ग्राहकको गुनासोलाई बैंकले हाँसोमा उडाउँदा एटिएम काण्ड

सुदर्शन सापकोटा
काठमाडौं, पुस ७
आठ महिनाअघि खाताबाट 'पैसा हरायो' भनेर आएकी रुपा शर्माको गुनासोलाई नबिल बैंकले गम्भीर रूपमा लिएको भए नक्कली एटिएम कार्डबाट ८० लाख रुपैयाँ चोरी हुने थिएन। उपभोक्ताको सानोभन्दा सानो गुनासो तत्कालै समाधान गर्नुपर्नेमा नबिलले पैसा हराएको गम्भीर विषय पनि वास्ता गरेन। उल्टै ग्राहकलाई हप्काएर पठायो। 
 'बैंकका कर्मचारीले पैसा कसरी हरायो भनेर खोज्नुको साटो मैमाथि शंका गरे,' शर्माले नागरिकसँग भनिन्, 'तपाईं सुतिरहँदा घरको कसैले कार्ड चोरेर पैसा झिक्यो होला भन्दै मेरो कुरालाई हाँसोमा उडाए।'
नबिल 'अन्तर्राष्ट्रिय स्तरको बैंक' भएकाले यस्तो गल्ती हुनै सक्दैन भन्ने दाबी पनि कर्मचारीहरूले गरे।
नेपाली फिल्मका नायक जीवन लुइँटेलकी सासु शर्माको कार्डबाट दिनको एक लाखका दरले लगातार चार दिन पैसा झिकिएको थियो। बैंक खातामा एकैचोटि पैसा कम भएपछि उनी दरबारमार्गस्थित केन्द्रीय कार्यालय गइन्। तारन्तार धाउँदा पनि बैंक कर्मचारीले टेरपुच्छर नलाएपछि बाध्य भएर प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न गएको उनले बताइन्।

