सुदर्शन सापकोटा
काठमाडौं, जेठ २४-
निक्षेपकर्ताको पैसा फिर्ता गर्न
नसकेपछि काठमाडौंको महाबौद्धस्थित पिपल्स फाइनान्स कम्पनीले सोमबार
कार्यालय बन्द गरेको छ। संस्थागत निक्षेपकर्ताले अवधि पुगेपछि नवीकरण नगरी
निक्षेप झिकेर लगिदिएकाले फाइनान्सले सर्वसाधारणको पैसा फिर्ता गर्न नसकेको
हो।
|
दिनदिनै निक्षेप घट्ने
तर कतैबाट पनि आउने
अवस्था
नभएपछि
फाइनान्सका कार्यकारी
अध्यक्ष छविलाल भुसाल
गत शुक्रबारबाट
कम्पनीको सम्पर्कमा छैनन्।
|
फाइनान्सले प्राविधिक कारणले कार्यालय बन्द गर्नुपरेको भन्दै पैसा
फिर्ता गर्न नसकिने सूचना टाँसेको छ। चैतसम्मको वित्तीय अवस्था राम्रो
देखिए पनि पछिल्लो समय तरलता अभावले गाँजेका कारण तत्काल पैसा फिर्ता गर्ने
अवस्थामा कम्पनी छैन। नेपाल राष्ट्र बैंकले कम्पनीमा रहेको १७ करोड ४८ लाख
४० हजार रुपैयाँ निक्षेपमध्ये गत साता अवधि पुगेको ७ करोड फिर्ता लगेपछि
कम्पनीमा चरम तरलता अभाव भएको हो।
जेठ मसान्तमा अवधि पुग्ने करिब १५ करोड निक्षेप भुक्तानी गर्न कम्पनीलाई
संस्थागत निक्षेपकर्ताले पत्राचार गरिसकेका छन्। कम्पनीसँग भुक्तानी गर्न
जम्मा २५ लाख रुपैयाँ मात्र छ। यही कारणले कम्पनीका अधिकारीहरुले कार्यालय
बन्द गराएका हुन्।
कम्पनीले महाबौद्धको केन्द्रीय कार्यालयसहित, त्रिपुरेश्वर र
रुपन्देहीको सिद्धार्थनगर शाखासमेत बन्द गरेको छ। ‘निक्षेपकर्तालाई
भुक्तानी गर्न नसक्ने अवस्था भएकाले कार्यालय बन्द गर्नुपरेको भनेर जानकारी
गराएका छन्,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले सोमबार
नागरिकसँग भने, ‘बन्द गर्नुअघि पूर्वस्वीकृति लिनुपर्नेमा कम्पनीले त्यसो
गरेन।'
निक्षेप फिर्ता नगरी कार्यालय बन्द गराएको मौखिक सूचना पाउना साथ
राष्ट्र बैंकले सोमबार दिउँसो नै फाइनान्समा एक निरीक्षण टोली पठाइसकेको छ।
टोलीले मंगलबारसम्म यथार्थ विवरण तयार पार्ने ज्ञवालीले जानकारी दिए। उनले
साँझ राष्ट्र बैंक बन्द हुने समयमा औपचारिक पत्र आएको भन्दै पूर्वस्वीकृति
बिना बन्द गराएकाबारे आवश्यक छानबिनपछि कारबाही गरिने बताए।