध्ययन थालेको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, 'समस्या कहाँबाट सुरु भयो भनेर हामीसँग छलफल गरिरहेका छन्।' मुद्रा कोषले विगतमा पनि राष्ट्र बैंकलाई सल्लाह दिँदै आएको छ।
तीन टोलीले वित्तीय संकट, अनुगमन र सम्पत्ति तथा दायित्वको अवस्थाबारे बेग्लाबेग्लै अध्ययन गर्नेछन्। सोमबारदेखि औपचारिक छलफल थालेको टोलीले केही दिनमै अर्थका अधिकारीहरूसँग पनि भेट्नेछ। सोमबार कोषकी वरिष्ठ विज्ञ मेन्जोडाको नेतृत्वमा आएको एक टोलीले बैंक तथा वित्तीय संस्थाले खराब कर्जा अनुपात कम देखाएको अवस्थामा पनि वित्तीय संस्थामा कसरी समस्या आयो भनेर राष्ट्र बैंकलाई सोधेको थियो।
'वित्तीय संस्थामा समस्या देखिएपछि कोषको चासो बढेर गएको छ,' ती अधिकारीले भने, 'वित्तीय संस्थाका सूचकांक राम्रो भएको तथ्यांक आउँदा पनि कसरी समस्या भयो भनेर सोधिरहेका छन्।'

उनका अनुसार, टोलीले राष्ट्र बैंकको नियमन क्षमतामा पनि प्रश्न गरेका छन्। विस्तृत अध्ययन गरेर कोषले प्रतिवेदन दिएपछि उसको सुझाव कार्यान्वयन गर्ने जानकारी ती अधिकारीले दिए।
टोलीले बैंक तथा वित्तीय संस्थाले दिएको खराब कर्जा अनुपात, सम्भावित नोक्सानी व्यवस्था, पुँजी पर्याप्तता अनुपातलगायत तथ्यांक गलत हुन सक्नेतर्फ पनि अध्ययन गर्ने छ। अन्य संस्थामा पनि क्रमशः समस्या आई उपचारको विकल्प के हुने, मर्जरका लागि एकैचोटी संस्था आए कसरी समन्वय गर्नेबारे पनि अध्ययन गर्नेछ। खास गरी दुई रुग्ण बैंक तथा वित्तीय संस्था मर्जरका लागि आए कसरी उनीहरूलाई व्यवहार गर्ने भनेर अध्ययन हुनेछ।
छोटो अवधिको कर्जा लिएर लामो अवधिका लागि प्रवाह हुँदा समस्या आएको भन्ने राष्ट्र बैंकको विश्लेषणबारे पनि टोलीले अध्ययन गर्नेछ। 'सम्पत्ति र दायित्व व्यवस्थापन गर्न नसक्दा समस्या आएको भनेर हामीले जानकारी दिएका छौं,' उनले भने, 'यसबारे पनि टोलीले अध्ययन गरी सुझाव दिनेछ।'
कोषले खराब कर्जा कम भएका संस्थामा पनि समस्या देखिएकोबारे प्रश्न गरेको छ। 'सबै सूचकांक ठिकठाक हुँदा पनि कसरी समस्या आयो भन्ने उनीहरूको भनाइ छ,' सम्बद्ध एक अधिकारीले भने, 'राष्ट्र बैंककै सुपरीवेक्षण कमजोर भएर समस्या देखिएको हो कि भनेर पनि प्रश्न गरेका छन्।'
आइएमएफ राष्ट्र बैंकको सल्लाहकार मात्र भए पनि उसले दिएका सुझाव कार्यान्वयन गर्दै आएको छ। राष्ट्र बैंकले निक्षेपभन्दा बढी कर्जा प्रवाह गरेकाले वित्तीय संस्थामा समस्या देखिएको जानकारी गराएको थियो।
पछिल्लो चार महिनामा युनाइटेड विकास बैंक, सम्झना फाइनान्स, गोरखा विकास बैंक, नेपाल सेयर मार्केट्स एन्ड इन्स्टिच्युसन, पिपल्स फाइनान्स, भिबोर विकास बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा समस्या देखिएपछि आइएमएफको ध्यानाकर्षण भएको हो।
'छोटो समयम एकैचोटी आधा दर्जन संस्थामा समस्या देखिएपछि उनीहरूले अध्ययन नै थालेका हुन्,' ती अधिकारीले भने, 'उनीहरूको चासो भनेको वित्तीय स्थायित्वमा हो। यसप्रति चिन्तित देखिन्छन्।'
टोलीसँग भएको छलफलमा राष्ट्र बैंकका अधिकारीले वित्तीय संस्थाका समस्या तरलता अभावबाट सुरु भएको जानकारी गराएका थिए। तरलता अभाव भने राजनीतिक संक्रमणका कारण विकास खर्च नहुँदा भएको हो।

No comments:

Post a Comment

thanks for comment