उनीमात्र होइन, यस्तै गुनासो गर्न गएका अन्य खातावालालाई पनि बैंक कर्मचारीले चासो दिएनन्। बैंकले नसुनेपछि उनीहरू पनि बाध्य भएर प्रहरीकहाँ पुगे।
'बैंककै (पूर्व)कर्मचारीको बदमासीले यत्रो ठूलो काण्ड भएछ, बित्थामा मैले मानसिक तनाव झेल्नुपर्‍यो,' प्रहरी अनुसन्धानबाट चोरीको रहस्य खुलेपछि शर्माले बुधबार नागरिकसँग भनिन्, 'मेरो परिवारको सदस्यमाथि लागेको आरोप पनि झुठो प्रमाणित भयो।'
नक्कली एटिएम कार्ड बनाएर अर्काको खाताको पैसा चोर्ने बैंककै पूर्वकर्मचारी सविन रिमाल र उनका भाइ रितेशलाई प्रहरीले सोमबार पक्राउ गरेको छ। उनीहरूले ८० लाख रुपैयाँ झिकेको सकारेका छन्, जसमध्ये शर्मालगायतका विभिन्न खाताबाट ४८ लाख चोरिएको विवरण प्रहरीले भेटिसकेको छ।
'आजै (बुधबार) मात्र बैंकका कर्मचारीले फोन गरेर माफी मागे। एटिएमबाट निकालिएको पैसा फिर्ता दिन्छौं भनेका छन्,' शर्माले भनिन्।
'सबभन्दा पहिले मै ठगिएकी रहेछु। आठ महिनाअघि नै बैंकले सुनुवाइ गरेको भए अरू धेरैजना जोगिने थिए।'
...
सुविधासम्पन्न भनिएका निजी क्षेत्रका बैंकहरू उपभोक्ताको गुनासो सुनुवाइमा कति पछाडि छन् भन्ने एटिएम काण्डले छर्लंग पारेको छ। प्रत्येक एटिएम काउन्टरमा सिसिटिभी (गोप्य क्यामरा) अनिवार्य राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन पालना नभएको पनि खुलासा गरेको छ।
आफूलाई 'अन्तर्राष्ट्रिय स्तरको' भनी दाबी गर्ने र ग्राहक तान्न विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको प्रचार गर्ने बैंकहरूले गुनासो लिएर आउने उपभोक्तालाई कहिल्यै प्राथमिकता दिँदैनन्। सबैजसो वाणिज्य बैंकमा जनसम्पर्क इकाई हुन्छ, तर त्यहाँ गुनासो सुन्ने र तत्काल समाधानको पहल गर्ने व्यवस्था छैन। एटिएम कार्डको प्रयोग बढ्ने क्रमसँगै उपभोक्ताका गुनासा बढिरहेका छन्, जसको सुनुवाइमा बैंकहरूको ध्यान गएको छैन।
अर्कातिर, अभियुक्तहरूले सिसिटिभी नभएको हिमालयन बैंकको एटिएम काउन्टरमा गएर बढी कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। राष्ट्र बैंकले गएको असोजमै सबै एटिएम काउन्टरमा सिसिटिभी राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो। एटिएम काउन्टरभित्र ग्राहक लुटिनेजस्ता आपराधिक घटना वृद्धि भएपछि राष्ट्र बैंकले सुरक्षा अपनाउन यस्तो निर्देशन दिएको हो।
नबिलको एटिएम काण्ड बैंकिङ क्षेत्रका यी कमजोरीकै परिणाम हुन्।
नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले कमजोरी स्वीकार गर्दै चोरी भएका खाताको पैसा फिर्ता दिन थालेको बताए।
आठ महिनाअघि नै यति ठूलो गुनासो लिएर आउने ग्राहकलाई किन त्यत्तिकै फर्काइयो त?
एटिएम कार्ड नै नक्कली बनाएर पैसा चोरिएको घटना कहिल्यै नभएकाले यस्तो कमजोरी भएको ज्ञवाली बताउँछन्। 'विगतमा पनि ग्राहकहरू यसरी नै पैसा हरायो भन्दै गुनासो गर्न आउँथे, तर अरूलाई कार्ड चलाउन दिँदा पैसा उसैले झिकेको पत्ता लाग्थ्यो, यसपालि पनि त्यस्तै होला भन्ठान्यौं,' ज्ञवालीले नागरिकसँग भने। कहिलेकाहिँ मेसिनको समस्याले रसिदमा पैसा काटिएर आए पनि पछि मिल्ने हुँदा बैंक कर्मचारी ढुक्कै भए।
यो घटनाले सबै बैंकलाई ठूलो पाठ पठाएको उनले बताए। 'यस्ता चोरीका घटना दोहोरिन नपाओस् भनेर सतर्क भएका छौं,' उनले भने, 'विभिन्न उपाय पनि अपनाइरहेका छौं।'
यही सिलसिलामा 'एसएमएस अलर्ट सेवा'लाई प्रभावकारी बनाएको उनले जानकारी दिए। ज्ञवालीका अनुसार कम्तीमा ५ हजार रुपैयाँ कारोबार हुनेबित्तिकै सम्बन्धित खातावालाको मोबाइलमा एसएमएस पठाएर सूचना दिने व्यवस्था गरिएको छ। यसअघि १० हजार रुपैयाँभन्दा बढी कारोबार हुँदा मात्र सूचित गरिन्थ्यो। पहिले यो सेवा लिन ग्राहकले बैंकमै गएर फारम भर्नुपर्नेमा अहिले खातामा उपलब्ध सम्पर्क नम्बरमा आफैं पठाउन थालेको छ।
अभियुक्तहरूले बनाएका नक्कली कार्डहरू रोक्का गरिसकेको पनि उनले जानकारी दिए। 'सबै शंकास्पद खाता ब्लक गरिसकेका छौं,' उनले भने, 'ब्लक भएका एटिएम कार्डको वास्तविक ग्राहकलाई नयाँ कार्ड जारी गरिएको छ। विदेशमा पठाएको भनिएको पिनकोड नम्बरले अब काम गर्दैन।'
बैंकले सबै सुरक्षा व्यवस्था मिलाइसकेकाले 'आत्तिनुनपर्ने' उनले बताए।
एटिएम जोखिम बढेकै हो?
नक्कली एटिएम कार्डको अनुसन्धानमा संलग्न अपराध महाशाखा प्रमुख एसएसपी देवेन्द्र सुवदी 'नबिलको घटना सुरुवातमात्र' भएको बताउँछन्। उनको यो भनाइले बैंकिङ प्रणाली र खासगरी एटिएम प्रविधि जोखिमपूर्ण रहेकोतर्फ संकेत गर्छ।
'अरू बैंकले पनि यसबाट चेतेर आन्तरिक सुरक्षा बढाउनुपर्‍यो,' उनले भने, 'बैंककै कर्मचारीले गोप्य सूचना चोरेर दुरुपयोग गर्दा यस्तो घटना सम्भव भएकाले कर्मचारी भर्ना गर्दा नै पृष्ठभूमि राम्ररी केलाउनुपर्‍यो, सूचनाहरूको सुरक्षामा थप सचेत हुनुपर्‍यो।'
बैंकका एटिएम विज्ञहरू भने नबिलकै घटनालाई लिएर सबै एटिएम प्रणाली जोखिमपूर्ण छ भन्ने ठान्दैनन्। उनीहरू भन्छन्- एउटा वित्तीय संस्थाको एउटा व्यक्ति विशेषबाट पैसा चोरी भएकाले अन्य संस्थाबाट पनि हुन्छ भन्ने छैन।
अन्य किसिमका जोखिम भने भएको उनीहरू स्वीकार गर्छन्।
ग्लोबल बैंकका कार्ड डिभिजन प्रमुख राकेश श्रेष्ठ आफ्नै नातागोता, साथीभाइलाई कार्ड चलाउन दिने र अर्काले देख्नेगरी पिननम्बर थिच्नाले पनि चोरीको जोखिम बढाउने बताउँछन्। 'कार्डबाहकले पिननम्बर थिचेको अरूलाई देखाउनै हुँदैन,' उनले भने, 'पिननम्बर देखिएपछि अरूले नक्कली कार्डमा प्रयोग गर्नसक्छ।'
जोखिम कम गर्न एटिएम सुरक्षाको निम्ति आएका अत्याधुनिक प्रविधि प्रयोग गर्दै जानुपर्ने उनीहरू बताउँछन्।
नेपालमा प्रयोग हुने एटिएम कार्डहरूमा म्याग्नेटिक प्रविधि प्रयोग हुन्छ। अन्तर्राष्ट्रिय बजारमा योभन्दा एक कदम अघि बढेर चिपमा आधारित कार्ड प्रयोग हुन थालेका छन्। नेपालमा हिमालयन बैंकले मात्र यस्तो कार्ड प्रयोग गरेको छ। नबिलका ज्ञवालीले पनि यस्तो कार्ड ल्याउने तयारी गरिरहेको बताए।
'चिपकार्ड प्रयोग भए नक्कली बनाउन सकिन्न,' सनराइज बैंकका कार्ड डिभिजन प्रमुख अनिष ताम्राकारले भने। यो अहिले प्रयोग भइरहेको कार्डभन्दा महँगो पर्ने भएकाले नेपाली बैंकले प्रयोगमा नल्याएको उनले बताए।
ग्राहक आफैं पनि कार्डको प्रयोगमा सचेत हुनुपर्ने उनको राय छ। यसका लागि ग्रहकले बैंकबाट नयाँ कार्ड लिएपछि तुरुन्त एटिएममा गएर आफैंले पिन नम्बर परिवर्तन गर्नुपर्ने उनले जानकारी दिए। 'यसो गर्दा पिन बनाउनेलाई पनि नम्बर थाहा हुँदैन,' ताम्राकारले भने, '२/३ महिनाको हाराहारीमा पिन नम्बर परिवर्तन गरिरहँदा खाता सुरक्षित रहन्छ।'

No comments:

Post a Comment

thanks for comment